सर्वोच्चका न्यायाधीश सिन्हा बुधवारदेखि अनिवार्य अवकाशमा, सात न्यायाधीशको पद रिक्त – Nepal Press

सर्वोच्चका न्यायाधीश सिन्हा बुधवारदेखि अनिवार्य अवकाशमा, सात न्यायाधीशको पद रिक्त

काठमाडौं । सर्वोच्च अदालतमा तेस्रो वरियतामा रहेका न्यायाधीश अनिलकुमार सिन्हा मङ्गलवारदेखि अनिवार्य अवकाशमा गएका छन् ।

उमेर हदका कारण अनिवार्य अवकाशमा गएका न्यायाधीश सिन्हालाई सर्वोच्च अदालतले एक औपचारिक कार्यक्रम गर्दै मङ्गलवार बिदाइ गरेको छ ।

अदालतमा आयोजित औपचारिक कार्यक्रममा सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अनिवार्य अवकाशमा गएका सिन्हालाई बिदाइ गरेका छन् ।

काठमाडौं महानगरपालिका–२ स्थायी घर भएका सिन्हा सात वर्षअघि २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । २०३९ सालदेखि अधिवक्ता बनेर वकालत गर्दै आएका उनी २०६९ देखि वरिष्ठ अधिवक्ताको रूपमा काम गर्दै आएका थिए । २०१५ साल कात्तिक १५ गते जन्मिएका सिन्हा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

सिन्हा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उनीसँगै सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली भएको छ । सबैभन्दा पछिल्लो समय गत भदौ १० गते न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका सबैभन्दा अन्तिम वरियतामा रहेका न्यायाधीश विनोद शर्मा भदौ २९ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश प्रधानन्यायाधीश हरिकृष्ण कार्की न्यायाधीश टंक मोक्तान, तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश दीपक कार्की, तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जवरा, तत्कालीन न्यायाधीश मिरा खड्का, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अनिवार्य अवकाशमा गएपछि रिक्त भएको न्यायाधीश सिफारिसमा ढिलाइ हुँदै आएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । सिन्हा उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै अहिले प्रधान न्यायाधीशसहित १४ जना मात्रै न्यायाधीश सर्वोच्च अदालतमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *