मेयर साम्पाङबारे उपमेयर वेघा भन्छन्- म २० वर्ष राजनीति गरेर आएको हुँ, उहाँ फुत्तै आउनुभयो (भिडिओ) – Nepal Press
नेपाल टक

मेयर साम्पाङबारे उपमेयर वेघा भन्छन्- म २० वर्ष राजनीति गरेर आएको हुँ, उहाँ फुत्तै आउनुभयो (भिडिओ)

‘मेयर साम्पाङको चर्चाको मैले आरिस गरेर भयो त ?’

धरान । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भए । एमालेका पदमप्रसाद लिम्बूलाई पराजित गरेर उपमेयरमा निर्वाचित भएका वेघा उस्तो चर्चामा भने छैनन् ।

स्वतन्त्र उम्मेदवार एवं धरानका मेयर हर्क साम्पाङ निरन्तर चर्चा र विवादको केन्द्रमा रहँदा वेघा भने ओझेलमा छन् । त्यसो त साम्पाङले विभिन्न राजनीतिक दलहरुबाट निर्वाचित सबै जनप्रतिनिधिलाई नै छायाँमा पारिरहेका छन् । उपमेयर वेघा भने कसैको चर्चाले कोही पनि छायाँमा नपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘वर र पिपलमा दुवैको आआफ्नै महत्व हुन्छ । वरले पाएको चर्चाले पिपलको महत्व घटाउँदैन ।’

धरान उपमहागरका जनप्रतिनिधिहरु र मेयर साम्पाङबीच भित्रभित्रै शीत युद्धसमेत चलिरहेको छ । साम्पाङले आफूखुशी र मनोमानी ढंगले निर्णय गर्ने गरेको आरोप राजनीतिक दलका जनप्रतिनिधिहरुको छ । तर, मेयर साम्पाङ भने आफ्नै सुरमा हिँडिरहेका छन् । साम्पाङको कार्यसम्पादन र धरान उपमहानगरको वस्तुस्थितिलाई लिएर नेपालप्रेसले उपमेयर अइन्द्रविक्रम वेघासँग गरेको कुराकानीको सम्पादित अंश :

– मेयर हर्क साम्पाङसँग तपाईंको व्यक्तिगत सम्बन्ध अहिले कस्तो छ ?

हाम्रो सम्बन्ध द्वन्द्वात्मक छ । सहीलाई सही र गलतलाई गलत भन्ने हो । सही कामलाई समर्थन गर्ने हो । गलत कामलाई विरोध गर्ने हो ।

– मेयर साम्पाङ सामाजिक सञ्जालमा एकदमै धेरै सक्रिय हुनुहुन्छ । कतिपय आलोचकले उहाँलाई सनकी र घमण्डी पनि भन्छन् । तपाईंको बुझाइमा उहाँ कस्तो खालको मान्छे हो ?

मैले उहाँको व्यक्तिगत स्वभावबारे टिप्पणी गर्न चाहिनँ ।

– उहाँको स्वभाव र कार्यशैलीले एक लाख ७३ हजार धरानवासीलाई त असर गर्न सक्छ नि ?

उहाँको स्वभाव, उहाँका व्यक्तिगत र शैलीगत कुराहरुमा टीकाटिप्पणी नगरौं । उहाँको स्वभाव, शैलीबारे त आम पब्लिकले बुझ्ने कुरा हो । उहाँको स्वभावले पब्लिकलाई कति असर परेको छ, नगरलाई कति असर परेको छ, त्यो उहाँले समीक्षा गर्ने कुरा हो । मैले समीक्षा गरेर पनि भएन । मैले भनिदिएर पनि भएन ।

उहाँले ‘म सार्वजनिक व्यक्तित्व हुँ, मैले गरेका क्रियाकलापहरु, मेरा स्वभावहरु सार्वजनिक हुन् । यसले सार्वजनिक महत्व, अर्थ वा असर, प्रभाव पार्छ’ भनेर बुझ्नुपर्छ । त्यो कुरा उहाँले बुझ्नुहोला । तर, उहाँबारे टिप्पणी गरेर यो ठीक वा बेठीक भनेर जज गरिहाल्ने पक्षमा म छैन ।

– सहकार्य कतिको सहज वा असहज भइरहेको छ त ?

कतिपय कुराहरु सल्लाह गरेर पनि गर्छौं । कतिपय सल्लाह नगरिएका कुराहरु उहाँले सल्लाह गर्नुभएन है भनेर भन्छौं ।

– भनेपछि सहकार्य त्यति सहज तरिकाले भइरहेको छैन ?

यसलाई सहज भन्न मिल्दैन, असहज भन्न पनि मिल्दैन । म चाहिँ आवश्यकताको आधारबाट सम्बन्ध कायम गरेर अगाडि बढिरहेको छु ।

हाम्रो सम्बन्ध भनेको व्यक्तिगत होइन, धरानको विकास र समृद्धिको सम्बन्ध हो । विकास र समृद्धिसँग सम्बन्धित सम्बन्ध भएकैले मैले त्यही ढंगले नै ट्रिट गर्ने, सम्झाउने, बुझाउने गर्छु । बाँकी उहाँको कुरा हो । उहाँले मनन गर्ने कुरा भयो । उहाँलाई यो गर, त्यो गर भन्ने कुरा रहेन । मैले आफ्नो ढंगले सल्लाह सुझाव दिने काम त गरेकै छु ।

– धरानमा २० जना वडाध्यक्षसहित थुप्रो जनप्रतिनिधिहरु हुनुहुन्छ । तथापि मेयर साम्पाङले नै एक्लै उपमहानगर हाँकिरहेको जस्तो देखिन्छ नि ?

पहिलो कुरा त परिणाममा हेरिन्छ । परिणाममा के भइरहेको छ भनेर निर्क्योल गरेपछि मात्रै निष्कर्ष निकाल्न सकिन्छ । अहिले मैले केही भनिनँ । तर, एक्लै त दुनियाँमा कहीं पनि चल्दैन । एक्लै चल्यो भने कि दुर्घटनामा गयो कि त कता के हुन्छ, पत्तो हुँदैन ।

हामी सामूहिकतामै जाने हो, जानुपर्छ । उहाँले के गर्दै हुनुहुन्छ भन्ने कुरा पब्लिकले बुझ्ने कुरा हो । तर, नगर प्रमुखको जिम्मेवारी भनेको आफ्नो तहमा सबैलाई जोड्ने हो । धरानमा रहेका सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु, प्रदेश सांसद, संघीय सांसद, यो तहभित्र रहेका प्रशासनिक इकाइहरु सबैलाई जोडेर अगाडि बढ्नुपर्ने जिम्मेवारी हो नगर प्रमुखको । त्यो उहाँले गर्नुपर्छ ।

– अहिलेसम्म गर्नुभएको छ कि छैन ?

अब गर्नुपर्छ ।

– मेयर साम्पाङ निर्वाचित भएदेखि नै राष्ट्रिय रुपमा चर्चामा हुनुहुन्छ । त्यो चर्चाबीच आफू छायाँमा परे जस्तो लाग्छ कि लाग्दैन तपाईंलाई ?

वर र पिपल सँगै हुन्छन् । तर, वरको आफ्नै महत्व हुन्छ । पिपलको आफ्नै महत्व हुन्छ । कोही वर देख्ने हुन्छन्, कोही पिपल नदेख्ने हुन्छन् । कोही पिपल देख्छन्, वर देख्दैनन् । यो समाज पनि यस्तै छ नि !

हामी सामूहिकतामै जाने हो, जानुपर्छ । उहाँले के गर्दै हुनुहुन्छ भन्ने कुरा पब्लिकले बुझ्ने कुरा हो । तर, नगर प्रमुखको जिम्मेवारी भनेको आफ्नो तहमा सबैलाई जोड्ने हो । धरानमा रहेका सबै राजनीतिक दल, सामाजिक संघसंस्थाहरु, प्रदेश सांसद, संघीय सांसद, यो तहभित्र रहेका प्रशासनिक इकाइहरु सबैलाई जोडेर अगाडि बढ्नुपर्ने जिम्मेवारी हो नगर प्रमुखको ।

अहिले योबारे मैले धेरै भनिनँ । संविधानले प्रमुख र उपप्रमुखको कार्यक्षेत्र विभाजन गरिदिएको छ । योजना अनुगमनमा मलाई हस्तक्षेप गर्नुभएको छैन । न्याय समितिमा मलाई हस्तक्षेप गर्नुभएको छैन । बजार अनुगमनमा मलाई हस्तक्षेप गर्नुभएको छैन । मैले गर्ने कामहरु यिनै हुन् । यी काममा उहाँले हस्तक्षेप गर्न पनि मिल्दैन । उहाँले गर्ने काम कारबाहीमा मैले हस्तक्षेप गर्न पनि मिलेन । योजना अनुगमनमा मैले गरेका निर्णयहरु उहाँले बदर गर्न पनि मिल्दैन । उहाँले गरेका निर्णयहरु मैले बदर गर्न पनि मिलेन ।

– भनेपछि उहाँले जे गरे पनि भयो ?

सल्लाह गर्नुपर्ने कुराहरु सल्लाह गरे भयो । उहाँको एकल अधिकारले प्राप्त गरेको काम उहाँले गरे भयो । छायाँमा पारिएको कुरा गर्नुभयो, मान्छे भनेको त आरिसे जात हो । अर्काको प्रगतिमा मान्छे दुःखी हुन्छन् । मान्छे जल्ने गर्छन् । तर, मेरो स्वभाव त्यस्तो छैन ।

उहाँ नगर प्रमुख हो, त्यही परिवेश र प्रकृतिबाट आउनुभयो । उहाँ त्यसरी नै चर्चाबाट आउनुभएको हो । म दलबाट निर्वाचित भएर आएको हो । मेरो आफ्नैखाले भूमिका छन् । म उपमेयर हुन २० वर्ष विद्यार्थी राजनीति गरेर आएको मान्छे हो । म एकाइ कमिटीमा बसें, नगर कमिटीमा पुगें । जिल्ला कमिटीमा पुगें । केन्द्रीय सदस्य बनें ।

मैले सबै खालका परिवेश र परिस्थिति देखेको छु । सबैथोक हेर्दै आएको छु । अनेक हण्डर खाएर आएँ । मेयरसाप निश्चित प्रक्रियाबाट समाजको विकृति, विसंगतिमाथि अलिअलि प्रश्न उठाउँदाउठाउँदै फुत्त आउनुभयो । उहाँ फरक पृष्ठभूमिबाट आउनुभयो । त्यसैले चर्चा त हुने नै भयो । मेरो पृष्ठभूमिबाट आउनेहरु त थुप्रो हुनुहुन्छ । देशैभरि हुनुहुन्छ । अब उहाँको चर्चा बढी हुन्छ । मैले त्यो चर्चाको आरिस गरेर भयो त ? जलेर भयो त ?

– अनि चर्चा हुनु नै ठूलो कुरा हो र ?

परिणाम मुख्य कुरा हो । त्यसबारे म बोल्दिनँ ।

– तपाईंको उपमहानगरमा गएको आर्थिक वर्षमा निकै ठूलो बजेट फ्रिज भएको देखिन्छ । तपाई पक्कै सन्तुष्ट त हुनुहुन्न होला ?

बजेटको आकारप्रकार अवस्थाअनुसार हामीले गरेको काम त ठीकै छ । हामीसँग जे छ, त्यही गर्ने होला नि ! बजेट बनाउँदा केही नर्म्सहरु हुन्छन् र बजेट फ्रिज हुने हो । राज्यले बनाएकै बजेट हेर्नु न ! सय प्रतिशत त काम हुन सम्भव छैन । बजेट कार्यान्वयन गर्दै जाँदा अनुमानित राजस्व कम उठ्यो भने के गर्ने ? अनुमानित आम्दानी कम भयो भने के गर्ने ? परिणाममा हामी उत्कृष्ट हुन बल गर्नुपर्छ । हामीले खर्च गरेको बजेटसँग असन्तुष्ट म छैन ।

संविधानले प्रमुख र उपप्रमुखको कार्यक्षेत्र विभाजन गरिदिएको छ । योजना अनुगमनमा मलाई हस्तक्षेप गर्नुभएको छैन । न्याय समितिमा मलाई हस्तक्षेप गर्नुभएको छैन । बजार अनुगमनमा मलाई हस्तक्षेप गर्नुभएको छैन । मैले गर्ने कामहरु यिनै हुन् । यी काममा उहाँले हस्तक्षेप गर्न पनि मिल्दैन ।

– तपाईं २० वर्ष राजनीति गरेर उपमहानगरमा आउनुभयो । मेयर साम्पाङ अलि छोटो समयमै उपमहानगरको नेतृत्वमा आउनुभयो । तपाईंको अनुभवको हिसाबले मेयरसँग सहकार्य गरेर सिस्टमलाई सही तरिकाले कार्यान्वयन गर्न कतिको सहज र असहज भइरहेको छ ?

कोही मान्छे कस्तो छ भन्ने कुराबाट अर्कोले गर्ने व्यवहारको निर्क्योल हुन्छ । कोही मान्छेले परिस्थितिलाई अनुकूल बनाउँछन् या परिस्थिति अनुकूल बनेर जान्छन्, त्यो चाहिँ मुख्य प्रश्न हो । म चाहिँ प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन ट्रेनिङ लिएर आएको मान्छे हो । प्रतिकूलताभित्र अनुकूलता खोज्दा कति कुरा मिलाएर लिएर जान सकिन्छ । तर, अनुकूलतामात्रै जीवनमा देखेर प्रतिकूलतालाई सहन नसक्ने मान्छे त कतै पनि टिक्दैन । मेयरसापसँगको प्रतिकूलतालाई अनुकूलतामा ढालेर जाने मान्छे हो म ।

– मेयर साम्पाङ सनकी भए, आफूभन्दा जान्ने कोही छैनन् भन्छन् भनेर आलोचना पनि गरिन्छ । साथै राजनीतिक पार्टीको तुलनामा जे गरिरहेका छन्, ठीक गरिरहेका छन् भन्नेहरु पनि छन् । उहाँको कार्यशैलीलाई कसरी हेर्नुहुन्छ ?

मेयरसापले समाजले नपचाएका गतिविधि र क्रियाकलाप छन् भने सच्याएर जानुपर्छ । हामी मान्छे हौं, त्यसैले सधैं सत्य भइरहँदैनौं । कहिलेकाहीं भ्रममा पर्छौं । त्यसलाई रोक्न करेक्सन गरेर पनि जानुपर्छ । पक्ष र विपक्षमा प्रश्न उठ्दाखेरि पक्षको प्रश्नलाई ग्रहण गरेर, विपक्षको प्रश्नलाई इन्कार गरेर हिँड्नु राम्रो हुँदैन । पब्लिकले यदि त्यस्तो कुरा उठाए र कतिपय कुरामा आलोचित भए भने सच्चिनुपर्छ उहाँ ।

उहाँका राम्रा कामलाई सहयोग गरेका छौं । पाइप बोकेका छौं । ढुंगा पनि बोकेका छौं । उहाँले सबै काम एक्लै गरेको हो भनेर भन्नुहुन्छ भने उहाँको कुरा हो । तर, उहाँको विश्लेषण पब्लिकले गर्ने कुरा हो । हामीले चाहिँ राम्रा कामलाई समर्थन गर्नुपर्छ भन्ने हो ।

– मेयर साम्पाङसँगको डेढ वर्षको अनुभव कस्तो रह्यो ?

हाम्रो सम्बन्ध द्वन्द्वात्मक छ । हामी कम्युनिष्टहरु परिस्थितिलाई दुई आँखाले हेर्छौं । एउटा राम्रो र अर्को नराम्रो । दुई परिस्थितिबाट हामीले अनुकूलता खोज्ने हो । त्यहाँबाट सकारात्मक कुरा निकाल्ने हो । उहाँसँगको आजसम्मको सम्बन्ध पनि त्यही हो । भोलि पनि त्यही हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर