आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै – Nepal Press

आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ । आँबुखैरेनी- ६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ ।

‘एक वडा, एक उत्पादन’अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु. पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिए ।

सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु. एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु. ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उनले बताए ।

‘विद्यालयमा हाल १२५ विद्यार्थी छन्’, उनले भने, ‘कक्षा ९ र १० का ४१ विद्यार्थीमध्ये करिब २० जना कुखुरापालनमा छन् ।’

गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना विद्यालयको छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ । यस विद्यालयबाट एसइई पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक र व्यवसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गरेको हो ।

गत असारको ६ गते २०० वटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र तीन महिनामै बिक्री गर्न लायक भएको प्रअ गुरुङले बताए ।

‘६० वटा जति कुखुरा बिक्री गरिसकिएको छ’, उनले भने, ‘भाले प्रतिगोटा रु.८०० र पोथी रु.७०० मा बिक्री गर्ने गरिएको छ ।’

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पाल्न सहज भएको सो विद्यालयले जनाएको छ । कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिए ।

विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यवसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर