भित्र्याउने बेलाको मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण – Nepal Press

भित्र्याउने बेलाको मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखा परेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए ।

उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सी धान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।

अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासि धानमा सङ्क्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए ।

सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ ।

कार्यपालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताए । चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन् ।

जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिक रूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालन गरेको अर्ग्यानिक पसलका सञ्चालक बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर