वन अतिक्रमण आरोपमा पक्राउ परेका व्यक्ति मन्त्रीको दबाबमा छुटे – Nepal Press

वन अतिक्रमण आरोपमा पक्राउ परेका व्यक्ति मन्त्रीको दबाबमा छुटे

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले वन अतिक्रमणमा पक्राउ परेका एक व्यक्तिलाई छुटाएका छन् ।

जिल्लाको भजनी नगरपालिका-९ मा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समिति उपाध्यक्ष जितबहादुर बडैलालाई वनमन्त्री आफैँ पुगेर रिहा गरेका हुन् । वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै रिहा गरेको बताइएको छ ।

बडैलालाई डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारीहरूले करिब ३ रोपनी वन क्षेत्र अतिक्रमण गरेको आरोपमा मंगलबार पक्राउ परेका थिए । आवश्यक अनुसन्धान लागि सशस्त्र वन सुरक्षा शाखा ( वन हिरासत) मा राख्न नपाउँदै मन्त्री धामीले उनलाई लिएर गएको प्रत्यक्षदर्शीले बताए ।

बडैलालाई वन मन्त्रालयसँगै रहेको वन हिरासत राख्दै गर्दा मन्त्रीले निकालेको आरोप लगाए ।

‘उहाँ आफैं उपस्थित भएर छुटाउनुभयो’, एक कर्मचारीले भने ।

अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई मन्त्रीले नै रिहा गरेपछि अहिले वन कर्मचारीहरू रुष्ट भएका छन् ।

‘अब हामी यसरी कसरी काम गर्ने’ उनले थपे ।

यता मन्त्री धामीले भने आवश्यक छलफलका लागि बोलाइएको बताए । निर्दोष व्यक्तिलाई वन कर्मचारीले पक्राउ गरेको उनको टिप्पणी छ ।

‘उहाँ निर्दोष भन्ने आइरहेको छ । त्यसैले छलफलको लागि बोलाएको हुँ । अहिले घर फर्किनुभएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *