विष्णुपुरमा बजेटको झेल: तलब माग्दै कर्मचारी धर्नामा, इन्टरनेट नहुँदा राजस्व संकलन ठप्प – Nepal Press

विष्णुपुरमा बजेटको झेल: तलब माग्दै कर्मचारी धर्नामा, इन्टरनेट नहुँदा राजस्व संकलन ठप्प

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चाडपर्वमा समेत तलब नपाएको भन्दै उनीहरु आजबाट कार्यालयमै धर्ना बसेका हुन् ।

कर्मचारीहरुले तलबभत्ताका लागि गाउँपालिका अध्यक्ष सत्यनारायण यादवलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, दिएको समयमा तलब नपाएपछि उनीहरुले धर्ना सुरु गरेका छन् । धर्नामा शिक्षक र स्वास्थ्यकर्मीहरु पनि सहभागी छन् । कर्मचारीहरु धर्नामा बसेपछि पालिकामा सबै कामकाज ठप्प भएको छ ।

पालिकाका कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएका बताए । उनीहरु तलबभत्ता नपाउनुको मुख्य कारण हो- गाउँसभा । जनप्रतिनिधिहरुले बजेट बाँडफाँटमा विवाद गर्दा गाउँसभा हुन सकेको छैन । पटक पटक बजेट ल्याउन दबाब दिए पनि जनप्रतिनिधिले बेवास्ता गरेको कर्मचारीहरुको आरोप छ ।

हुन त गाउँपालिकाले गएको असार १० गते गाउँसभाको उद्घाटन सत्र सम्पन्न गरेको थियो । तर, बजेट पेश भएन । वडाध्यक्षहरुले समयमा योजना पेश नगर्दा बजेट ल्याउन नसकेको गाउँपालिका अध्यक्ष यादव बताउँछन् ।

‘सुरुमा वडाध्यक्षहरुले ७५ लाख बढी बजेट दिनुपर्ने अडान राख्नुभयो’, अध्यक्ष यादवले भने, ‘वडाध्यक्षहरुको त्यो माग पनि पूरा गर्न सहमत भएँ । तर, समयमा वडाध्यक्षहरुले योजना पेश गर्नुभएन । वडा १ का अध्यक्षले त अझैसम्म योजना दिनुभएको छैन ।’

दसैँअगावै बजेट ल्याउने प्रयास गर्दा पनि सम्भव नभएको उनले बताए । ‘कर्मचारीहरुसँग पनि समन्वय गरिरहेको छु । दीपावली अगाडि बजेट ल्याएर सबै समस्या समाधान गर्ने भनेको छु’, अध्यक्ष यादवले भने ।

अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित एक्लो जनप्रतिनिधि हुन् । यहाँकी उपाध्यक्ष गीताकुमारी सिंह र दुई वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा)का छन् । तीन वडाध्यक्ष नेपाली कांग्रेसका छन् ।

स्रोतका अनुसार उपाध्यक्ष सिंहले आफूलाई चढ्न गाडी खरिद गर्न दबाब दिँदै आएकी छन् । तर, गाडी खरिद नभएका कारण उनी रुष्ट रहेकाले पनि बजेट ल्याउन समस्या भइरहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले बजेट ल्याएर पालिकामा देखिएका समस्याहरु समाधान गर्न जनप्रतिनिधिहरुबीच समन्वयको प्रयास गरिरहेको बताए ।

उनले भने, ‘निरन्तर समन्वयमा लागेको छु । तर, रिजल्ट आएको छैन ।’

समन्वय नगरेको वडाध्यक्षको आरोप

वडा नम्बर ४ का वडाध्यक्ष रामबाबु यादवले पालिका अध्यक्षले समन्वय नगरेकै कारण समस्या सृजना भएको बताए । उनले आफूले समयमै योजना पेश गरेको दाबी गरे ।

वडाध्यक्ष यादवले भने, ‘पालिका अध्यक्ष कहिल्यै समन्वय गर्नुहुन्न । उहाँले बजेट ल्याउने भनेर घोषणा गरोस् न । म सहयोग गर्न तयार छु ।’

तलब नपाएपछि आन्दोलनमा बसेका कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदा पनि अध्यक्षले समन्वय नगरेको उनको आरोप छ ।

स्वास्थ्य केन्द्रमा औषधि अभाव

गाउँसभामार्फत बजेट नल्याएकाले स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । बिरामी स्वास्थ्य केन्द्र पुग्छन् । तर, औषधि नपाउँदा खाली हात फर्किने गरेको एक स्वास्थ्यकर्मीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत यादवले पनि स्वास्थ्य संस्थाहरुमा औषधि सकिएको बताए ।

‘चालु आर्थिक वर्षमा औषधि खरिद भएको छैन’, उनले भने, ‘बजेट नल्याउँदा म आफैंले तलब पाएको छैन । औषधि खरिद कसरी हुन्छ ।’

विकास निर्माणको काम पनि ठप्प रहेको उनको भनाइ छ ।

पालिकाले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तासमेत वितरण गरेको छैन । यतिसम्म कि पालिकामा इन्टरनेट सेवासमेत अवरुद्ध छ । वडा कार्यालयहरुमा मालपोत, सिफारिस दस्तुरलगायतका राजस्व असुली जस्ता कामहरु पनि ठप्प छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर