भारतीय भूमिमा पाकिस्तानको बिर्सनलायक प्रदर्शन, पहिलो चरणबाटै घर फर्कने संघारमा – Nepal Press

भारतीय भूमिमा पाकिस्तानको बिर्सनलायक प्रदर्शन, पहिलो चरणबाटै घर फर्कने संघारमा

नयाँ दिल्ली । अनेक अन्योलबीच एक दिवसीय विश्वकप खेल्न भारत आइपुगेको पाकिस्तान पहिलो चरणबाटै बाहिरिने संघारमा छ । शनिबार अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएपछि पाकिस्तानको संकट अझ चुलिएको हो । राउन्ड रोबिनमा अब तीन खेलमात्र खेल्न बाँकी रहँदा पाकिस्तान ६ खेलबाट ४ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

पाकिस्तानले अब इङ्ल्यान्ड, न्युजिल्यान्ड र बंगलादेशसँग खेल्न बाँकी छ । उसले दक्षिण अफ्रिका, भारत, अफगानिस्तान र अस्ट्रेलियासँग हार व्यहोरेको हो । बाँकी तीनवटै खेल जितेको अवस्थामा पनि पाकिस्तानको सेमिफाइनल यात्रा पक्का हुनेछैन । ६ खेलपछि दक्षिण अफ्रिकाको १० तथा अस्ट्रेलिया र न्युजिल्यान्डको ८-८ अंक छ । ५ खेल खेलेको भारतको १० अंक छ ।

लिग चरणका शीर्ष ४ टोली सेमिफाइनल पुग्नेछन् । एसिया कप खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेपछि यी दुई देशबीच तनाव चुलिन सक्ने आँकलन थियो । तर, पाकिस्तानले भारत भ्रमण गर्न हिच्किचाएन । भारत र पाकिस्तानबीच दशकौंदेखि राजनीतिक, धार्मिक, भौगोलिक रुपमा द्वन्द्व चर्किँदै आएको छ ।

सन् २००८ मा भारतको ताज होटलमा भएको आतङ्कवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप चिसिएको थियो । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि आतङ्कवादी हमला भएपछि भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दै आएको छ ।

यसपटक पाकिस्तानमा हुने भनिएको एसिया कप भारतीय अडानपछि आयोजना नै अन्योलमा परेको थियो । अन्ततः भारतले आफ्ना खेलहरु श्रीलंकामा खेल्ने गरी एसिया कपको आयोजना सम्भव भयो । एसिया कपअघि पाकिस्तानी टोलीको चर्चा चुलिएको थियो ।

एक दिवसीय विश्व वरियतामा पहिलो नम्बरमा थियो पाकिस्तान । उसका कप्तान बाबर आजम ब्याट्सम्यानको वरियतामा पहिलो नम्बरमा थिए । साहिन शाह अफ्रिदी, नसिम शाह, ह्यारिस रोफ र सदाब खान जस्ता बलरहरु जोकोही ब्याट्सम्यानको पनि टाउको दुःखाइ बन्न सक्थे ।

कम्तिमा भारतका लागि यो टाउको दुःखाइ थियो। भारत पाकिस्तानसँग हार्न चाहँदैन थियो र विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई हराएको पनि छैन ।

विश्वकपको पूर्वसन्ध्यामा आयोजना भएको एसिया कपमा श्रीलंका पुगेको भारतले सुपर ४ मा पाकिस्तानमाथि फराकिलो जीत हात पारेको थियो । पाकिस्तानको बलियो मानिएको बलिङमा भारतले ३५७ रनको लक्ष्य दिएर २२८ रनको जीत हात पारेको थियो । पाकिस्तानलाई लागेको अर्को चोट थियो, नसिम शाह घाइते हुनु । उनी अन्ततः विश्वकप बाहिर हुन पुगे ।

फाइनल पुग्न असमर्थ पाकिस्तान आत्मविश्वास सुधार गर्दै भारत पुगे पनि पछिल्ला लगातार चार खेलमा पराजित भएको छ । उसले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग विश्वकप कीर्तिमानी ३४५ रनको लक्ष्य पूरा गरेको थियो ।

तेस्रो खेलमा भारतसँग पराजित भएयता पाकिस्तानको हार श्रृंखला सुरु भएको हो । त्यस खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तान १९१ रनमा अलआउट भएको थियो । चौथो खेलमा अस्ट्रेलियासँग ३६८ रनको लक्ष्य पछ्याउने क्रममा ६२ रनले पराजित भएको पाकिस्तान पाँचौं खेलमा अफगानिस्तानसँग स्तब्ध भएको थियो ।

पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले केवल २ विकेट गुमाएर एक ओभर बाँकी रहँदै पूरा गरेको थियो । छैटौं खेलमा शुक्रबार दक्षिण अफ्रिकासँग एक विकेटले पराजित भएपछि पाकिस्तानको संकट चुलिएको हो ।

शनिबार अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएपछि पाकिस्तान र चौथो स्थानबीचको अंक दुरी ४ अंकमा पुगेको छ । पाकिस्तानले सन् १९९२ यता विश्वकप जित्न सकेको छैन । भारतले अन्तिम पटक सन् २०११ को विश्वकप जितेको थियो । पाकिस्तान यतिबेला दोहोरो पीडामा छ । पहिलो, विश्वकपको पहिलो चरणबाटै बाहिरिने संकट र दोस्रो भारतको शानदार प्रदर्शन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर