गुटेरेसको सुरक्षार्थ खटिएका असई ढुंगानाः जाँदा सेनाको हेलिकप्टरमा, पैदल फर्कंदा बाटोमै अस्ताए – Nepal Press

गुटेरेसको सुरक्षार्थ खटिएका असई ढुंगानाः जाँदा सेनाको हेलिकप्टरमा, पैदल फर्कंदा बाटोमै अस्ताए

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको कात्तिक १४ गते अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) को भ्रमण थियो । महासचिव गुटेरेसको भ्रमणको तयारी गर्न नेपाली सेनासहित प्रहरी चौकी घान्द्रुकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगाना कात्तिक ११ गते अन्नपूर्ण बेस क्याम्प पुगेका थिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत असई ढुंगानासहित ३ जना प्रहरी समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पुगे र तयारी पूरा गरे । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस बेस क्याम्प पुगेर पनि फर्किए । गुटेरेस मंगलबार बेसक्याम्प पुगेर फर्किएका थिए । तर, उनको सुरक्षाका लागि पैदल फर्किएका असई ढुंगाना भने बाटोमै अस्ताए ।

सेनाको हेलिकप्टरमा गएका असई ढुंगाना अन्नपूर्ण गाउँपालिकाको टोलीसँग मंगलबार पैदलै फर्केका थिए । बाटोमा स्वास्थ्यमा समस्या आयो । अन्नपूर्ण गाउँपालिका- ११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार असई ढुंगानाको स्वास्थ्यमा मंगलबारदेखि नै समस्या आएको थियो ।

‘हामी उहाँ(प्रहरी)हरूसँगै आएका थियौं । उहाँले हिजो (मंगलबार) स्वास्थ्यमा समस्या आएको बताउनुभएको थियो’, वडाध्यक्ष गुरुङ भने ।

असई ढुंगाना गएराति अन्नपूर्ण ११, हिमालयमा बसेका थिए । ‘हिजो खुट्टा दुःखेको भनेका थिए । राति खाना खाँदा सुपमात्रै खाएका रहेछन् । राति वान्ता पनि भएको रहेछ । उपचारका लागि बिहानै घोडा मगाएको थिएँ’, वडाध्यक्ष गुरुङले भने, ‘त्यहाँ भएका डाक्टरहरूले पोखरा लगेमात्रै उपचार सम्भव हुन्छ भनेपछि हेलिकप्टर मगाएका थियौं ।’

वडाध्यक्षले मगाएको हेलिकप्टर आउन नपाउँदै असई ढुंगानाले संसार छोडे । ‘स्वास्थ्यमा जटिलता बढ्दै गएपछि एसपीलाई फोन गरेर हेलिकप्टर मगाएका थियौं । एसपीले ४ घण्टा लाग्छ भन्नुभयो । धेरै जटिल भएपछि अरू ठाउँमा जाँदै गरेको हेलिकप्टर क्यान्सिल गरेर यता पठाउन भनेका थियौं । हेलिकप्टर आउन नपाउँदै उनको श्वास गयो’, वडाध्यक्ष गुरुङले भने ।

कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने आफूले असईको स्वास्थ्यमा समस्या आएको कुरा बुधबार बिहानमात्रै थाहा पाएको बताए ।

‘हामीले उहाँ (असई) बिरामी पर्नुभयो भनेर आज बिहानमात्रै थाहा पायौं । त्यसपछि हेलिकप्टर पठाउँदा उहाँको ज्यान गइसकेको रहेछ’, उनले भने, ‘पहिले नै थाहा पाएको भए जसरी भए पनि हेलिकप्टर पठाउने थियौं, ज्यानभन्दा ठूलो के छ र !’

हेलिकप्टरले चिफ गेस्टहरू ल्याएर आउँदा प्रहरीहरू पैदल आउनुपरेको वडाध्यक्ष गुरुङले बताए । उनले भने, ‘जाने बेला उहाँहरू सेनाको हेलिकप्टरमा जानुभएको रहेछ । फर्कने बेला हेलिकप्टरमा सेनाका चिफ गेस्टहरू भए । चिफ गेस्टहरू हुँदा उनीहरू(प्रहरी र सेना) पैदल आउनुपर्‍यो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेपाली सेनाका ११ जनासहित ३ प्रहरी कात्तिक ११ गते हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्प पुगेका थिए । ३ मध्ये १ जना प्रहरी मंगलबार नै फर्किएका थिए ।

हेलिकप्टर उपलब्ध नहुँदा र सामान्य अवस्थामा पैदल आउनुपर्‍योः प्रहरी प्रमुख थापा

कास्कीका प्रहरी प्रमुख एसपी थापाले हेलिकप्टर उपलब्ध नहुँदा हिँडेर आउनुपर्ने बाध्यता परेको बताए ।

‘आउने बेला हेलिकप्टर चाहिँ उपलब्ध भएन । जाँदाखेरि छिट्टै पुग्नुपर्ने भयो । तयारी गर्नुपर्ने पनि थियो । फर्कने बेला अवस्था सामान्य नै थियो । असामान्य अवस्थामा मात्रै प्रयोग गर्ने हो । अर्को कुरा हेलिकप्टर उपलब्ध नहुँदा पैदल आउनुपर्ने बाध्यता पनि भयो’, उनले भने, ‘उहाँमात्रै होइन, सेनाहरू पनि हिँडेर आउनुभयो ।’

नेपाल प्रहरीका ३ मध्ये १ जना हेलिकप्टरमै फर्किएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवन बराम मंगलबार नै हेलिकप्टरमा फर्किएका हुन् ।

‘एउटा सीट मिल्दा एक जना हिजो नै आउनुभयो । इन्स्पेक्टर साबले बढी उमेरको हुनुभएकाले तपाईं जानुहुन्छ कि भनेर भन्नुभएको रहेछ । होइन वडाध्यक्ष, गाउँपालिकासँग जान्छु । बीचमा समस्या सेट गरेर जान्छु, म पैदल नै आउँछु भन्नुभएछ’, एसपी थापाले भने ।

अन्नपूर्ण बेस क्याम्प जाने बेला असई ढुंगानाको स्वास्थ्य अवस्था राम्रै रहेको एसपी थापाले बताए । उनले भने, ‘फिस्टेल अस्पतालबाट चेक गराएका थियौं । प्रेसर सुगर केही देखिएको थिएन । त्यसैले जाने अनुमति गरियो । अत्यधिक चिसो भएको कारणले ज्याकेट पनि उपलब्ध गराइएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *