भाडा नबढाए दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने, यातयात व्यवसायी भन्छन्- बैंकहरू ठूला मिटरब्याजी हुन् – Nepal Press

भाडा नबढाए दसैँमा अग्रिम टिकट बुकिङ नखुलाउने, यातयात व्यवसायी भन्छन्- बैंकहरू ठूला मिटरब्याजी हुन्

काठमाडौं । सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् ।

यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् ।

यातायात व्यवस्था विभाग स्रोतले भन्यो, ‘हामी यातायात व्यवसयीसँग पटक-पटक कहिलेबाट दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बस्यौं । तर, उहाँहरूले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताइरहनुभएको छ । यातायात व्यवस्था विभाग भाडा बढाउन दिने पक्षमा छैन । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुन्छ । भाडा बढ्यो भने नकारात्मक सन्देश समेत जान्छ ।’

व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन् । विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्त मात्रै राखेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पटकपटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताए ।

उनले भने, ‘विभागले यातायात व्यवसायीसँग पटकपटक अग्रिम टिकट खोल्नको लागि छलफल सरिसकेका छौं । व्यवसायीहरूले आफ्नो समस्या विभागमा राख्नुभएको छ । चाँडै बुकिङ खोल्दा टिकट सकिएर समस्या आउन सक्छ । आगामी २० गते वा त्यो भन्दा पछाडि टिकट बुकिङ खुल्ला गर्दा पनि राम्रो हुन्छ कि भन्ने पनि छ । आज पनि अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने तयारी रहेको छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए ।

उनले नेपाल प्रेसँग कुरा गर्दै भने, ‘राज्यले यातायात व्यवसायीलाई पेल्दै गएको छ । दसैँका लागि अग्रिम टिकट बुकिङको लागि हामीले हाम्रा मागहरु अगाडि सारेका छौं । सबैभन्दा पहिलो माग भनेको देशभर निर्माण गर्ने भनेर खनिएका सडक बनाउन माग गरेका छौं । दोस्रो भनेको भाडा वृद्धिमा प्रयोग हुने १६ वटा तत्वमध्ये सबैंभन्दा धेरै मूल्यवृद्धि भएको ५ वटा वस्तुको मूल्यांकन गरेर भाडा वृद्धि गर्न भनेका हौं । कानूनी व्यवस्था पनि त्यही छ । प्रत्यक वर्ष गाडीमा प्रयोग हुने ५ वस्तुको मूल्य हेरेर भाडा वृद्धि गर्नुपर्ने हो । भने, बाँक ११ वटा वस्तुको मूल्य हेरेर ५ वर्षमा पुन: भाडा समायोजन हुनुपर्ने हो । तर, भाडा बढाउन हुदैन मात्रै भनिरहेको छ ।

‘पेट्रोलियम पदार्थले ३५ प्रतिशतमात्रै भाडाको सम्बोधन गर्छ । बाँकी ६५ प्रतिशत भाडा गाडीमा प्रयोग हुने टायरदेखि अन्य वस्तुको आधारका निर्धारण हुनुपर्छ । राज्यले व्यवसायीको कुरा नसुने दसैँमा अग्रिम टिकट खुल्दैन’, उनले थपे ।

अध्यक्ष स्वाँरले ९ प्रतिशतमा बैंकबाट लिएको ऋणको व्याज अहिले १७ प्रतिशत पुगेको भन्दै सबैभन्दा ठूलो मिटरव्याजी बैंक नै भएको टिप्पणी गरे । तर, पनि राज्यले केही नगरेपनि व्यवसायी यात्रुप्रति जिम्मेवार भएको कारणले राज्यले व्यवसयीको कुरा नसुने पनि सब सञ्चालन भने गर्ने स्वाँरले बताए ।

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको सहज सञ्चालनमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरबीच समन्वय हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *