नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता – Nepal Press

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्न के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानि-नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत आयोजना निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी थिए ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान यहाँ आइपुगेका थिए । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ । उनले मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *