३४ वर्षअघि छिमेकीको हत्या गरी भागेका व्यक्ति प्रहरी फन्दामा – Nepal Press

३४ वर्षअघि छिमेकीको हत्या गरी भागेका व्यक्ति प्रहरी फन्दामा

भोजपुर । हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । उनलाई आइतबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

भोजपुरको उत्तरी साविक दोभाने गाविस-८ हाल साल्पासिलिछो गाउँपालिका- ५का राई घटना हुँदा २७ वर्षका थिए । उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बद्रिको बाटोमै मृत्यु भएको थियो ।

२०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई इटहरीको तरहरामा लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरेको भोजपुरका प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिए ।

उनीसँगै हत्यामा संलग्न अन्य तीनजनालाई खोजी गरिरहेको पाठकले बताए । २०४६ साल कात्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धानसहित सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते प्रतिवादीलाई अदालतबाट जन्म कैदको फैसला भएको प्रहरीले बताएको छ ।

‘फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले लुकेको अवस्थामा सुनसरीबाट प्रतिवादी पक्राउ गरेको छ, यो प्रहरीका लागि सफलता हो’, डीएसपी पाठकको भनाइ छ ।

प्रहरी हिरासतमा रहेका चक्रबहादुरलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर