ईयूका प्रतिनिधि नेपाल आउँदै, के नेपालको उडान ‘कालो सूची’बाट हट्ला ? – Nepal Press

ईयूका प्रतिनिधि नेपाल आउँदै, के नेपालको उडान ‘कालो सूची’बाट हट्ला ?

काठमाडौं । नेपालको उड्डयन कालो सूचीबारे पुनर्विचार गर्नु युरोपियन संघ (ईयू)का प्रतिनिधि नेपाल आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ईयूका प्रतिनिधि सेप्टेम्बर अन्तिम वा अक्टोबर पहिलो साता नेपाल आउने जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ईयू प्रतिनिधि ‘अनसाइट अब्जरभेसन’मा आउन लागेको बताए । ती प्रतिनिधिले अनसाइट अब्जरभेसनका लागि एउटा अन्तर्राष्ट्रिय उडान, एउटा आन्तरिक उडान र एउटा दुर्गममा उडान गर्ने जहाज छनोट गर्नेछन् ।

यो पटक आन्तरिक र बाह्य उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स ईयूका प्रतिनिधिको अब्जरभेसनमा पर्ने देखिएको छ । दुर्गम उडान गर्नेतर्फ श्री एयरलाइन्स पर्ने सम्भावना रहेको छ । यसअघि ईयूका प्रतिनिधिले बुद्ध एयर, समिट र एनएसटीको अवलोकन गरेका थिए ।

सूचना अधिकारी भुलले केही जहाज उनीहरु आफैंले छानेर अध्ययन गर्ने भए पनि सबै जहाज आफ्नो ठाउँमा अब्जरभेसनका लागि तयार भएर बसेको बताए । ईयूले जहाजको अनसाइट अब्जरभेसन गर्छ भने अडिट अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले गर्छ । सन् २०१३ डिसेम्बरबाट ईयूको आकाशमा नेपाली जहाजको उडान प्रतिबन्ध छ ।

हरेक वर्षको मे र नोभेम्बरमा ईयूले सेफ्टी कमिटीको बैठक गर्छ । गत मेमा भएको बैठकमा नेपाललाई सेफ्टी लिस्टमा राखिएको थियो । तर, यो पटक नोभेम्बरमा हुने बैठकले सेफ्टी लिस्टमा पार्ने सम्भावना न्यून रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

नेपालमा चार महिनामै पाँच वटा उडान दुर्घटनामा परिसकेको छ । यसले पनि ईयूको कालोसूचीबाट हट्ने सम्भावना अत्यन्तै न्यून रहेको ती अधिकारीहरु बताउँछन् ।

प्राधिकरणका सुचना अधिकारी भुल भन्छन्, ‘हामीले नियामकको हैसियतले गर्नुपर्ने सबै काम गरेका छौं । कार्यविधि, निर्देशिका बनायौं । तर, केही हेलिकप्टर दुर्घटनाको कारण हामीले गरेको राम्रो काम छायाँमा पर्‍यो ।’

प्राधिकरणले कालोसूचीबाट हट्ने आश भने अझै बाँकी रहेको जनाएको छ । यदि ईयूले नेपालका जहाजको सञ्चालनमा प्रतिबन्ध लगाए अहिले सञ्चालनमा रहेका सबै हेलिकप्टर र जहाज ईयूको खतराको सूचीमा पर्नेछन् । हाल नेपालमा २१ वटा वायुसेवा कम्पनी रहेका छन् ।

प्रतिबन्ध कायमै रहे युरोपियन युनियन देशका मानिस नेपाल आएर यहाँको हेलिकप्टर चढ्दा बढी मूल्यको बीमा गराउनुपर्ने हुन्छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूले युरोपमा उडान गर्न पाउँदैनन ।

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले दक्षिण एसिया र एसियाका मुख्य गन्तव्यमै बजार विस्तार गर्ने चुनौती खेपिरहेका छन् । उनीहरुलाई युरोपियन युनियनसम्मको उडानमा खासै मतलब नभए पनि नेपालको साखको विषय भएकाले कालोसूचीबाट हट्नुपर्ने तर्क प्राधिकरणका अधिकारीहरुको छ ।

सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ । सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना भएको थियो । सन् २०११ मा एउटा र सन् २०१२ मा दुइटा विमान दुर्घटना भएको पृष्ठभूमिमा त्यस्तो प्रतिबन्ध लागेको थियो । ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आईकाओको प्रतिवेदनलाई आधार मानेको थियो । त्यसयता नेपालमा विमान दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । वैशाख २१ गते संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जेठमा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्निअटर ‘नाइन एनएईटी’ जहाज मुस्ताङको थसाङ- २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

यस्तै असार २६ गते मनाङ एयरको हेलिकप्टर जहाज दुर्घटनामा परेको थियो । त्यसमा सवार सबैको ज्यान गएको थियो । २०७९ चैत २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटनामा परेको थियो । यस्तै २०७९ चैत २६ गते धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । चैत, बैशाख, जेठ र असार गरी चार महिनामा ५ वटा हवाई दुर्घटनामा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *