इजरायलमा रहेका नेपालीको उद्धारका लागि राप्रपाको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

इजरायलमा रहेका नेपालीको उद्धारका लागि राप्रपाको ध्यानाकर्षण (भिडिओ)

संसदमा इजरायलमा अलपत्र परेका नेपालीबारे छलफल चलाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले इजरायलमा हमासको हमलामा परी अनाहकमा १० जना नेपालीले ज्यान गुमाउनुपरेको घटनाले अत्यन्तै दुःखी र मर्माहत तुल्याएको जनाएका छन् ।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल पुगेको निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गरेका छन् ।

उनले ज्यान गुमााउने प्रति समवेदना एवम् घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, अध्यक्ष लिङदेनले नेपाल सरकारसँग उनीहरुको शव यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै, उनले इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न र जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई उद्द्धार गरी स्वदेश फर्काउन पनि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

त्यस्तै, राप्रपाले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ः३० मा बस्नेगरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधि सभा बैठकको नियमित कार्यसूचिलाई हटाएर इजरायलमा अलपत्र नेपालीहरुको उद्दारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूचि परिवर्तन गर्न माग गरेका हुन् । इजरालयमा अलपत्र नेपालीहरुको उद्दारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधि सभाले निर्देशन दिनुपर्ने उनले बताए । इजरायलमा मात्रै नभइ अन्य विभिन्न देशहरुमा पनि अलपत्र रहेका नेपालीहरुको उद्दार गर्नुपर्नेमा उनले जोड दिए ।

सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘आजको नियमित संसदलाई स्थगन गरेर इजरायलमा अलपत्र परेका मान्छेलाई उद्दार गर्नका लागि सदन चलाऔँ । आजको विषयवस्तु यही विषयवस्तु मात्रै राखौँ । कसरी मान्छेलाई त्यहाँबाट उद्धार गर्ने ? आज इजरायलमा मात्र होइन साउदी अरबमा, दुई, कतार, मलेसिया लगायत युरोपियन, दणिक्ष अफ्रिकन देशहरु लगायत धेरै देशहरुमा अहिले नेपालीहरु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि एउटा विशेष टिम सरकारले बनाउनुपर्छ । त्यो बनाउनका लागि संसदबाटै आदेश जारी होस् । र आज चलिरहेको संसदलाई नियमित कार्यसूचीलाई पछाडि राखेर आजको सदन विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि आजको सदन चलाऔँ । त्यही विषयमा सरकारलाई आदेश गरौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर