ठेकेदारले ८ वर्षदेखि अड्काएको बुटवलको मुख्य मार्ग, यात्रु र व्यवसायीलाई सधैंको सास्ती – Nepal Press

ठेकेदारले ८ वर्षदेखि अड्काएको बुटवलको मुख्य मार्ग, यात्रु र व्यवसायीलाई सधैंको सास्ती

रुपन्देही । पूर्वपश्चिम र उत्तर दक्षिण मार्गको केन्द्रमा रहेको बुटवलको मुख्य बजार क्षेत्रकै सडक ८ वर्षसम्म अलपत्र हुँदा व्यवसायीदेखि यात्रु सबैले सास्ती पाएका छन् ।

पूर्वपश्चिम राजमार्ग र सुनौली–पोखरा सिद्धार्थ राजमार्गसमेत रहेको यो सडक नबन्दा मुख्य पर्वहरूमा पूर्वपश्चिम र उत्तर दक्षिण हिँड्ने यात्रुले समेत उस्तै हैरानी खेप्नुपरेको छ । यो क्षेत्रको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र रहेकाले र यो मार्ग छेउमा लाखौँ भाडा तथा अग्रिम रकम जम्मा गरेर व्यवसाय सुरु गरेका व्यवसायीहरूका अगाडि लामो समयदेखि नाली निर्माणको काम सुरू गरेर छाडिँदा व्यापारमा असहज भएको छ । चौपायाहरू पटक पटक नालीमा खस्ने गरेका छन् । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने सडक खण्डका कारण सडक छेउका व्यापारीका समानहरू पनि बिग्रने गरेका छन् ।

शीर्ष नेताहरू तथा सरकारका उच्च पदस्थ व्यक्तिहरू यो बाटो पटक पटक ओहोरदोहोर गरिरहेका छन् । प्रदेश सरकारको पहिले कार्यकालको अस्थायी राजधानी पनि यहीँ बस्यो र मुख्यमन्त्री, मन्त्री तथा सांसदहरू यहीँ अस्तव्यस्त सडकमा हिँडेर कार्यकाल बिताए तर यो बाटो निर्माणमा पूर्णता दिन उनीहरूको चासो भएन ।

ठेक्का तोड्ने तयारी

राजमार्ग चौराहादेखि गोल पार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडक निर्माण सम्झौता भएको ८ वर्षसम्म पनि सम्पन्न नभएपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको छ ।

लामो समयदेखि अलपत्र सडक समयमै सम्पन्न गर्न सबै पक्षबाट ताकेता भए पनि सडक निर्माणको जिम्मा पाएको दि कञ्चनजङ्गा जेबीले अटेरी गरिरहेको छ । सरकार तथा राजनीतिक दल निकटका व्यक्तिसँग पहुँच भएको निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै आएको छ ।

तीन पटकसम्म म्याद थपिए पनि प्रगति नभएपछि सम्बन्धित अधिकारीहरू ठेक्का तोड्ने मनस्थितिमा पुगेका छन् । यद्यपि सम्बन्धित कार्यालयले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

सडकको अवस्था हेरिरहेका सम्बन्धित इन्जिनियरहरूले रायसहितको विस्तृत प्रतिवेदन सडक निर्देशनालय काठमाडौंमा पठाइसकेका छन् ।

२०६९ सालमा ४ लेनमा निर्माण गरिएको यो सडकखण्ड ८ वर्षअघि ६ लेनमा विस्तार सुरू गरिएको थियो । सुरुका केही वर्ष घरधनीकै अवरोध र साइट क्लियर नहुँदा विस्तार हुन नसकेको सडक अहिले विवादमुक्त भइसक्दासमेत निर्माण कम्पनीको लापरबाहीका कारण गति लिन सकेको छैन ।

अहिले मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काम मात्रै सम्पन्न भएको छ । पिचको काम सुरू भएको छैन । अहिले चौराहादेखि गोल पार्कसम्मको मेन क्याजवेयमा लेभल मिलाउने गरी मात्र पिच भएको छ । तर, सडक छेउछाउको काम भने अधुरै छोडिएकाले थप समस्या छ ।

मेन क्याजवेयमा लेभल मिलाउने पिच भएपछि अहिले केही फरक परेको भएपनि सडकको दायाँ र बायाँ नालीसहितको सर्भिस लेन निर्माण अलपत्र अवस्थामा छ ।

पहिलो सम्झौताअनुसार यो सडक २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले काम गरिरहेको छैन । काम निकै सुस्त गतिमा छ ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले असारदेखि म्याद थप नभएको र कन्टयाक्टर पनि सम्पर्कमा नभएकाले अब ठेक्का तोड्ने अन्तिम तयारी गरेको बताए ।

निर्माण कम्पनीका सञ्चालक पेम्बा लामासमेत अहिले यस क्षेत्रका इन्जिनियरको सम्पर्कमा नभएको जनाइएको छ । कम्पनीका प्रतिनिधि समेत लामो समयदेखि कार्यालयको सम्पर्कमा नआएको उनले बताए ।

उनले भने ‘गएको असारदेखि म्याद सकिएको छ । काम ठप्प छ । काम गर्न बारम्बार ताकेता गरे पनि काम नभएपछि हामीले माथिल्लो निकायमा सबै पत्राचार गरेका छौँ । सायद छिट्टै ठेक्का तोडिन्छ र नयाँ ठेक्का लाग्छ ।’

हाल यो सडक खण्डमा ५० प्रतिशत काम मात्र पूरा भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । डिभिजन कार्यालय बुटवलका प्रमुख (डीई) विसुनदास लामाले पटक–पटक म्याद थप्दा समेत प्रगति शून्य जस्तै रहेको लगायतका विवरणसहित माथिल्ला निकाय अर्थात् निर्देशनालयमा पत्राचार गरिएको डीई लामाले बताए । उनले निर्माणको जिम्मा पाएको ठेकेदारले नै काम धिमा गतिमा गर्दा सडक समयमै सम्पन्न नभएको जनाएका छन् ।

ठेकेदारले पेस्की रकम लगेको लग्यै

बुटवलको ३.२५ किमी सडक ६ लेनमा विस्तार गर्न दि कञ्चनजङ्घा जेभी नामको निर्माण कम्पनीसँग भ्याटसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँमा २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो । ८ वर्षमा यो सडकको काम आधा पनि सकिएको छैन ।

काम नै समयमा नगर्ने दि कञ्चनजङ्घा–बिरुवा जेभीले पटक पटक पेस्की रकम भने लगिरहेको छ । अहिलेसम्म ३५ करोड भुक्तानी लगिसकेको छ । हालसम्म २७ करोड ४० लाख ६७ हजार रुपैयाँ भुक्तानी लगेको साथै ७ करोड ४६ लाख रुपैयाँ बराबरको पेस्की लगेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पटक–पटक गरेर भुक्तानी भएको बताए । त्यस्तै उनले म्याद थप हुँदासमेत कामको प्रगति नभएपछि यसबारे नयाँ विकल्पको खोजी गर्न माताहतका नियकायमा प्रतिवेदन पठाएको समेत बताए ।

बढ्दै दुर्घटना, अस्तव्यस्त मुख्य बजार

चौराहादेखि बेलहिया नाकासम्म ६ लेनको फराकिलो सडक छ । सडकको दायाँबायाँ हरियाली छ । बीचको डिभाइडरमा बत्ती जडानले यो सडकको यात्रा रातमा गर्दा त कुनै विकसित शहरको भन्दा कम देखिँदैन । तर, राजमार्ग चौराहादेखि गोल पार्कसम्मको सडक कुरूप मात्र छैन, अस्तव्यस्त छ । समयमै सडक नबन्दा दुर्घटना पनि बढिरहेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी होमबहादुर थापाका अनुसार तीन वर्षको अवधिमा सो क्षेत्रमा भएका दुर्घटनाबाट २० जनाको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *