भारतीले मुद्दा जितिन्, रिगललाई राष्ट्रपतिबाट भएको आममाफी बदर (भिडिओ) – Nepal Press

भारतीले मुद्दा जितिन्, रिगललाई राष्ट्रपतिबाट भएको आममाफी बदर (भिडिओ)

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो ।
ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो ।

अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।

न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएका थिए । अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको थियो ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसनसमेत बसेकी थिइन् ।


प्रतिक्रिया

One thought on “भारतीले मुद्दा जितिन्, रिगललाई राष्ट्रपतिबाट भएको आममाफी बदर (भिडिओ)

  1. भारतीले जितिन राम्रो भयो । तर यस्तो गैर कानूनी काम गर्ने प्रचण्ड, देउवा, ठगबन्धन र राष्ट्रपतिले पनि अब पदमा बसिरहन मिल्छ ? नैतिकता, लाज शरम भन्ने चिज नेपालमा अलिअलि बाँकी छ भन्न छोडनुपर्ने अब ? अरू केश पनि त्यस्तै छन् । शिक्षकलाइ कुटनेलाई छोडने । रेशमलाई छोडने । पैसा त खुब कमाए प्रचण्डहरूले । आचरण सुधारको नाटकमा पैसा खाएर छोडेको एकजनाले त अस्ति फेरि धन्दा शुरू गरेछ । हुन त यिनलाई खुवाएको पैसा उठाउनु थियो होला । धिक्कार छ प्रचण्डहरू जनयुद्व गरेर सत्ता लिएर काम चाहिँ यस्ता गरेर । प्रचण्डलाई त झन् लाज हुनु पर्ने । चिनी साेत खुवाउन नसक्ने असक्षम, नालायक। दिल्लीका टट्टुहरूले केही गर्लान भनेर के आश गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *