यातायातको प्रिन्टरमा म्याच भयो नयाँ कार्ड, तर लाइसेन्स वितरणमा अझै समस्या – Nepal Press

यातायातको प्रिन्टरमा म्याच भयो नयाँ कार्ड, तर लाइसेन्स वितरणमा अझै समस्या

काठमाडौं । सवारी साधनको लाइसेन्सका लागि फरक कम्पनीको प्रिन्टरमा फरक कम्पनीको कार्ड म्याच भएको छ । यातायात व्यवस्था विभागले फरक कम्पनीको कार्ड ल्याउन सम्झौता गरेको थियो । प्रिन्टरले कार्ड म्याच भएर आपूर्ति गरेपछि मात्र भुक्तानी दिने सहमति सम्झौता छ ।

१२ लाख कार्ड आपूर्तिका लागि जर्मनी कम्पनी म्युहलबौयर आईडी सर्भिससँग सम्झौता भएको थियो । प्रिन्टर भने एमएसपी कम्पनीको हो ।

निरन्तर १ महिनाभन्दा पहिलेदेखि भएको परीक्षणमा गत शुक्रबार बेलुका फरक कम्पनीको कार्ड म्याच गर्न सफल भएको विभागका प्राविधिक टोली बताउँछन् । ४५ दिनभित्रमा ६ लाख कार्ड र बाँकी ६ लाख ८५ दिनभित्र नेपाल भित्रिने छ ।

यातायात व्यवस्था विभागको सूचना अधिकारी इश्वरीदत्त पनेरुले अब धेरैमा डेढ महिनाभित्र स्मार्ट लाइसेन्समा प्रयोग हुने कार्ड आउने बताए ।

उनले भने, ‘लामो समयदेखि फरक कम्पनीको प्रिन्टर र फरक कम्पनीको कार्ड भएकाले म्याच गर्छ कि गर्दैन भन्ने विषयमा परीक्षण भइरहेको थियो । शुक्रबार बेलुका प्रिन्टरले नयाँ कार्ड सपोर्ट गरेको छ । सम्झौताअनुसार टेन्डर पाएको कम्पनीले २ चरणमा कार्ड ल्याउने भनेको छ । पहिलो चरणमा ४५ दिनभित्र ६ लाख कार्ड ल्याउने सम्झौता भएको छ । दोस्रो चरणमा ८५ दिनभित्र बाँकी रहेको ६ लाख कार्ड त्यो कम्पनीले ल्याइदिने छ । अब त्यो कम्पनीले जुनसुकै बेला पनि कार्ड ल्याइदिन सक्छ ।’

कार्ड आपूर्तिकर्तालाई अहिलेसम्म रकम भुक्तानी नदिइएको साथै परीक्षणमा पनि कुनै खर्च नलागेको उनको भनाइ छ । चालू आर्थिक वर्षमा नै २० लाख कार्ड र प्रिन्टर किन्ने योजना विभागको छ ।

विभागसँग हाल महिनामा १ लाखमात्रै कार्ड छाप्न सकिने क्षमताको प्रिन्टर छ । विदेशी कम्पनीले ६ लाख कार्ड एकै पटकमा ल्याएर दिएपछि छिटो छापेर वितरण गरौं भन्न सक्ने अवस्था छैन । नयाँ प्रिन्टर खरिद नहुँदासम्म अहिले आउन लागेको कार्ड छाप्न नै १ वर्ष लाग्ने पनेरुने बताए ।

नयाँ स्मार्ट लाइसेन्स दिन नसकेपनि देशभरबाट नै नयाँ लाइसेन्सको लागि लिखित र ट्रायल चलिरहेको छ । ट्रायल पास गरेकाहरूले यातायात कार्यलयहरुले दिएको सिल्प बोकेर हिँडिरहेका छन् ।

ट्रायल पास गरेका र पुरानो सवारी चालक अनुमति पत्र नवीकरण गर्न दिएका करिब १० लाखले लाइसेन्स पाएका छैनन् । भने, अहिले विभागले विदेशमा अध्ययन गर्न जाने, ड्राइभिङमा जाने र कुनै ठाउँमा लाइसेन्स पेस गर्न आवश्क रहेकाहरुलाई १ दिनमा नै लाइसेन्स प्रिन्ट गरेर दिरहेको पनेरुले नेपाल प्रेससँग बताए ।

अहिले विभागसँग मौज्दात रहेको ३५ हजार कार्ड तत्काल लाइसेन्स चाहिएकालाई दिइँदै आइएको छ ।

प्रत्येक प्रदेशले आफैँले लाइसेन्स प्रिन्ट गरेर आफ्ना सेवाग्राहीहरूलाई वितरण गर्नुपर्नेमा अहिले केन्द्रको नै भर छ । बागमती, कोशी, गण्डकी र मधेश प्रदेशले भने प्रिन्टर खरिद गर्ने भनेर चालू आवमा बजेट राखेका छन् । भने बाँकी ३ प्रदेशले अझै लाइसेन्स प्रिन्ट गर्ने प्रिन्टरको विषयमा केही काम गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *