४ जनाको सामूहिक हत्या आरोपबाट यसरी जोगिए दीपेन्द्र – Nepal Press

४ जनाको सामूहिक हत्या आरोपबाट यसरी जोगिए दीपेन्द्र

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा भएको हत्यामा ज्यान गुमाएकाका आफन्तहरु आइतबार बिहानै टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेका थिए, दीपेन्द्र राईविरुद्ध किटानी जाहेरी लिएर । राईलाई शुक्रबार राति भएको घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आफु बस्दै आएको काठ मिलमा शवहरु असरल्ल छरिएको देखेपछि मध्यरातमा आत्तिँदै प्रहरीलाई खबर गर्न पुगेका थिए दीपेन्द्र । तर कपडामा लागेको रगतलगायत कारण देखाएर प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। मदिराले लठ्ठ दीपेन्द्र शनिबार अपरान्हसम्म पूर्ण चेतमा थिएनन् ।

‘उनी जब होसमा आउँथे, डाको छाडेर रुन्थे’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्। दीपेन्द्रलाई मदिराले छाडेपछि प्रहरीले गम्भीरतापूर्वक सोधपुछ अगाडि बढाएको थियो। उनले एउटै कुरा दोहोर्यााई रहे, ‘राति घर पुगेपछि मैले बारम्बार गेट खोल्न फोन गरेँ तर उठेन । गेटमा मज्जाले आवाज आउने गरी हिर्काउँदा पनि कसैले सुनेनन् । त्यसपछि गेट नाघेर भित्र जाँदा शव देखेपछि प्रहरीलाई खबर गर्न पुगेको हुँ ।’

प्रहरीका अनुसार नजिकै रहेको सिसिटिभीमा कैद भएका दृश्यमा पनि दीपेन्द्र गेट वरीपरी लामो समय यता उता गरिरहेको देखिएको थियो । प्रहरीसँगको प्रारम्भिक सोधपुछमा दीपेन्द्रले आफु शुक्रबार दिनभर मदिरा सेवन गरेर बसेको बताएका थिए ।

काठमिलमा दीपेन्द्र, उनका काकाका छोरा नविन तथा कुमार भुजेल र उनकी श्रीमती बस्दै आएकी थिए । कुमारकी आमा पनि केही दिनअघि मात्र त्यहाँ आएकी थिइन् । दीपेन्द्रका बुबा एक वर्षअघिसम्म त्यही काठमिलमा काम गर्थे । बाबुले छाडेर गएपनि काठमिलका मालिकले दीपेन्द्रलाई त्यहीँ बस्न दिइरहेका थिए। विदेश कामदार पठाउने काम गर्दै आएका दीपेन्द्रसँग २ महिनाअघि मात्र नविन बस्न आएका हुन् ।

शुक्रबार राति दीपेन्द्रबाहेक काठमिलमा रहेका अन्य ४ जनाको विभत्स हत्या भएको थियो । प्रहरी अधिकारीका अनुसार सबैभन्दा बढी हतियार प्रहार २० वर्षीय नविनमाथी भएको थियो ।

‘मेरो आफ्नै भाइको हत्या भएको छ, तपाईहरु कसरी यस्तो सोच्न सक्नु हुन्छ’, आफ्नो संलग्नताबारे प्रश्न उठेपछि प्रहरीलाई दीपेन्द्रको जवाफ हुन्थ्यो ।

शनिबार दिउँसो दिनभर दीपेन्द्र नै संलग्न भएजसरी सन्चार माध्यमहरुमा समाचारहरु आए। आइतबार प्रहरीले दीपेन्द्रलाई अभद्र व्यवहारमा थुना म्याद लिएर अनुसन्धान अगाडि बढाउने तयारी गरिरहेको थियो। उता मृतकका आफन्तहरु जाहेरी लिएर टेकु प्रहरी पुगेका थिए। तर टेकु प्रहरीले जाहेरीलाई तत्काल दर्ता गरेन ।

यस घटनाको अनुसन्धानमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले शनिबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठोरको संयोजकत्वमा अनुसन्धान समिती गठन गरेको थियो। समितीमा काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधिहरु पनि थिए ।

खासगरी, राठोर नेतृत्वको समिति सुरुवातमा दीपेन्द्र राईमाथी केन्द्रित रहेर अनुसन्धान गरिरहेको थियो । अन्य पाटा पनि हेरिरहेको थियो। यता काठमाडौं प्रहरी परिसर पनि चुप लागेर बसेको थिएन । आफ्नो जिल्लाभित्रको भएको घटना भएकाले उसले पनि सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको थियो ।

आइतबार बिहान परिसरको टोलीले पेप्सिकोलाबाट एक युवकलाई नियन्त्रणमा लियो । उनलाई नियन्त्रणमा लिनुअघि काठमाडौं प्रहरी परिसरले निश्कर्ष निकालिसकेको थियो- हत्या यीनै व्यक्तीले गरेका हुन् । त्यसको आधार थियो–सिसिटिभी फुटेज ।

घटना स्थलबाट भाग्दै उनी कहाँसम्म पैदल गर्दै पुगेका थिए भन्ने सम्पूर्ण विवरण प्रहरीले निकालेको थियो । त्यसपछि घटनामा प्रयोग भएको हतियार पनि उनको साथबाट बरामद भयो । बरामद भएको खुकुरीबाट रगत पूर्ण रुपमा पखालिएको थिएन ।

तर प्रहरी तब छक्क पर्योए जब उनी बोल्न नसक्ने व्यक्ती भएको चालपायो। सिन्धुपाल्चोकका २३ वर्षीय सन्जय भन्डारीलाई नियन्त्रणमा लिएर आएपछि प्रहरीले लेख्दै प्रश्न गर्यो । उनले आफुले १२ कक्षा पास गरेको लेखेरै बताएका थिए । सुरुमा उनले अंग्रेजीमा जवाफ दिए ।

४ जनाको हत्या आफुले गरेको लेखिदिए। घटनाको कारणबारे थप पत्ता लगाउन प्रहरीले दोभाषे पत्ता बोलायो । दोभाषेको सहयोगले सन्जयले लेख्दै जवाफ दिँदै गए, घटनाको बेलिविस्तार लगाई दिए । ‘उनले कसरी चार जनाको हत्या गरेका थिए भन्ने पुरा दृश्य भनिदिए दोभाषेमार्फत’, अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीका अनुसार सन्जयले नविनले चलाएको मोटरसाइकलले गत वैशाख ३० गते चाबहिलमा ठक्कर दिएको र उल्टै कुटपिट गरेको बताएका छन्। आफु नक्सालमा पढ्न जाँदा नविनलाई देखेपछि शुक्रबार राती साढे ८ बजेतिर उक्त काठमिलमा पछाडिको गेटबाट भित्र छिरेको बताएका छन् । उनले आफुले साथमा एउटा खुकुरी बोकेर लगेको र कुराकानी गर्न भनेर त्यहाँ पुगेको बताएका छन् ।

‘म पुग्दा नविन बस्ने ठाउँमा कोही पनि थिएनन्। खाना खान गएका रहेछन् । नवीन पछि आएर मलाई हप्काउँदै कुटपिट गरे । त्यसपछि नजिकै रहेको खुकुरीले उनलाई हानेको हुँ । त्यसपछि अरुले थाहा पाएकाले एकपछि अर्को गरि मारेको हुँ’, सन्जयले भनेका छन् ।

अनुसन्धान समितीका संयोजक राठोरले चारै जनाको हत्यापछि पनि सन्जय केही समय भित्रै बसेको र धोहीपखाली गरेको बताएका छन् । राठोरले दीपेन्द्र गेटमा कुरेर बस्दा पनि सन्जय भित्रै रहेको बताए ।

‘बाहिर मोटरसाइकलको उज्यालो देखेपछि र नवीनको मोबाइलमा लगातार फोन बजेपछि सन्जय त्यहाँबाट भागेको देखिन्छ’, एसएसपी राठोरले भने ।

सन्जयलाई पक्राउ गरेर टेकुस्थित परिसर कार्यालय ल्याएपछि दीपेन्द्रलाई पनि त्यहाँ पुर्याहईएको थियो। दीपेन्द्रले सन्जयलाई देखाएपछि उनलाई कहिल्यै आफुले नदेखेको बताएका छन् । उनले नविनले कहिल्यै मोटरसाइकल नकुदाएको र आफुले पनि कसैलाई ठक्कर नदिएको बताएका थिए ।

प्रहरीका अनुसार दीपेन्द्र मानसिक रुपमा निकै विक्षिप्त देखिएका छन् । ‘नविनलाई दीपेन्द्रले निकै माया गर्ने गरेको प्राविधिक अनुसन्धानबाट देखिन्छ। त्यसमाथी ४ जनाको हत्या आरोप लाग्दा उनी निकै विक्षिप्त देखिन्छन्’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

आफुलाई टेकु ल्याइएपछि सन्जयले प्रहरीलाई आफ्नो फोटो नखिच्न र समाचारमा बाहिर नल्याउन आग्रह गरेका थिए । पछि दोभाषेसँग उनले आफुले कतिबेला घर जान पाउने भन्दै सोधेको बुझिएको छ । दिदी भिनाजुसँग बस्दै आएका सन्जय घटनापछि पैदलै कोठा पुगेर सुतेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आफूले बेलाबखत गाँजा सेवन गर्ने गरेको उनले दोभाषेसँग बताएका छन् । ‘उनको कुरा सुन्दा मान्छे मारेपछि जेल गइन्छ भन्ने उनलाई थाहा छैन जस्तो सुनिन्छ। फेरी उनी १२ कक्षा पास भएको भन्छन्’, अनुसन्धान अधिकारी भन्छन् ।

‘हाकिम’ नहुँदापनि दुई काबिल अफिसरले दिलाएको सफलता

काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्री अहिले दक्षिण कोरियामा आयोजना भइरहेको एक कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरसहितको टोलीमा छन् । तर खत्रीको अनुपस्थितिमा पनि काठमाडौं प्रहरी परिसरले यति ठुलो हत्याकान्डमा रातारात अभियुक्त पत्ता लगाएर सार्वजनिक गरेको छ ।

अनुसन्धान समितीका संयोजक राठोरले आइतबार आयोजित पत्रकार सम्मेलनमा सुरुमै काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेल र डीएसपी अंगुर जिसीको नामै लिएर उनिहरुको तारिफ गरे ।

‘कार्य विभाजन गरेर अनुसन्धान भइरहेको थियो । त्यसअनुसार काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेल र डीएसपी अंगुर जिसीको मिहेनतले आज अभियुक्त पक्राउ पर्न सफल भएको छ’, एसएसपी राठोरले भने ।

नेपाल प्रहरीमा व्यावशायीक प्रहरी अधिकृतको छवि बनाएका ढुंगेल र जिसी दुवै जना हालसालै मात्र काठमाडौं प्रहरी परिसरमा दरबन्दी भएर भित्रिएका हुन् ।

गम्भिर किसिमका अपराधको अनुसन्धानमा उनिहरु पोख्त मानिन्छन्। विषेश गरी उनिहरुको नेतृत्वमा परिसरअन्तर्गत रहेको इन्टेलिजेन्स शाखाका काबिल अनुसन्धान अधिकारीको अथक मिहेनतले सफलता प्राप्त भएको बताइन्छ ।


प्रतिक्रिया

One thought on “४ जनाको सामूहिक हत्या आरोपबाट यसरी जोगिए दीपेन्द्र

  1. अनि अन्त्यमा लेखकले पुलिसको प्रशंसा गरेको कि के गरेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *