प्रचण्डको पत्रले नेसपामा भूकम्प- बाबुरामलाई ‘बाइपास’, महेन्द्रसँग एकता ! – Nepal Press

प्रचण्डको पत्रले नेसपामा भूकम्प- बाबुरामलाई ‘बाइपास’, महेन्द्रसँग एकता !

भारत भ्रमणमा रहेका बाबुरामको प्रतिक्रिया- जे हुँदैछ, गलत हुँदैछ

काठमाडौं । नेकपा माओवादीको पार्टी एकतासम्बन्धी पत्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा हलचल ल्याएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी एकताको लागि अध्यक्ष भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पत्र पठाएपछि नेसपामा भूकम्प ल्याएको हो ।

अध्यक्ष भट्टराई पछिल्लो समय पार्टी एकताको लागि तयार नभएपछि प्रचण्डले रणनीतिक रुपमा यादवलाई सम्बोधन गरेर पत्राचार गरिएको बताइन्छ । माओवादीसँग एकता गर्ने विषयमा नेसपामा सुरुदेखि नै दुई धार छ ।

यही विवादमा खेल्ने रणनीतिका साथ माओवादीबाट अहिले पत्राचार भएको बाबुराम निकट नेताहरुले आरोप लगाएका छन् । तर, यादव निकट नेताहरुले अध्यक्ष भट्टराई बाहिर भएकाले अर्का अध्यक्षलाई पत्राचार गरेर पत्र पठाएको कुरालाई सामान्य रुपमा लिनुपर्ने तर्क गरेका छन् ।

माओवादीले यादवलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ, ‘भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरु)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउन पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिप्ट पार्टीको पछाडि कोष्ठभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ ।’

माओवादीले एकताको लागि पत्र पठाएका यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा खानेपानीमन्त्री छन् । उनी माओवादीकै हसियाँ हथौडा चिह्नबाट चुनाव लडेका थिए । त्यसो त प्रचण्ड र बाबुराम पनि एकै ठाउँमा उभिएका थिए ।

पार्टी एकतापछि प्रचण्डले सरकार र बाबुरामले पार्टीको नेतृत्व गर्ने सहमतिअनुरुप अघि बढेका थिए । सत्ता स्वार्थका लागि एकै ठाउँमा उभिएका प्रचण्ड र बाबुरामबीच पछिल्लो समय दूरी बढेको छ ।

माओवादीको सहयोगमा काठमाडौंबाट छोरीलाई चुनाव जिताएर राजनीतिमा स्थापित गराउनेदेखि आफू राष्ट्रपति बन्नेसम्मको दाउ राखेर प्रचण्डसँग नजिकिएका थिए बाबुराम । तर, कुनै प्रयास सफल नभएपछि उनी तत्काल माओवादीसँग पार्टी एकता नगर्ने मुडमा पुगेका थिए । यहीबीच समाजवादी मोर्चामा आफूलाई नअटाएपछि प्रचण्डदेखि बाबुराम थप चिढिएका थिए ।

तत्काल पार्टी एकता सम्भव नभएपछि नेसपा फुटाउने रणनीतिका साथ माओवादीले पत्र पठाएको नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले आरोप लगाए ।

उनले नेपाल प्रेससँग भने, ‘त्यो उहाँहरुले एकताको लागि पत्र पठाएकै होइन । नेसपाभित्र अन्तरविरोध सिर्जना गरेर केही मान्छेहरुलाई माओवादीमा प्रवेश गराउने यो कुटिल चालमात्रै हो ।’

दुई पार्टीभित्र गठन भएको वार्ता टोलीभन्दा बाहिर गएर पत्राचार गर्नु आपत्तिजनक भएको उनले बताए ।

उनले भने, ‘यसअघि निर्वाचनमा पनि औपचारिक पत्रमा माओवादीबाट प्रचण्ड र हाम्रो पार्टीबाट बाबुरामबाट पत्राचार भइरहेको अवस्थामा अहिले वार्ता समितिलाई पनि होइन । औपचारिक रुपमा पत्रचार गर्दै आएको पार्टी अध्यक्षभन्दा बाहिर गएर पत्र काट्नु भनेकै हाम्रो पार्टीमा अन्तरविरोध सिर्जना गराउन खोजेको भन्ने प्रस्ट हुन्छ ।’

उनले अध्यक्ष यादवलाई पठाएको पत्रबारे पार्टीमा कुनै जानकारी नभएको दाबी गरे । पत्रबारे वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठ नै बेखबर भएको पोखरेलको भनाइ छ ।

उनले भने, ‘यसरी पत्राचार गर्नु भनेको राजनीतिक कमजोरीको पराकाष्ठा हो । उहाँहरुले यो सच्याउनुभयो भने राम्रो होला ।’

नेता पोखरेलले माओवादीसँग एकताको लागि वार्ता समितिले यसअघि नै ११बुँदे प्रस्ताव पठाएको बताए ।

‘माओवादी र नेसपासहित आजको आवश्यकता समाजवादी केन्द्र बनाउनुपर्छ भनेर रुपान्तरणसहित पार्टी निर्माण, सञ्चालन गर्नुपर्छ भनेर प्याकेजमा भनेका थियौं । त्यो उहाँहरुसँग अहिले पनि सुरक्षित छ होला । त्यसमा सहमति हुने भए छलफल गर्न सकिन्छ भनेका थियौं’, उनले थपे, ‘तर, अहिले राजनीतिक विचार लाइन केही छैन ।’

उनले अहिलेसम्म औपचारिक महाधिवेशन नभएको पार्टीले महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्छु भनेको टिप्पणीसमेत गरे ।

माओवादीको पत्राबारे भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराईलाई समेत पनि जानकारी गराइएको नेता पोखरेलले बताए । उनले भने, ‘पार्टीका सबै नेताहरुले यो पत्रको भर्त्सना गरेका छन् । यो गलत मनसायले प्रेसित भएको भन्दै सच्याओस् भनेका छौं ।’

अध्यक्ष भट्टराई असाेज ६ गते फर्किएपछि ८ गते पार्टीको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने उनले सुनाए । अध्यक्ष भट्टराईले पत्रबारे जानकारी गराएपछि गलत भइरहेको टिप्पणी गरेको उनले सुनाए ।

पार्टी एकताको लागि नामको विषयमा बाबुरामले विमति राखेपछि महेन्द्रको नाममा पत्र काटिएको माओवादीका एक नेताले बताए ।

ती नेताले नेपाल प्रेससँग भने, ‘हामी एकताको लागि कार्यदल बनाएर अघि बढेका थियौं । दस्तावेज पनि साटासाट भइसकेको अवस्था थियो । तर, पछिल्लो समय उहाँले नाममा विमति राख्नुभयो । हामी कोष्टमा रहेको नाम फेर्न तयार थियौं । उहाँले कम्युनिष्ट विचारधारा नै त्याग्नुपर्छ भनेपछि सम्भव भएन ।’

तर, आफूहरु एकताको प्रयासमा भएकाले नेसपाभित्र खेल्ने मनसायले पत्र नपठाएको ती नेताले दाबी गरे ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत रहेको पाँच सदस्यीय कार्यदल बनाएको थियो भने नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा दुर्गा सोव र रमेशप्रसाद यादव रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर