हर्क साम्पाङ बच्चा जस्तै छन्, उनको कार्यसम्पादन कच्चा छ: पूर्व उपमेयर भण्डारी (भिडिओ) – Nepal Press
नेपाल टक

हर्क साम्पाङ बच्चा जस्तै छन्, उनको कार्यसम्पादन कच्चा छ: पूर्व उपमेयर भण्डारी (भिडिओ)

धरान । एमाले नेतृ मञ्जु भण्डारी २०७४ सालको स्थानीय निर्वाचनमा धरान उपमहानगरको उमपेयरमा निर्वाचित भइन् । मेयरमा निर्वाचित भएका थिए तारा सुब्बा । तर, तारा सुब्बाको कार्यकाल पूरा नगरिकनै निधन भयो । यसपछि दुई वर्ष मञ्जुले कार्यबाहक मेयर भएर उपमहानगरको बागडोर सम्हालेकी थिइन् ।

गएको २०७९ सालको स्थानीय निर्वाचनमा भण्डारी एमालेको तर्फबाट मेयरको उम्मेदवार थिइन् । तर, १२ हजार मत ल्याउँदै तेस्रो स्थानमा रहिन् । हर्क साम्पाङ मेयरमा निर्वाचित भए ।

बीचमा भण्डारीसँग मेयर साम्पाङको वाक युद्ध पनि चल्यो । साइबर अपराधीका कारण वाक युद्धमा पुगेका साम्पाङ र भण्डारी साइबर व्युरोसम्म पुगेका थिए । तर, भण्डारीले सुरुवातीकालदेखि नै मेयर साम्पाङले गर्ने गरेका गलत निर्णयहरुको आलोचना गर्दै आएकी छन् । गएको भदौ ९ गते सुनसरी जिल्ला प्रशासनले धरानमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थाको कारक पनि साम्पाङ नै रहेको भण्डारीको बुझाइ छ । उनका अनुसार यदि साम्पाङले उपमहानगरको अभिभावकको रुपमा राम्रोसँग समन्वय गरिदिएको भए जिप्रकाले निषेधाज्ञा लगाउन नपर्ने भण्डारीको तर्क छ ।

यिनै यावत् विषयमा नेपालप्रेसले पूर्वउपमेयर मञ्जु भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंशः

– धरानमा सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव विथोलिएको हो कि भनेर निकै चर्चा र चिन्ता भइरहेको स्थिति छ । यसलाई कसरी हेरिरहनुभएको छ ?

धरान जननताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको शहर हो । धराने जनता आफैंले निर्माण गरेको शहर हो यो । कुनै समय पूर्वी पहाडका जोसुकैलाई धरान जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । स्वास्थ्य, शिक्षाको केन्द्रको रुपमा पनि विकास भएको शहर हो, धरान ।

तर, अहिलेको चर्चाको विषय भने धार्मिक र सांस्कृतिक छ । इतिहासदेखि नै धरान बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समुदायले बसोबास गर्दै आएको शहर हो । धरानमा मिश्रित समाज छ । चण्डी नाच्न हामी जान्छौं । लाखे नाच्न हामी पनि जान्छौं । इद, छठ पर्वमा हामी सबै धर्म, समुदायका मान्छे पुग्ने गरेका छौं । तीज पनि सबैले मनाउँछौं । क्रिसमस पनि सबैले नै मनाउँछौं ।

यहाँ एक अर्काको संस्कृति, पर्वहरुलाई ग्रहण गर्दै आएको छ हरेक समुदायले । अर्को समुदायको संस्कृतिलाई आत्मीकरण गरेर स्वीकार गर्दै आएको छ धरानले । तर आज एकले अर्कोलाई आफ्नो संस्कृति मनाउने कुरामा अति गर्न थाल्यौं भने चाहिँ सबैलाई खति हुन्छ ।

– बाहिरबाट हेर्दा धरान जटिल बनेर गएको देखिन्छ । यहाँको माहोल के छ ?

सामाजिक सञ्जालमा गोरु काटेर खाएको घटनाले के हो के हो भन्ने खालको प्रश्न चाहिँ उब्जेको थियो । अर्कातिर चर्च बनेको विषय थियो । मान्छेले गोरु काटेर खायौं भनेर सञ्जालमा पोस्ट गरेपछि प्रश्न त उठ्छ नि ! यसरी सञ्जालमै हाल्न चाहिँ ठीक थिएन ।

धरानमा गोरु कसले खाँदैन ? म उपमेयर हुँदा मासु बिक्री भएपछि हड्डी, फोहोर कसरी व्यवस्थापन हुन्छ भनेर जिम्मा लिएको मान्छे हो । वधशाला व्यवस्थित हुनुपर्छ भनेर लागेका थियौं । आज धरानमा कहाँ कहाँ गोरु काटिन्छन्, हामीलाई थाहा छैन र ? नकाटेका त छैनन् नि !

यी घटनाले धरानमा भावनात्मक रुपमा हिंसा भड्किने हो कि भन्ने थियो । तर, सबै साथीहरुले संयमता अपनाउनुभयो । खासमा चर्च तोड्दै हिँड्छु भन्नु पनि अतिवाद हो । गोरु खान्छु भनेर भिडियो सञ्जालमा हाल्नु पनि अतिवाद नै हो ।

धरानमा गोरु कसले खाँदैन ? म उपमेयर हुँदा मासु बिक्री भएपछि हड्डी, फोहोर कसरी व्यवस्थापन हुन्छ भनेर जिम्मा लिएको मान्छे हो । वधशाला व्यवस्थित हुनुपर्छ भनेर लागेका थियौं । आज धरानमा कहाँ कहाँ गोरु काटिन्छन्, हामीलाई थाहा छैन र ? नकाटेका त छैनन् नि ! गोरु कहाँ काटिन्छन्, तिनका हड्डी, सिङ, टाउको, छाला कहाँ लगेर फ्याँकिएको छ, थाहा छैन र ? छ नि त ! जथाभावी काट्नु हुँदैन, सबै खालका मासुको व्यवस्थित वधशाला चाहिन्छ भनेर लबिइङ गर्ने मान्छे हो है म ।

– तपाईंको भनाइमा हिजो पनि काटेरै खान्थे । अहिले सार्वजनिक रुपमा खाए । गोरु काटेर खानलाई पनि व्यवस्थित वधशाला चाहिन्छ भन्नुभएको हो र ?

हामी विदेश जाँदा सबै फ्रोजन पाइन्छन् । विफ पाइन्छन् । विफ मेनु नै हुन्छ । हलाल मेनु नै हुन्छ । भेज मेनु पाइन्छ । नो विफ मेनु पाइन्छ । यो विश्वमा चलेकै विषय हो । काटिँदा पनि व्यवस्थित काटिनुपर्छ नि त ! गोरुमात्रै होइन, अन्य मासु पनि व्यवस्थित हुनुपर्छ ।

– हिन्दू समुदायले काट्नै हुँदैन भन्छन् । अर्को समुदायले संस्कारअनुसार हो भन्छन् । गोरु काटेर खाने विषय त अलि जटिल नै होला नि ?

सरकारको जिम्मेवारी भनेको मासु काट्ने ठाउँको वधशाला व्यवस्थित गर्ने हो । सबै खालका मासु खानेहरुलाई समान दृष्टिकोणले हेर्ने हो । के काट्ने, के नकाट्ने भन्ने कुरा त कानूनमै छ । तर, कानूनद्वारा बर्जित गरिएको कुरा सार्वजनिक रुपमा काट्दा कसैको संस्कृतिमाथि खुला चुनौती दिनु हो । त्यो चाहिँ क्षम्य हुँदैन ।

तर, समाज त इकोसिस्टमले चलेको हुन्छ । कतिपय कुराहरुलाई पूर्ण रुपमा वर्जित गर्दै जाँदा समाज चल्दैन । समाज चलाउन कतिसम्म लचकता अपनाउने भन्ने कुरा हो । जनजाति साथीहरु पनि संस्कारको कुरामा अलि लचक हुने हो । हिन्दू साथीहरु पनि कति लचक हुँदा समाजमा विग्रह आउँदैन, त्यति लचक हुने हो । कोही के खान्छन्, कोही के खाँदैनन् । म जीवनमै माछामासु नखाने मान्छे हो । बीच बाटोबाट चलेको छ नि त समाज ! समाजमा प्रतिकूलता सृजना गर्ने काम चाहिँ कसैले गर्नुहुँदैन ।

मलाई गाई काट्ने कुरा कस्तो कस्तो लाग्छ । जनजाति साथीहरुलाई पनि हामीले खानेकुरा खान नपाइने हो कि भनेर कस्तो कस्तो लाग्ला । यो विरोधाभाषपूर्ण छ । तर, यो समाज जसरी चलिरहेको छ, त्यसरी नै चलाउने हामीले । तर, यसलाई बक्ररेखामा लैजाने हो भने समस्या आउँछ ।

– गोरु काटेर खाइनुलाई सहज रुपमा लिने कि असहज रुपमा लिने हो ?

यो आआफ्नो सांस्कृतिक अधिकारको कुरा हो । एकातिर कानूनसम्मत त वर्जित गरिएको कुरा छ । तर, सांस्कृतिक अधिकारको कुरा पनि छ । त्यसलाई पनि व्यवस्थित गरिनुपर्‍यो । कानूनद्वारा वर्जित गरिएका कुरा गर्नैहुन्न भनेर भन्न सकिएन । कानून पालना गर्ने कुरामा कसरी भूमिका खेल्ने त्यो हामी सबैले जान्ने कुरा होला । संस्कृति संरक्षण गर्ने कुरामा पनि रोकतोक गर्ने कुरा भएन । कसैले खाने, कसैले नखाने हुँदा चोट पुग्ने कुरा हो ।

मलाई गाई काट्ने कुरा कस्तो कस्तो लाग्छ । जनजाति साथीहरुलाई पनि हामीले खानेकुरा खान नपाइने हो कि भनेर कस्तो कस्तो लाग्ला । यो विरोधाभाषपूर्ण छ । तर, यो समाज जसरी चलिरहेको छ, त्यसरी नै चलाउने हामीले । तर, यसलाई बक्ररेखामा लैजाने हो भने समस्या आउँछ ।

– धार्मिक आस्थासँग जोडिएको बालगोपाल मन्दिर र चर्चको विषय छ । यस विषयमा मेयर हर्क साम्पाङको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?

उहाँ यस उपमहानगरको अभिभावक हो । पहिलो कुरा त चर्चहरुको पनि विधिसम्मत व्यवस्थापन गर्नुपर्छ । विजयपुर विकास समिति बनाएर यस ऐतिहासिक ठाउँलाई धार्मिक सांस्कृतिक थलो बनाइनुपर्छ । यो ऐतिहासिक थालोमा माटोको पनि मूल्य छ । जग्गा जमिन बेच्दा पनि दुई सय मिटर धार्मिक क्षेत्रलाई छाडेरमात्रै विवतरण गर्न पाइन्छ । उत्खनन गर्दा स्काभेटर लाएर उत्खनन् गर्न पाइन्न । त्यहाँ पुरातात्विक सामान छन् । त्यहाँ बनाउनुपर्ने कुनै भवनलगायत केही छ भने पुरातात्विक हिसाबले बनाउनुपर्छ भन्ने छ ।

विजयपुर क्षेत्रको विकासमा ओभरल मास्टर प्लान बनाइसकेपछि मात्रै बाँकी कामहरु गर्नुपर्छ । भारतमा करिडोरहरु बनाइएका छन् । यहाँ पनि हामीले विशेष करिडोरको रुपमा विजयपुरलाई विकास गरेर लिएर जान सकिन्छ ।

धरानमा ८५-८६ वटा चर्च छन् । ती ठाउँमा चर्च बन्दा विरोध भएको थिएन । तर, बालगोपाल मन्दिरअघि चर्च बन्दा किन विरोध भयो भने त्यसले हिन्दू धर्ममा आस्था राख्नेहरुलाई बिझायो । यस्ता खालका समाजलाई विखण्डनमा ल्याउने, द्वेष सृजना हुने खालका घटनाहरु नभएकै राम्रो । यसमा मेयरको भूमिका महत्वपूर्ण रहन्छ ।

– अभिभावकको हिसाबमा मेयरले समन्वय नगरेको हो र ?

समन्वय नगरेकै देखिन्छ । पहल गरेको भए आजको स्थिति नै आउँदैन थियो । सानो झिल्को धरानमा सल्किँदै गर्दा त्यसले देशैभर डढेलो लगाउन सक्छ । कतिपय स्थानीय तहमा बुझाउन, सम्झाउन सकिने ठाउँमा उहाँले भूमिका खेल्ने हो । तर, उहाँले त्यो गर्नुभएन ।

– तपाईं उपमेयरमा निर्वाचित हुनुभयो । कार्यबाहक मेयर पनि बन्नुभयो । मेयर साम्पाङको प्रतिस्पर्धी पनि बन्नुभयो । अहिले मेयर साम्पाङले गरेको कामहरुको कार्यसम्पादन तपाईंको ठाउँबाट कसरी गर्नुहुन्छ ?

उहाँको कार्यसम्पादन कच्चा छ । बच्चा जस्तो छ । उहाँले गरेको काम एकदमै काँचो छ । मेयरले कुनै पनि क्षेत्रमा काम गर्दा गुरुयोजनालाई आधार बनाएर गर्ने हो । डीपीआर तयार गर्ने हो । प्राविधिकहरुसँग परामर्श लिने हो । जनप्रतिनिधि, व्युरोक्रेटस्सँग छलफल गर्ने हो । तर उहाँ त जे मनलाग्यो त्यही गर्ने, जता मन लाग्यो त्यतै कुद्ने गर्नुहुन्छ ।

विजयपुर विकास समिति बनाएर यस ऐतिहासिक ठाउँलाई धार्मिक सांस्कृतिक थलो बनाइनुपर्छ । यो ऐतिहासिक थालोमा माटोको पनि मूल्य छ । जग्गा जमिन बेच्दा पनि दुई सय मिटर धार्मिक क्षेत्रलाई छाडेरमात्रै विवतरण गर्न पाइन्छ । उत्खनन गर्दा स्काभेटर लाएर उत्खनन् गर्न पाइन्न । त्यहाँ पुरातात्विक सामान छन् ।

मेयर नगरको पहिलो मान्छे हो । जनतालाई सेवा सुविधा दिने कुरामा त्यहीअनुसार काम गर्नुपर्छ । लक्ष्य निर्धारण गरेर काम गर्नुपर्छ । त्यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग माग्नुपर्छ । निजी र दातृ निकायसँग समन्वय गरेर अगाडि जानुपर्छ ।

– मेयर साम्पाङ जे मनलाग्यो, त्यतै कुद्ने भन्नुभयो । उहाँले लहडी निर्णयमात्रै गरिरहनुहुन्छ र ?

अलिहेसम्म गरेको निर्णय त्यस्तै हो । अबका दिनमा के गर्नुहुन्छ, त्यो अर्को कुरा हो ।

– मेयर साम्पाङले कोकहाको पानी ल्याउनुभयो, त्यसलाई कसरी हेर्नुहुन्छ ?

कति पानी आयो ? सात करोड खर्च गरेर सात लाख लिटर पानी आयो । सात करोड पैसाले बोरिङ गरेको भए २० लाख लिटरको सातवटा बोरिङ हुन्थ्यो । सात वटाबाट एक लाख ४० लाख लिटर पानी आउँथ्यो । तर, उहाँले खर्चमात्रै बढी गर्नुभएको छ ।

– त्यो त जनश्रमदानबाट हो नि ?

खानेपानी बोर्डको पैसा पनि लगानी भएको छ । आजको दुनियाँमा श्रमदानको नाममा श्रमशोषण गर्ने कहिलेसम्म ? जनताको लागत त छ । श्रमदानको कामको बिलमा ज्याला भनेर किन लेखियो ? हिजो पनि धराने जनताको लगानी भएको थियो । तर, सात करोड खर्च गरेर सात लाख लिटर पानी आउनु कुन ठूलो कुरा भयो ?

– काठमाडौंमा तीसौं दशकदेखि मेलम्चीको पानी आउन सकेको छैन । धरानमा ९८ दिनमै आएको कुरालाई उपलब्धि नै मान्ने होला नि ?

पानी ल्याउने कुरा सराहनीय हो । यत्रो करोडौं रुपैयाँ खर्च गरेर ल्याएको कुरा हो । तर, यसरी ल्याइँदै गर्दा त्यसको लागत, प्रतिफल, लाभान्वित हुने संख्याको हिसाब हुन्छ । डीपीआर हुन्छ । प्रोजेक्टको अनुमान हुन्छ । अनिमात्रै काम अगाडि बढाइन्छ । तर, धरानमा आएको पानी आफैंमा शुद्ध पनि छैन । फिल्टर ट्यांकमा हालिएको छैन ।

जोखिम पनि धेरै छ । यो बर्खामा कति ठाउँमा रुखको फेदमा अड्काउँदै ल्याइएको छ । पहिरो गयो वा रुख ढल्यो भने समस्या आउँछ । हिउँदमा डढेलो लाग्यो भने अर्को समस्या आउँछ । जोखिम नै जोखिम छ । हामीले लगानी गर्दा दीर्घकालीन विकास हुने गरी, भविष्यमा काम लाग्ने गरी गर्नुपर्छ ।

– हर्क साम्पाङ निर्वाचित भएपछि तपाईंहरु सञ्जालमा वाक युद्धमा पनि उत्रनुभयो । सहकार्य गरेर अगाडि बढ्नुपर्ने ठाउँमा किन यस्तो भयो ?

मैले सहकार्य नगर्नुपर्ने कारण देखेको छैन । किन हो, उहाँका अनुयायीहरु सामाजिक सद्भाव भड्काउन प्रयासरत छन् । ती तत्वहरुले उहाँलाई पनि विथोलेको हुनसक्छ । अर्कोतिर मसँग सरसल्लाह माग्दा उहाँलाई दिन्छु नि त ! मैले दुई वर्ष कार्यबाहक मेयर भएर काम गरें । त्यो अनुभव त काम लाग्छ नि उहाँलाई !

उहाँप्रति मेरो कुनै दुर्भाव छैन । उहाँ असफल हुनु भनेको धरान असफल हुनु हो । उहाँ सफल मेयर हुनुहोस् भन्ने चाहन्छु । अझै पनि केही बिग्रेको छैन । अब चार वर्ष बाँकी छ । चार वर्षलाई योजनाबद्ध विकासको लागि पाइला चाल्नुहुनेछ भन्ने विश्वास छ । उहाँलाई शुभकामना छ ।


प्रतिक्रिया

One thought on “हर्क साम्पाङ बच्चा जस्तै छन्, उनको कार्यसम्पादन कच्चा छ: पूर्व उपमेयर भण्डारी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर