अदालतको आदेशपछि पनि घर बनाउन नपाएकी अल्का भन्छिन्- मेरा जस्ता छिमेकी कसैका नहोस् (भिडिओ) – Nepal Press

अदालतको आदेशपछि पनि घर बनाउन नपाएकी अल्का भन्छिन्- मेरा जस्ता छिमेकी कसैका नहोस् (भिडिओ)

जनकपुरधाम । सयौं विघा गुठीको जग्गा अतिक्रमण भएको ठाउँ हो जनकपुर । यहाँ गुठीको जग्गा अतिक्रमण गरेर कैयौं व्यक्तिले घर बनाएका छन् । तर, जनकपुरकै एक महिला भने आफ्नै निजी जग्गामा घर बनाउन वञ्चित छिन् । उनलाई आफ्नै तीन जना छिमेकीले घर बनाउन निरन्तर अवरोध पुर्‍याइरहेका छन् ।

उनी हुन् जनकपुर ७ की अल्का साह । घर पूरा गर्न साह चार वर्षदेखि अदालत, महानगर र प्रहरी कार्यालय धाइरहेकी छन् । अदालतले आदेश दिइसक्दा पनि उनले घर पूरा गर्न पाएकी छैनन् ।

महानगरले उनको घरको नक्सा पास गरेकै चार वर्ष बितिसक्यो । महानगरले उनलाई चार घुर १ कन जग्गामा पहिलो तलासम्म घर बनाउन स्वीकृति दिएको थियो । सोहीअनुसार घर बनाउन सुरु गरेकी अल्कालाई छिमेकीले अवरोध गरेका छन् ।

घरको पहिलो ढलानपछि अल्काका छिमेकी शम्भु साह, मुकेश साह र सूर्यदेव साहले काम रोके । उनीहरुले घर मापदण्डविपरीत रहेको भन्दै महानगरको न्यायिक समितिमा उजुरी दिएका थिए । त्यसपछि साहको घर निर्माण रोकियो । जसले गर्दा लाखौं खर्चेर ल्याइएको निर्माण सामग्री अलपत्र परेको अल्काले गुनासो गरिन् ।

उजुरी परेको महिनौंपछि न्यायिक समितिले घर मापदण्ड विपरीत बनाएको देखिएको भन्दै केही अंश भत्काउन र २ हजार जरिवाना तिर्न लगाएको उनले बताइन् । तर, अचम्म त के भने समितिले केही अंश भत्काउन भनिए पनि कुन साइडबाट कति भत्काउनुपर्ने केही उल्लेख नगरिएको अल्काले बताइन् ।

न्यायिक समितिले घरलाई मापदण्डविपरीत ठहर गर्नुमा तत्कालीन वडाध्यक्ष जानकीराम साहको हात रहेको उनी आरोप लगाउँछिन् । अल्काले भनिन्, ‘जानकीरामकै संरक्षण पाएर नै शम्भु, मुकेश र सूर्यदेव मविरुद्ध उजुरी गरेका थिए । षड्यन्त्रपूर्वक घरलाई मापदण्ड विपरीत ठहर गरियो ।’

न्यायिक समितिले गरेको अन्यायपूर्ण फैसला अल्काले अस्वीकार गरिन् । उक्त अन्यायविरुद्ध उनले पत्रकार सम्मेलनसमेत गरिन् ।

सँगै उनी अदालत पनि पुगेकी थिइन् । अदालतले न्यायिक समितिको फैसला बदर गर्‍यो । अदालतको फैसलापछि अल्काले पुनः घर निर्माण अगाडि बढाइन् । तर, फेरि छिमेकी तीनै जनाले अवरोध गरे ।

अल्काले उच्च अदालतमा निषेधाज्ञा मुद्दा चलाइन् । उच्च अदालतले हस्तक्षेप नगर्न आदेश दियो । उनी पुनः घर निर्माण अगाडि बढाउनेतर्फ लागिन् । फेरि तीनै जना छिमेकीले काम गर्न रोके । त्यसपछि अदालतले प्रहरीलाई पत्र काट्यो । प्रहरी पनि खटियो । प्रहरीको सहयोगमा उनले पहिलो तलाको पर्खाल लगाइन् ।

पहिलो तलाको छत ढलान गर्न लागेकै बेला छिमेकी तीनै जना फेरि महानगरको न्यायिक समितिमा उजुरी दिएका छन् । असोज ५ मा दिएको उजुरीमा उनीहरुले ‘घर मापदण्डविपरीत रहेको’ भन्दै पुरानै मुद्दा व्युँताउन लागिपरेको अल्काले सुनाइन् ।

छिमेकीको निरन्तरको अवरोधले हैरान भएकी उनले उजुरी गरेको एक महिना हुँदा पनि न्यायिक समितिले घरको निरीक्षण नगरी आलटाल गरेको गुनासो गरिन् । मापदण्ड विपरीत घर बनाएको भए भत्काउन तयार रहँदारहँदै महानगरको न्यायिक समितिले आफूलाई अलमलमा पारेको उनको आरोप छ ।

छिमेकीहरुले किन आफूमाथि अन्याय गरिरहेका छन् भन्नेबारेमा आफूले अहिलेसम्म थाहा नपाएको उनले बताइन् । ‘मेरो परिवारलाई यहाँबाट विस्थापित गर्न खोजेको जस्ता लाग्छ’, अल्काले भनिन्, ‘हामीले आफ्नो जग्गामा घर बनाउन नपाउने हो ? पसिना बगाएर किनेको जग्गा छाडेर कहाँ जाने ? मेरा जस्ता छिमेकी अरु कसैका नहोस् ।’

अल्काका दुई छोरा र श्रीमान छन् । श्रीमान किराना पसल गर्छन् । घर तयार गर्दागर्दै उनले पटक पटक ज्यान मार्ने धम्की पाएको सुनाइन् ।

‘घर बनाए पनि भत्काइदिन्छु । मारिदिन्छु भन्दै कैयौं पटक धम्की दिएको छ’, उनी भन्छिन्, ‘उजुरी गर्नेहरुको घर मापदण्ड विपरीत छ । उनीहरुलाई कसैले केही गरिरहेको छैन । उनीहरुविरुद्ध पनि उजुरी दिएको छु । तर, न्याय पाएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर