साहसी स्त्रीको वीरताको त्यो गाथा र तीजको मातृ शक्ति महत्व – Nepal Press

साहसी स्त्रीको वीरताको त्यो गाथा र तीजको मातृ शक्ति महत्व

पृथ्वीमा आजभन्दा ३६१ पिँढीअघि मानवको आरम्भिक काल थियो । यो समयताका परिवारमा पिताको नभएर माताको शासन हुन्थ्यो । माताको बलिष्ठ रहुञ्जेल उनैले परिवारको रेखदेख गर्ने गर्थिन् । बुढेसकाल लागेपछि उनैको छोरीमध्ये बलिष्ठ छोरीले शासन गर्थिन् । यस्तो शासन सहजै माताले छोड्न चाहन्न थिइन् । त्यसैले आफ्नै पुत्रीलाई मार्नसमेत पछि पर्दैन थिए ।

जनसंख्या बढ्दै जाँदा शिकार खेल्न आफ्नो जङ्गलको क्षेत्रफल कम हुँदै जाँदा युद्धसमेत गरेर ती माताले आफ्नो परिवार जोगाउन पर्थ्यो, शिकार गरेर खाना पुर्‍याउन पर्थ्यो । शिकारको कमी भएपछि यस्ता समूह मौसमअनुरुप ठाउँ परिवर्तन गर्दै आफ्नो बचाउ गर्थ्यो । समय गुज्रँदै गयो । कविलाको रुपमा बस्ने एउटा परिवारको विवाह अर्को कविला समूहसँग हुन थाल्यो । यसरी समाज अगाडि बढ्दै जाँदा स्वतन्त्र महिला कहिले दास हुन पुगे, पत्तै चलेन । पितृसत्तात्मक सोच भएको समाजको विकास हुन खासै समय लागेन ।

विवाह भएपछि समाजमा हुने विभिन्न खाले अपहेलित व्यवहार साथै भौतिक रुपमा मात्र नभएर सामाजिक रुपमा समेत बसाइ सार्नुपर्ने जस्ता सोचलाई यतिसम्म सम्झना गराइन्छ कि एक पल पनि बिर्सन नपाइने रहेछ । बिर्सन नै नपाइने भनेपछि अब विचार गर्नुस्, मौरीको घार झैं कोको वरिपरि रुमलिन्छन् होला । उनको सामाजिक पहिचान नै हनन गर्न पुरुषमात्र नभएर महिलाको समेत सक्रिय भूमिका हुनेरहेछ । हाम्रो समाजको विडम्बना जनतालाई भन्दा नेतालाई घरीघरी सम्झाउन पर्ने कि महिलाको सामाजिक पहिचान विवाह गरिसक्दा मेटिँदैन भनेर । नागरिकहरु सचेत छन् । नहून् पनि कसरी ?

समाजमा आजको नयाँ नयाँ विकासले र यन्त्र, नेट तथा आधुनिक प्रविधि, शिक्षाले यसलाई अझै बलिष्ठ बनाउन देन गरेको छ । अब यस्तोमा हामी सामाजिक र व्यवहारिक रुपमा आफूले आफैंलाई कसरी प्रस्तुत गर्छौं भन्ने कुराले खास भूमिका खेल्छ । आजको जमाना अलि धेरै देखासिकीमा प्रभावित हुन थालेको छ । समय यस्तो आयो कि केही कुराबाट हामीलाई अलग्याउन सकिन्न । आज अन्याय, अपमान, अपहेलना गरेको त सहजै अनुमान गर्न सकिन्छ ।

मानिस जातिले आफूलाई जीवित राख्न शिकार खेल्न पर्थ्यो, रातदिन नभनी सधैं स्वस्फुर्त रहन पर्थ्यो । नभए त आफैं शिकार हुने अवस्था आउँथ्यो । म कुरा गर्दैछु, त्यो समयको जति बेला मनिस एउटा माताको मातहतमा बस्ने गर्थे ।

साहसी स्त्रीले पनि पुस्ता हस्तान्तरण आफ्नै छोरीलाई समेत गर्न खोज्दैन थिइन् । यस्तो अवस्थामा कि त मार्न सफल हुनपर्‍यो अथवा आफ्नै जालमा बुनिएर आफ्नै काल निम्त्याउनुबाहेक अरु कुनै उपाय रहँदैन थियो । यसरी अगाडि बढदै आएको पिँढी हौं हामी ।

ल सुन्नुहोस् है, जुनेली रात थियो । जाडो याम, हिमपात धेरै नै परिरहेको बेला खानलाई केही थिएन । शिकार गर्नैपर्ने भएर आमाले साना बच्चाहरुलाई ओडारमै छोडेर अरु ठूला भएका सन्तान छोरा र छोरीहरुलाई लिएर छालाको कपडा बेरेर, ढुङ्गाको हातहतियार, भाला, बन्चरो बोकेर जङ्गलतिर अगाडि बढ्छे । बाक्लो हिउँमा विस्तारै हिँडिरहेका यिनैले करिब डेढ घन्टापछि एउटा गुफा जस्तै ओत लाग्न मिल्ने ठाउँमा तीन भालु घोप्टो परेर ढलिरहेको देख्छन् । सारै प्रफुल्ल हुँदै अब शिकार गर्ने तर्खर गरेर माताले ढुङ्गाको बन्चरो झिक्न लागिन् र अरुले पनि यस्तै हतियार, भाला झिके । तर, हल्ला भने गर्दैनन् । डर छ नि त भालुले थाहा पाउला भन्ने ! अझ ठूलो डर त मारिन्छ कि मरिन्छ भन्ने छ । उनीहरुलाई के थाहा भालु निन्द्रामा छ भनेर । अहिलेको जमाना जस्तो अर्थात अग्रसर, आधुनिक समाज भएको भए पो त ! भालु षड्मासिक जाडोको निन्द्रामा छ, जसको आफ्नो समय अगाबै निन्द्रा टुट्दैन र त्यसले गर्दा शिकार गर्न सहज हुन्छ भनेर थाहा पाइ हाल्थे नि !

जे होस् ती साहसी स्त्रीले बाबुआमा र बच्चा भालुलाई एकै चोटि तीखो डन्डाले मुटु छेड्नेगरी मार्छिन् र तातो कलेजो खाँदै आफ्नो सन्तानलाई पनि खुवाउँछिन् । अनि ओढार फर्केर आफ्ना आङमा बेरिएका छाला उतार्दै निर्वस्त्र हुँदै आगोको वरिपरि आफ्ना सन्तानलाई राख्दै, गीत गाउँदै, रम्दै पोलेको मासु खान दिन्छिन् ।

एउटा कुरा चै के हो भने ती साहसी स्त्रीले पनि पुस्ता हस्तान्तरण आफ्नै छोरीलाई समेत गर्न खोज्दैन थिइन् । यस्तो अवस्थामा कि त मार्न सफल हुनपर्‍यो अथवा आफ्नै जालमा बुनिएर आफ्नै काल निम्त्याउनुबाहेक अरु कुनै उपाय रहँदैन थियो । यसरी अगाडि बढदै आएको पिँढी हौं हामी ।

यसरी विकास भएका यस्ता चिन्तनहरु आजको समाजमा पनि यदाकदा स्वरुप परिवर्तन गरेको देख्न पाइन्छ । जे भए पनि सीधा भाषामा भन्दा खुट्टा तान्ने प्रवृत्ति अत्यन्तै विकास भएको छ, जसको फाइदा महिला आफैंलाई नभएर पुरुषलाई अप्रत्यक्ष रुपमा हुन जान्छ । यस्ताखाले चिन्तन, मनोवैज्ञानिक विचारहरुलाई राजनीतिमा लागेको महिलाले कसरी रूपान्तरित गरेर समाजमा ढाल्ने भन्ने कुराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सहज, सचेत र जागरुक हुन जरुरी छ । महिला सचेत हौं, सभ्य बनौं र बनाऔं । परिवारमात्र हैन, देश बनाउन अग्रसर बनौं । रमझममात्र हैन, चाहेको खण्डमा आफ्नो परिवारलाई जोगाउन मार्न तयारी हुने त्यो स्त्री हाम्रै माता हुन् भनेर सम्झना गरौं ।

हेर दिदीबहिनी हो, खुट्टा तान्ने प्रवृत्तिलाई आजैदेखि पर सारेर परिवार र देश बनाउन नाच्दै र रम्दै, हाँस्दै र कुद्दै अघि बढ्ने गरौं । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । रातो सारी लर्काएर, कम्मर मर्काएर रमाइलो गर्दै अघिअघि बढौं । हरितालिका तीजको शुभकामना !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *