तीन सातादेखि अस्तव्यस्त भैरहवाको शिक्षण अस्पताल – Nepal Press

तीन सातादेखि अस्तव्यस्त भैरहवाको शिक्षण अस्पताल

सामान्य विवाद मिलाउन नसक्दा दैनिक सयौंको उपचार सेवा प्रभावित, दशैंमासमेत आन्दोलनरत विद्यार्थीका मागप्रति प्रशासनको छैन चासो

रुपन्देही । तीन साता अघिदेखि विद्यार्थी र प्रशासनको सामान्य ड्रेस कोर्ड विषयलाई लिएर रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अहिले अस्तव्यस्त बनेको छ ।

दैनिक करिब १ हजारको संख्यामा उपचार हुने र विभिन्न विषयमा अध्यापन हुने कलेजमा यति लामो समय सेवा प्रभावित हुँदा पनि यहाँको प्रशासन टसमस भएको छैन । करिब ७ सय विद्यार्थीको भावनाविपरीत त्यहाँका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले ड्रेस कोर्ड अनिवार्य बनाएर विद्यार्थीमाथि अनावश्यक हस्तक्षेप गरेपछि उनको राजीनामासहित सात बुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी तीन सातादेखि आन्दोलित छन् ।

सामान्य विषयलाई विद्यार्थीमाथि अनावश्यक दवाव दिएको भन्दै उनीहरुले पाठकले राजीनामा दिनुपर्ने वा उनलाई अन्यत्र स्थानान्तरण नगरिएसम्म वार्तामा नै नबस्ने विद्यार्थीको अडानले यहाँको प्रशासनलाई चुनौती थपिएको हो । छात्रले लगाउने सर्टमा गोजी हुनुपर्ने र छात्रालाई सर्ट पाइन्टको सट्टामा कुर्ता सुरुवाल लगाउनुपर्ने सामान्य विषयलाई प्रिन्सिपल पाठकले इन्कार गर्दा अहिले यस्तो अवस्था आएको हो ।

आफ्ना माग सम्बोधन गर्न नमानेपछि अहिले विद्यार्थीहरूले पाठकलाई प्रिन्सिपलबाट हटाउनुपर्ने पहिलो शर्त मात्रै राखेनन् त्यसो नभएसम्म वार्तामा नबस्ने उनीहरूको अडान छ। विद्यार्थीको आन्दोलनबाट अस्पतालमा आकस्मिक बाहेकको उपचार सेवा ठप्प छ भने त्यहाँ अध्ययन गर्ने एमबीबीएस र बीडीएसका सात सय विद्यार्थीको पढाइ प्रभावित भएको छ।

अस्पतालमा एक सय इन्टर्नसीप र डेढ सय जना रेजिडेन्स चिकित्सक छन्। विद्यार्थीको आन्दोलनमा साथ दिएका अस्पतालमा रहेका एक सय इन्टर्नसिप र डेढ सय जना रेजिडेन्स चिकित्सकले प्रशासनलाई अझै समस्या थपेको हो । असोज २२ देखि विद्यार्थीले कलेजका सबै विभागमा तालाबन्दी गरेका छन् । दशैंको बिदामा समेत घरमा नगएर रिले अनशन बसेका विद्यार्थीहरुको अब एकल माग नै डा। पाठकको राजीनामा भएको छ ।

सोमबार २४ औं दिन पनि उनीहरूले अस्पतालको ओपीडी कक्ष परिसरमा रिले अनशन जारी राखेका छन् । आन्दोलनका कारण कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएसका विभिन्न तह गरेर ७ सय विद्यार्थीको पढाइ ठप्प छ भने अस्पतालमा आकस्मिकबाहेकको उपचार सेवा पनि रोकिएको छ ।

अस्पतालका इन्टर्नसिप चिकित्सकले अब राजीनामाबाहेक अरु विकल्प केही नभएको र विद्यार्थी तथा चिकित्सकमाथि अनावश्यक अन्याय भएको बताए । उनले भने, ‘पहिलो माग भनेकै कलेज प्रिन्सिपलको राजीनामा वा जिम्मेवारीबाट स्थानान्तरण गर्नु हो, अरु मागबारे वार्ताका लागि पनि पहिलो सर्त भनेकै प्रिन्सिपलको राजीनामा हो ।’ दसैंका लागि घर गएका विद्यार्थी तथा चिकित्सक पनि फर्केकाले आइतबारदेखि आन्दोलन थप सशक्त बनाइएको उनले बताए ।

‘आन्दोलनमा सहभागीको संख्या बढेकाले आन्दोलनको पक्षमा नाराबाजी र र्‍यालीजस्ता विरोध कार्यक्रम पनि समावेश गरेका छौं,’ उनले भने ।
आन्दोलनरत विद्यार्थी समूहले प्रिन्सिपल पाठकले अभिभावकत्व बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका विद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्दै आएकाले आन्दोलन गर्नुपरेको बताउँदै आएका छन् । असोज दोस्रो साता कलेज प्रशासनले ड्रेसकोड ९पोसाक० लागू गर्न खोजेको विषयबाट विद्यार्थी र प्रिन्सिपलबीच उत्पन्न विवादले आन्दोलनको रूप लिएको हो ।

आन्दोलनरत इन्टर्नसिप चिकित्सक अशोक पाण्डेले विद्यार्थीले भोग्दै आएका विभिन्न माग सम्बोधनका लागि प्रिन्सिपलसमक्ष जाँदा कुनै सुनुवाइ नगरी उल्टै विद्यार्थीलाई अपमानजनक व्यवहार गरेको आरोप लगाए ।

आन्दोलनरत विद्यार्थीले कक्षा र प्रयोगात्मक अभ्यास नियमित नभएको, पुस्तकालय अपडेट नभएको, इन्टर्नसिपका चिकित्सकलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य अस्पतालमा दिने गरिएको पारिश्रमिक समान नभएको, बढी समय ड्युटीमा लगाउने गरिएको, मौका परीक्षाबाट वञ्चित गराएको, मन नपरेका विद्यार्थीलाई प्राक्टिकलमा फेल गरिएको लगायतका आरोप लगाउँदै समाधानको माग गरेका छन् ।

विद्यार्थीले आफूलाई एकसाता कलेजबाट निस्कन नदिएको केही सातादिनअघि प्रिन्सिपल पाठकले फेसबुकमा आरोप लगाएपनि विद्यार्थीहरु त्यसलाई अस्वीकार गर्छन् । विद्यार्थीले कार्यकक्षमै नियन्त्रणमा राखेका प्रिन्सिपल पाठकलाई प्रहरीले गत असोज २८ मा नियन्त्रणबाट बाहिर निकालेको थियो । आन्दोलनरत विद्यार्थीले भने आफ्नो माग पूरा गराउन दबाबस्वरूप पाठकको कार्यकक्षमा धर्ना दिएको तर उनको कुनै पनि अधिकार हनन हुने खालको क्रियाकलाप नगरिएको दाबी गरेका छन् ।

यो अवधिमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कलेजको विवाद टुंग्याउन आन्दोलनरत र व्यवस्थापन पक्षबीच पटक–पटक वार्ता गरे पनि समाधान निस्केको छैन । दैनिक सरदर १ हजारभन्दा धेरै बिरामी उपचारका लागि आउने उक्त अस्पतालमा आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै आएको छ । कलेजका सूचना अधिकारी सुशील गुरुङले ड्रेसकोडकै विषयबाट उत्पन्न विवाद सुल्झाउन कलेज प्रशासनले ड्रेसकोड लागू नगर्ने भनेपछि विद्यार्थीले नमानेको बताए ।

‘कतिपय माग पूरा गर्न खोजे पनि विद्यार्थीले नमानेर आन्दोलन जारी राखेका छन्, प्रिन्सिपलकै राजीनामा चाहिने विद्यार्थीको अडानले कुरा नमिलेको हो । यसका लागि पटक पटक छलफल भएको छ’ उनले भने ।

‘हामीले उठाएका सामान्य मागमा प्रिन्सिपल लक्ष्मी पाठकले दम्भ देखाउँदै विद्यार्थीलाई के गर्न सक्छौ गर भनेर धम्की दिनुभयो। हाम्रो इन्टर्नसीप रोकिदिने धम्कीसमेत दिनुभयो। त्यसपछि हामी आन्दोलित भएका हौँ। जबसम्म हाम्रा मागप्रति उहाँ गम्भीर बन्नुहुन्न वा राजीनामा दिनुहुन्न तबसम्म सवै विभागमा लगाइएका ताला खोलिदैँन’, आन्दोलनरत एक चिकित्सकले भने।

असोज १९ गतेदेखि सुरू भएको आन्दोलनमा विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको भनेर सामाजिक सञ्जालमा लेखेर पाठक कार्यकक्षमै बसेकी थिइन्।

बन्धक बनाइएको विषय प्रशासनसम्म पुगेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले उनलाई त्यहाँबाट असोज २८ गते बाहिर निकालेको थियो। सो क्रममा केही विद्यार्थीहरूबीच धरपकड समेत भएको थियो। त्यसपछि विद्यार्थीहरू थप आन्दोलित भएका हुन्।
बन्धक बनाएको भनिए पनि प्रिन्सिपल पाठकले आफ्नै खुसीले कार्यकक्षमै खाने, कपडा फेर्ने जस्ता काम गरेको त्यहाँ कार्यरत चिकित्सकहरूको भनाइ छ।

विद्यार्थीहरूले प्रिन्सिपल पाठकलाई बन्धक बनाएको नभई उनको कार्यकक्ष बाहिर धर्नामा बसेको बताएका थिए । आन्दोलनबाट सेवा नै प्रभावित भएपछि प्रशासनले वार्ताका लागि बारम्बार पहल गरे पनि समस्याको समाधान भएको छैन।

डा. लक्ष्मी पाठक यो कलेजमा यसअघि पनि जिम्मेवारीमा रहँदा विवादमा परेकी थिइन् । पहिले मेसु र र पछि प्रिन्सिपल हुँदा विवादमा परेर सारिएपनि अहिले पुनः जिम्मेवारी दिएको छ प्रशासनले । तर सञ्चालकहरूसँग निकटस्थ पाठकको दम्भका कारण त्यहाँ कार्यरत अन्य चिकित्सक तथा कर्मचारीहरू असन्तुष्ट भएपनि पटक पटक जिम्मेवारी पाइरहेकी छन्।

त्यसैगरी डा.ज्ञानेश्वर सिंहको उपचारका क्रममा भएको कमजोरी प्रकरणमा पनि उनी विवादमा तानिएकी थिइन्। उनलाई नेपाल मेडिकल काउन्सिलले कारबाहीसमेत गरेको थियो। उनकै कारण त्यहाँ कार्यरत एक डाक्टरले राजीनामा समेत दिनुपरेको थियो।

कलेजको विवादलाई छिटो समाधान गर्न यहाँ रहेका विभिन्न विद्यार्थी संगठन तथा विभिन्न संघसंस्थाहरुले माग गरेका छन् । विद्यार्थी संगठनले विद्यार्थीहरुका जायज माग पूरा गरेर छिटो समाधान गर्न अनुरोध गरेको र पटक पटक वार्तामा बसेपनि कुनै समाधान नआएको अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्यालले बताए ।

‘युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा क्याम्पस प्रशासनबाट भैरहेको लापरबाही निन्दनीय छ। विद्यार्थीका जायज मागप्रति अनेरास्ववियु रुपन्देहीको पूर्ण समर्थन रहेको छ। छिटोभन्दा छिटो उत्पन्न गतिरोध अन्त्य गरी शैक्षिक प्रक्रियालाई नियमित गर्न जोडदार माग गर्दछौं’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *