संशोधित नेपाल नागरिकता ऐन कार्यान्वयनको बाटोतर्फ: आमाको नामबाट नागरिकता पाइने


काठमाडौं । राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ प्रमाणित भएको तीन महिनापछि सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेको छ ।
गृह मन्त्रालयले नियमावली राजपत्रमा प्रकाशित गरेसँगै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।
नयाँ नियमावलीको व्यवस्थाअनुसार उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउनेछन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ ।
यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । तर, यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा भने गर्नुपर्ने छ ।
संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो, त्यही नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुकसमेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दूतावास वा वाणिज्य दूतावासमा निवेदन दिएर नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ ।
यसरी नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिएपछि त्यहाँका कर्मचारीले १५ दिनभित्र अनिवार्य रुपमा रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ ।