सडक अलपत्र पार्ने सांसदलाई सुर्खेतवासीको प्रश्न- माननीय ठेकेदार दिक्पाल शाहीज्यू ! बाटो कहिले बन्छ ? – Nepal Press

सडक अलपत्र पार्ने सांसदलाई सुर्खेतवासीको प्रश्न- माननीय ठेकेदार दिक्पाल शाहीज्यू ! बाटो कहिले बन्छ ?

सुर्खेत । ठेकेदारसमेत रहेका सांसद दिक्पाल शाहीले निर्माण जिम्मा लिएको सडक नबनाएपछि पश्चिम सुर्खेतवासीले सार्वजनिक ठाउँमा पोष्टर टाँसेर खबरदारी गरेका छन् । शाही दैलेख-२ मा कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको थियो । तर, डेढ वर्ष बित्दासम्म कामको मेलो नसरेपछि स्थानीयले पोष्टर टाँसेर खबरदारी गरेका छन् ।

स्थानीयले सांसद शाहीको फोटो राखेर ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्दै प्रश्न गरेका छन् ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेबीच सडक निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँ लागत रहेको २०७९ असार १४ गते ठेक्का सम्झौता भएको उक्त सडक २ वर्षभित्र बनाइसक्नुपर्ने छ । तर, अहिलेसम्म कामको सुरसार नभएको स्थानीयले गुनासो गरेका छन् ।

गत वर्षको असारमा तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक स्तरोन्नति कार्यको शिलान्यास गरेका थिए ।

काम नगरेको विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद शाहीले अहिले आफू यात्रामा रहेकाले पछि कुरा गर्ने भन्दै पन्छिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *