पर्वतको मनमोहन शान्ति वाटिका : १ करोड खर्च गरिसकेपछि पुरपार, फेरि बनाउन यसरी हुँदैछ सुरसार – Nepal Press

पर्वतको मनमोहन शान्ति वाटिका : १ करोड खर्च गरिसकेपछि पुरपार, फेरि बनाउन यसरी हुँदैछ सुरसार

पोखरा । पर्वतको फलेवास नगरपालिका- १ कर्कीनेटामा सभाहलसहितको मनमोहन शान्ति वाटिका अहिलेसम्म बन्न सकेको छैन । एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकै २ वर्ष भइसक्यो । २०७८ साल मंसिरमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । तर, ३ महिनामै रोकिएको वाटिका निर्माण कार्य अहिलेसम्म फेरि सुरु हुन सकेको छैन ।

निर्माण कम्पनी रविना कन्स्ट्रक्सनले ४ करोड २४ लाख ७९ हजार ५०७ रुपैयाँमा सभाहलसहित वाटिकाको संरचना निर्माण गर्ने जिम्मा पाएको थियो । उक्त संरचनाको लागि पर्यटन मन्त्रालय र फलेवास नगरपालिकाले ७०:३० को साझेदारी गरेका थिए । शान्ति वाटिकाभित्र सभाहलसँगै चिल्ड्रेन पार्क, ढुङ्गा बिच्छाउने, भान्जी पोखरी निर्माणलगायतको काम गर्ने सम्झौता भएको थियो ।

सामुदायिक वन क्षेत्रमा सभाहल निर्माण गर्न ठाउँ खारिएपछि जिल्ला वन कार्यालयमा उजुरी पर्‍यो । उजुरीअनुसार वनले निर्माण रोक्न निर्देशन दिएको थियो ।

वाटिका निर्माण गर्न सामुदायिक वनको जमिन सम्याएर ४१ वटा पिल्लरसमेत ठड्याइएको थियो । जुन पक्की भौतिक संरचना वन कार्यालयमा उजुरी परेलगत्तै पुरिएको थियो । सभाहल निर्माण गर्न ती पिलर ठड्याइएको थियो ।

वन ऐनले सामुदायिक वनमा संरचना तथा कुनै योजना सञ्चालन गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्छ । तर, उजुरीपछि अनुसन्धान गर्दा नगरपालिकाले सामुदायिक वन ऐन, कार्यविधिअनुसार प्रक्रिया पूरा नगरी वाटिकाको संरचना निर्माण गरेको देखिएपछि आफूहरुले रोकेको वन कार्यालयका प्रमुख नवराज बराल बताउँछन् ।

‘सामुदायिक वन क्षेत्रमा वाटिका निर्माण गरेको भनेर उजुरी पर्‍यो । त्यसमाथि अनुसन्धान गर्दा नगरपालिकाले सामुदायिक वन क्षेत्रमा भवन बनाउन लागेको रहेछ । जुन सामुदायिक वन ऐन, कार्यविधिको प्रक्रिया पूरा नगरेको रहेछ । त्यसकारण अहिले त्यो काम रोकिएको छ’, बरालले भने ।

ऐनविपरीत सामुदायिक वन क्षेत्रमा कुनै पनि प्रकृतिका स्थायी संरचना बनाउनु गैरकानूनी हुने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ मा शान्ति वाटिकाको योजना कार्यान्वयन गर्न १७ करोडको डीपीआर तयार भएको थियो । फलेवास नगरपालिका- १ को जमली चिसापानी र वडा नं. २ मा पर्ने थाम चिसापानी सामुदायिक वनको सिमानामा रहेको वन क्षेत्रमा शान्ति वाटिका निर्माण गर्न लागिएको हो । वाटिका बनाउन सामुदायिक वन क्षेत्रमा रहेका केही सल्लाका रुख र बुट्यान हटाइ डाँडा काटेर समतल बनाइएको थियो ।

वाटिका निर्माण गर्न नगरपालिकाले अहिलेसम्म करिब १ करोड रुपैयाँ खर्च गरिसकेको नपाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

‘वाटिका निर्माण गर्न जमिन सम्याउने, पर्खाल लगाउनेलगायतका काममा हालसम्म करिब १ करोड जति खर्च भइसकेको छ’, उनले भने ।

निर्माण पक्षले वनकै निर्देशनमा नगरपालिकाका तत्कालीन मेयर पदमपाणि शर्माको अनुरोधमा बनेका पिलरसहितको संरचना पुरिएको दाबी गरेको छ ।

३ महिना काम गर्दा आफूहरुको ८५ लाख रुपैयाँ खर्च भए पनि हालसम्म भुक्तानी नपाएको निर्माण कम्पनीका प्रतिनिधि गोविन्द भुसालले गुनासो गरे ।

‘हामीले पुस, माघ, फागुन ३ महिनामात्रै काम गर्न पायौं । त्यसपछि स्थानीय चुनाव भने, काम भएन । ३ महिना काम गर्दा हाम्रो ८५ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘उनीहरुले ४० लाख हाराहारीको बिल स्वीकृत गरेका छन् । त्यो पनि अहिले कताकता राखेका छन्, थाहा छैन ।’

सट्टा जग्गा दिने फाइल अगाडि बढाउँदै नगरपालिका

जग्गा विवादपछि अहिले फलेवास नगरपालिकाले वनलाई सट्टा जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । मेयर गंगाधर तिवारीले वनको जग्गा प्राप्त गरेवापत व्यक्तिगत जग्गा दिनुपर्ने प्रावधानअनुसार प्रक्रिया सुरु भएको बताए ।

‘वनले गर्दा काम रोकिएको छ । सामुदायिक वनको जग्गा प्रयोग गरेवापत सट्टामा दिनुपर्ने रहेछ । हामीले व्यक्तिगत जग्गा निःशुल्क प्राप्त गरिसकेका छौं । अब फाइल अगाडि बढ्छ । तुरुन्तै काम सुरु हुन्छ’, उनले भने ।

शान्ति वाटिकाका लागि महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जग्गा दान गरेका छन् । शान्ति वाटिका निर्माण पूरा गर्न भुसालले महाशिला गाउँपालिका–१ होश्राङदीमा रहेको ५ रोपनी जग्गा शान्ति वाटिकालाई उपलब्ध गराएको मेयर तिवारीले जानकारी दिए ।

वन प्रमुख बरालले हकभोगका रुपमा सामुदायिक वनको जग्गा प्रयोग गरेवापत कुनै अन्य ठाउँको निजी जग्गा वनलाई हस्तान्तरण गर्न क्याविनेटले मात्र सक्ने बताए ।

‘हकभोगका रुपमा कुनै अन्य ठाउँको निजी जग्गा वनलाई हस्तान्तरण गरेर सामुदायिक वनको जग्गा प्रयोग गर्न पाउने व्यवस्था वन ऐनमा छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ’, उनले भने, ‘नगरपालिकाले सोही प्रक्रिया अगाडि सारेको सुनेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *