रुपान्तरण अभियान लिएर जनताकाे घरघरमा पुग्दै माओवादी, नेताहरू भन्छन्- परीक्षा दिँदैछाैं – Nepal Press

रुपान्तरण अभियान लिएर जनताकाे घरघरमा पुग्दै माओवादी, नेताहरू भन्छन्- परीक्षा दिँदैछाैं

सचिव कार्कीको स्वीकार - नेताहरू आफ्नो वर्ग छाडेर व्यापारी, ठेकेदार र दलालहरूसँग अंकमाल गर्न पुगे

काठमाडौं । कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे । अभियानअन्तर्गत माओवादी नेता कार्यकर्ता पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्यका साथ गाउँगाउँ खटिएका छन् ।

शान्तिप्रक्रियामा आइसकेपछि जनतासँग बढेको दूरी मेट्नको लागि जनताको गुनासो जनताकै ठाउँमा गएर सुन्न भन्दै माओवादी नेता घरघर धाइरहेका छन् । १० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीले ६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो ।

२०६४ सालदेखि ०७९ सम्म आइपुग्दा यो पार्टी एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ । ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले समानुपातिकसमेत गरी ३२ सीटमा खुम्चियो ।

पार्टी निरन्तर खुम्चिएपछि माओवादीले सत्ता छाड्न सकेको छैन । संसदीय राजनीतिमा तेस्रो तर निर्णायक शक्ति बनेर अहिले पनि कहिले एमाले त कहिले कांग्रेससँग मिलेर भएपनि प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा काम थालेर केही सकारात्मक सन्देश दिएको निचोडसहित मौका छोपेर माओवादीले रुपान्तरण अभियान गरेको हो ।

युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि सत्ताबाहिर नबसेको माओवादीभित्र अभियान चलाइए पनि नेताहरूको कार्यशैली परिर्वतन नगरेसम्म पार्टी रुपान्तरण हुन नसक्ने स्वयं नेता कार्यकर्ता स्वीकार्छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा भ्रष्टीकरण बढेको बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टीका भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । काम गरेको कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर, पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।’

उनले जनतासँग पार्टीको सम्बन्ध कमजोर हुदै गएको बताए ।

‘पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्‍यो । विधान अनुकूल सामूहिक चलाउनुपर्‍यो’, उनको भनाइ थियो, ‘विधिसम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्‍ यो। कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नसके मात्रै पार्टी रुपान्तरण हुन्छ ।’

जुन कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि पार्टीका नेताहरू पद र पैसाका लागि जे पनि गर्न तयार भए हुन थालेको आरोप लगाएका थिए ।

साउनको दोस्रो साता बसेको केन्द्रीय समितिको बैठकमा पारित प्रतिवेदनमा भनिएको थियो, ‘आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्य क्षेत्र र जनतामाझ नजाने, सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने समस्या छ ।’

अहिले पनि माओवादी नेताहरूमाथि आर्थिक जीवनशैलीप्रति आमरूपमा प्रश्न उठेको सचिव राम कार्की बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो पार्टी ओरालो यात्रामा छ । नेतृत्व तहबाटै हामी हाम्रो वर्गबाट कटेका आम स्वीकारोक्ति देखिन्छ । तर, कुनै पनि कमजोरीको महशुस शब्दमा गरेर हुँदैन व्यवहारमा गर्नुपर्छ । त्यो व्यवहारमा देखाउन सक्ला न सक्ला अहिले भन्न सकिँदैन ।’

माओवादी ओरालो यात्रा लाग्नुमा नेतृत्वबाटै कमजोरी भएको उनको भनाइ छ ।

‘अहिले नेताहरूमाथि मजदूर किसानको घरमा नजानू, व्यापारी, ठेकेदारको पछि लागेर हिँड्ने, दलालहरूसँग अंकमाल गर्नु गरेको अहिले जनताले प्रत्यक्ष देखेका छन् । त्यही कमेन्ट गरिरहेका छन्’ उनले भने, ‘तर, त्यो रोग कहाँबाट आयो त ? विश्वभरीकै सर्वहाराका लागि रगत बगाउँछु जीवन दिन्छु भनेर हिँड्ने मान्छे आज सुन र पैसाको पछि किन लाग्यो भन्ने कारण पत्ता लगाउनुपर्छ ।’

तीन महिने अभियानलाई व्यवहारमा परिवर्तनमा ल्याउनको सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यसो त अहिले पार्टीले चलाएको अभियानले जनता, नेता, कार्यकर्तामा उत्साह पैदा भएको कर्णाली प्रदेश इन्चार्ज मातृका यादव बताउँछन् ।

उनले भने, ‘हामीले चलाइरहेको अहिलेको अभियानले जनतामा नयाँ उत्साह छाएको छ । पार्टी पहिलेकै अवस्थामा हामीले फर्काउन सक्छौं । त्यहीअनुसार हामी अभियानका खटिएका छौं ।’

उनले जनतामा अझैपनि माओवादीप्रति आशा नहटेको दाबी गरे । अभियानको क्रममा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारलगायतमा घरघरमा पुगेर कुरा सुनिरहेको बताए । माओवादी केही बिग्रिन थालेपनि गाउँ फर्किएपछि अब जनताको पार्टी बन्ने उनको विश्वास छ ।

अभियानको सुरूआतसँगै जनतामा पार्टीप्रति सकारात्मक सन्देश आउन थालिसकेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल दाबी गर्छन् ।

गण्डकी प्रदेशको जिम्मेवारी सम्हालेको पौडेलले भने, ‘हामी जनताको घरघरमा जान थालेपछि केही न केही सुधारको संकेत हामीले पाउन थालिसकेका छौं । यहाँ हामीले सबै पालिकाको बैठक राखेर अहिले अभियान लिएर अघि बढिसकेका छौं ।’

सरकारले गरेको राम्रा कामले पार्टीमा उत्साह बढेको जिकिर गर्दै पार्टी आन्तरिक सुधारको सुरूआत भइसकेको सुनाए । पालिकामा केन्द्रित भएर संगठन विस्तार गर्ने सदस्यता नवीकरण गर्ने, जनताका घरघरमा जाने र पार्टीलाई पुनर्गठन गर्ने अभियानमा आफूहरू कन्द्रित रहेको उनको भनाइ छ ।

अभियानलाई परीक्षाको रूपमा आफूहरूले लिइएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।

उनले भने, ‘यो अभियानलाई हामी सबैका लागि परीक्षा हो । यो सफल बनाउने अभियानमा लागिरहेका छौं । अन्तिम परीक्षाको रूपमा लिएर जनताको घरघरमा खटिएका छौं ।’

उनले अभियानको क्रममा जनताको गुनासो सुन्नेदेखि पार्टीलाई जनता र उत्पादनसँग जोड्ने विषयमा केन्द्रित भइरहेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर