वर्षमान पुनको दाबी- इजरायल घटना देखाएर नेपालमा सरकार ढाल्ने प्रयास भयो – Nepal Press

वर्षमान पुनको दाबी- इजरायल घटना देखाएर नेपालमा सरकार ढाल्ने प्रयास भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इजरायल युद्धको नाममा सरकारमाथि आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताएका छन् ।

पार्टी समर्थित अखिल क्रान्तिकारीको बुधबार भएको बैठकमा पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास भएको दाबी गरे ।

तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल भएको उनको भनाइ छ । सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै उनले देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे ।

उपमहासचिव पुनले इराकसँग समन्वय गरी सरकारले स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको जनाए ।

‘इराक युद्धमा जस्तै गरी इजरायल युद्धको बहानामा सरकारमाथि घेराबन्दी गरेर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको थियो’, पुनले भने, ‘सरकारको जिम्मेवारीपूर्ण पहलका कारण ती सबै प्रयास असफल भएका छन् ।’

१० नेपालीको विदेशी भूमिमा हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाको रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको उनको टिप्पणी थियो ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको उनले जानकारी दिए । सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भावविरोधी घटनामा प्रतिगामी र व्यवस्थाविरोधी तत्वको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको उनले दाबी गरे ।

गणतन्त्र, संघीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको पुनले बताए ।


प्रतिक्रिया

2 thoughts on “वर्षमान पुनको दाबी- इजरायल घटना देखाएर नेपालमा सरकार ढाल्ने प्रयास भयो

  1. यस्को अगुवाईमा भएको सुन तस्करी प्रकरणलाई विषन्तर गर्न अनेक वकवास गर्दै हिंडेको छ ।

  2. सुन तस्कर, गुण्डा र हत्याराका नाईकेहरू अनेक कुरा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर