प्रदीपलाई अनमोलविरुद्ध लेखेको स्टाटसमा प्रष्टीकरण दिँदाको हैरान, आशिकाको आपत्तिपछि सच्याए यो शब्द – Nepal Press

प्रदीपलाई अनमोलविरुद्ध लेखेको स्टाटसमा प्रष्टीकरण दिँदाको हैरान, आशिकाको आपत्तिपछि सच्याए यो शब्द

सबै तैं चुप, मै चुप देख्ता बल्ल गलत त म नै रहेछु भन्ने चेत आयो: प्रदीप खड्का

काठमाडौं । आज बिहानै नायक प्रदीप खड्काले फेसबुकमा एउटा लामो स्टाटस लेखे, जुन उनका प्रतिस्पर्धी नायक अनमोल केसीविरुद्ध लक्षित थियो । स्टाटसमा राखेको धारणाबाट उनले निकै आलोचना व्यहोर्नुपरेको छ ।

अनमोलले ‘रावायण’ खेल्न एडभान्स लिएर पछि छोडेको विषयमा खड्काले घुमाउरो ढंगले कटाक्ष गरेका थिए । ‘विवाह’को उदाहरण पेश गर्दै उनले एक पटक सुहागरात मनाइसकेपछि कुनै पनि बहानामा दुलहीलाई छोड्न नमिल्ने बताएका छन् । कुनै खोट लगाएर छोडिसकेकी दुलहीमा फेरि विवाहको आत्मविश्वास बाँकी नरहन सक्ने उनको तर्क छ ।

‘दुलहीलाई खोट लगाएर लखेटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ’, खड्काले लेखेका छन् । एउटा कलाकारले स्क्रिप्ट मन नपरेर छोडेको चलचित्र निर्माण गर्न निर्मातामा हौसला बाँकी नरहने कुरालाई उनले यसरी चित्रण गर्न खोजेका हुन् । तर, यो उदाहरणले उनको एकल महिलालाई हेर्ने दृष्टिकोणमाथि नै प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा थुप्रैले खड्कामाथि प्रश्न तेर्स्याएका छन् । अनमोलप्रति कुण्ठा पोख्दा असंवेदनशील उदाहरण प्रस्तुत गरेको आरोप उनीमाथि लागेको छ ।

रंग पत्रकार पुष्पा थपलियाले लेखेकी छन्, ‘यो कस्तो अभिव्यक्ति हो ? महिलाको बारेमा उदाहरण दिँदा तपाईं जत्तिको मान्छे संवेदनशील बन्नुपर्छ कि पर्दैन ? बुढाले छाडेकी भनेर दाग लगाइदिएसी उसमा आत्मविश्वास नहोला रे अर्को बिहेका लागि ! तपाईंको इगो अन्तै पोख्नुस् । आफ्नो करिअर र प्रोफेसनको स्वार्थ पूरा गर्न महिला र उसको कुमारीत्व सर्वश्व हो भन्ने भाष्यलाई बढावा नदिनुस् ।’

खड्काले पुष्पाको टाइमलाइनमा आएर जवाफ दिएका छन् । आफूले कसैलाई चोट पु¥याउन नखोजेको र केवल प्रणालीमाथि प्रश्न उठाएको उनको प्रष्टीकरण छ ।

सामाजिक अभियन्ता आशिका तामाङले पनि खड्काको स्टाटसमा कमेन्ट गरेकी छन् ।

उनको स्टाटस यस्तो छः

‘प्रदीप ज्यु, महिलालाई बुढाले छोड्दा किन आत्माविश्वास घट्छ ? कुन जमानामा हुनुहुन्छ ? नेपाली समाजका महिला अहिले कुनै युरोपका महिलाभन्दा कम छैनन् है, तपाईं, नेपाली समाजको महिलाप्रति अपडेट हुन चुक्नुभएछ । दुःख लाग्यो, यति युवा उमेरमा पनि बाउबाजेको पालाका महिलासँग आधुनिक महिलालाई दाज्नुभएकोमा । किन हरेक क्षेत्रको मान्छेले महिलालाई नै हतियार बनाउछ ? हामी महिला भएर जन्मिएर यो धर्तीमा सबैको बोझ हामीले उठाउनु पर्ने ? महिलाको नामले उदाहरण किन दिने ? अरु चिज छैन यो संसारमा ? हामी उदाहरण दिइने वस्तु हौं र ?’

आशिकालाई पनि जवाफ दिन आइपुगे नायक खड्का । उनले आफ्नो स्टाटस राम्ररी नपढिकन कमेन्ट गरेको टिप्पणी गरे । त्यसलाई जवाफ दिँदै आशिकाले स्टाटस राम्ररी पढेर नै लेखेको बताइन् ।

उनले सुझाव दिइन्, ‘आत्मविश्वास होइन, विश्वास गुम्छ भनेर लेख्नुस् न ! आत्मविश्वास भनेको महिलाका लागि धेरै ठूलो कुरा हो । विश्वास त पुरुषको पनि गुम्नसक्छ, यदि उसले महिलाबाट धोका पायो भने ।’

आशिकाको यो सुझावलाई भने खड्काले मनन गरेका छन् । उनले आफ्नो स्टाटसमा ‘आत्मविश्वास’ हटाएर ‘विश्वास’ लेखेका छन् ।

त्यसो त स्टाटस पोस्ट गरेदेखि नै खड्कालाई संशोधन र प्रष्टीकरणको हैरानी छ । उनले सुरुमा हालेको पोस्टमा पटक-पटक थपथाप गरेका छन् भने बारम्बार प्रष्टीकरण पनि दिइरहेका छन् ।

पछिल्लो प्रष्टीकरणमा खड्काले आफू नै गलत रहेछु भन्ने महसुस भएको बताएका छन् । गल्ती जति छिटो स्वीकार्यो त्यति हितकर हुने कुरालाई मनन गरेको उनको भनाइ छ ।

‘प्रणालीको सुधार गर्नुपर्छ भन्ने गलत त म पो रहेछु, प्रणाली ठिकै रहेछ भन्ने आत्मालोचना गर्दै स्टाटसमा कमेन्ट पढेर आयो, नपढी आयो, जे आयो व्यक्तिगत धारणा आयो, सामान्य प्रक्रिया हो,’ उनले लेखेका छन्, ‘केही समस्या भएन, आफ्नो लागि मात्र बोल्छ भन्ने सुन्दा उद्योगका लागि आज कुरै मिल्दैन भनिएको निर्देशक र सम्पूर्ण निर्माताका लागि नि बोल्देको सबै तैं चुप, मै चुप देख्ता बल्ल गलत त मनै रहेछु भन्ने चेत आयो ।’

उनले घुमाउरो असन्तुष्टि जनाउँदै अब आफू पनि सबैले स्वीकार गरेको सिस्टममा चल्ने बताएका छन् ।

‘जो जसले मेरो लहैलहैमा प्रणालीको सुधार गर्नुपर्छ भन्ने चेष्टा गर्नुभयो, मेरो सुझाव, गलत त हामी रहेछौं, मुलुक स्वतन्त्र छ, सबैलाई छुट छ । प्रणाली होइन, सायद व्यक्तित्वअनुसार यो क्षेत्रमा आउनु चाहिँ गलत छ । समयले बताउला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *