‘विद्रोहको फल त प्राप्त भएको छैन, ओली कमरेड सच्चिए एमालेसँग एकता गर्न तयार छौं’ – Nepal Press
नेपाल टक

‘विद्रोहको फल त प्राप्त भएको छैन, ओली कमरेड सच्चिए एमालेसँग एकता गर्न तयार छौं’

एकीकृत समाजवादीका नेता जोशी भन्छन्- गठबन्धनमा ल्याउन रास्वपासँग पनि वार्ता भइरहेको छ

कैलाली । शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी अहिले पनि नेकपा एकीकृत समाजवादी र नेकपा एमाले एक हुनुको विकल्प नभएको बताउँछन् । दुबै पार्टी अध्यक्षले विगतका विषयमा समीक्षा गरेर आगामी कार्यदिशा र रणनीति बनाउन सक्दा दुई पार्टी एक हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण पार्टी विभाजन भएको उनी बताउँछन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका संसदीय समितिका सभापति जोशीले पार्टी विभाजनको उपलब्धि भने प्राप्त नभएको बताए । उनै भानुभक्त जोशीसँग नेकपा एकीकृत समाजवादीको अहिलेको अवस्था र भावी रणनीतिको विषयमा गरिएको कुराकानी :

– भर्खरै शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको सभापति बन्नुभएको छ । तपाईंको पार्टीभित्र त तीव्र गुटबन्दी मौलाइरहेको छ भनिन्छ नि ! तपाईं कुन गुटमा पर्नुभयो ?

मलाइ त त्यस्तो लाग्दैन । लामो समय काम गरेको पार्टी नेकपा एमालेबाट विद्रोह गर्नुपर्ने अवस्था सृजना भयो । त्यसरी विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाइसकेपछि मेरो मन र दिमागमा अहिले पनि त्यस्तो कुनै समूह बनाउने वा बनाउनुपर्छ भन्ने छैन । अर्काे कुरा, राजनैतिक विचार र एजेन्डामा सबैका आआफ्नै तर्क र विश्लेषण हुनसक्छ । तर, त्यसलाई नै गुटबन्दी भन्न मिल्दैन ।

हिजो प्रतिगमनका विरुद्ध हामीले लडाइँ गरेका थियौं । त्यो बेला जसरी संविधानमाथि हस्तक्षेप भयो त्यही हस्तक्षेपविरुद्ध हामीले आन्दोलन गरेका हौं । विद्रोह नै गरेका हौं । अहिलेसम्म पनि त्यो अवस्था सुधार भएको हो कि होइनभन्दा त्यस विषयमा समीक्षा गर्ने हो । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने जुन विचार थियो, त्यसमा केही परिवर्तन भयो वा सुधार भयो कि भन्दा मलाई लाग्छ, उस्तै छ ।

– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा आत्मालोचना गरे र आगामी दिनमा सँगै जाऔं भनेर प्रस्ताव गरे भने एमाले र नेकपा एकीकृत समाजवादी एकै ठाउँमा आउने सम्भावना कतिको देख्नुहुन्छ ?

सामान्यतया विचारमा एकता भयो भने मिल्न सकिन्छ । नमिल्ने भन्ने होइन । हाम्रा त कतिपय आनीबानी, चालचलन, स्वभाव र काम गर्ने तरिका पनि धेरै फरक होइन । हिजो एउटै सङ्गठनबाट हुर्किएका, एउटै स्कुलिङबाट अगाडि बढेको हुनाले ठूलो विमति होइन ।

संविधान उल्लङ्घन गरेको एउटा घटनामात्रै हो । त्यसबाहेक पार्टी सञ्चालनका सन्दर्भमा पनि उहाँको अहमकारिता देखियो । घमण्ड देखियो । म हुँ, मबाहेक अरू कोही पनि होइन । मैले गरेको सबै ठीक हुन्छ । मैलेमात्रै व्यक्तिको मूल्याङ्कन ठीक गर्छु भन्ने जुन सोच बन्यो, त्यो प्रवृत्ति ठीक नभएरै पार्टी आज यो ठाउँमा पुगेको हो । यो देश र पार्टी यहाँ पुग्नुको पछाडि हाम्रो पनि केही हिस्सा होलान् । तर, मूल रुपमा हेर्न हो भने तत्कालीन नेतृत्व केपी शर्मा ओलीले म होइन भनेर भन्न सक्छन् त ?

गठबन्धनका नेताहरूले पनि गठबन्धनको मूल्य मान्यताअनुसार अगाडि बढेको देखिँदैन । एकातिर भत्कियो, अर्काेतिर बनायो । फेरि अर्काेतिर भत्किन्छ, त्यहाँ बनाउनु पर्छ । पार्टीभित्रै त एक ढङ्गको कुरा हुँदैन । फेरि यो त गठबन्धन हो । यसमा पनि एउटा विधि, पद्धति बनाउनुपर्ने हुन्छ । विधि, पद्धति नबसाल्दा बिहान एउटा समस्याको समाधान गर्न नपाउँदै बेलुकी अर्काे समस्या आइहाल्छ ।

दुई तिहाइको सरकार, राम्रो पार्टी बनेको थियो । सरकार र पार्टी दुवैको नेतृत्व उहाँले नै गर्नुभएको थियो । आज यो स्थानमा पुर्‍याउनुमा सबैभन्दा बढी जिम्मेवारी त उहाँकै हो नि ! उहाँले विधि, पद्धति त मान्नुपर्ला नि ! विधि पद्धति नमानेरै पार्टी कमिटी पनि विघटन गर्नुभयो । प्रतिनिधिसभा पनि विघटन गर्नुभयो ।

– अहिले पनि नेकपा एकीकृत समाजवादीका एक थरीका नेता कार्यकर्ता ओलीसँग कुण्ठा राखेर बसिरहेका छन् । अर्का थरीका नेता कार्यकर्ताहरू पार्टीमा भविष्य छैन भनेर एमाले फर्किइरहेका छन् । तपाईंहरूलाई एमाले फर्किरहेका नेता कार्यकर्ताको संख्या देखेर आफ्नो पार्टी रित्तिने खतरा भइरहेको आभास हुँदैन ?

पछिल्लो घटनाक्रम हेर्दा र तपाईंहरूले सुन्दा त्यस्तो पनि लाग्दो रहेछ । कतिपय साथीहरूलाई त्यस्तो परेको पनि होला । हाम्रो पार्टी अस्तिको चुनावमा राष्ट्रिय पार्टीको रुपमा आउन सकेन । त्यसपछि अहिले पनि विभिन्न ठाउँमा जिम्मेवारी नपाएर वा निराशाले पनि होला, उहाँहरू फाट्टफुट्ट गएको पनि देखिन्छ । अहिले नेता दुईचार जना कहाँ जान्छन्, त्यसले पार्टीलाई ठूलो असर पर्दैन ।

– तपाईंको पार्टीलाई त नेताहरूको मात्रै पार्टी हो भन्ने आरोप छ नि ! प्रतिनिधिसभा निर्वाचनमा ३ लाख मत आउन सकेन, त्यो पनि गठबन्धन गरेर । त्यसमाथि नेताहरूले पार्टी छोड्न थाल्दा त एकीकृत समाजवादीको भविष्यमा बादल मडारिएको जस्तो लाग्दैन ?

त्यही त मैले भनिरहेको छु, नेताको मात्रै हिसाब गर्ने हो भने अस्ति तनहुँमा कति धेरै नेता थिए भन्नुस् न ! धेरै नेता भएर चुनाव जितिने भए त तनहुँमा जितिन्थ्यो, चितवनमा जितिन्थ्यो । गठबन्धनका सबै नेता एकातर्फ हुँदा पनि जित्न सकिएन ।

अर्काे कुरा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि देशमा थुप्रै विकासका गतिहरू सुरु हुन्छन् भन्ने सोचेका थियौं । तर, दिन प्रतिदिन समस्या बढ्दै गइरहेका छन् । बेरोजगारी बढिरहेको छ । युवाहरू विदेश पलायन भइरहेका छन् । उद्योग कलकारखाना धराशायी बन्दै गर्दा सरकार अहिले आफ्ना कर्मचारीलाई तलब राम्रोसँग खुवाउन सक्ने अवस्थामा छैन ।

– जनताका थुप्रै समस्याबारे जानकार हुनहुन्छ । तर, बालुवाटार र सिंहदरबारमा दलका नेताहरू जम्मा हुँदा किन जनताका समस्याका विषयमा छलफल हुँदैन ? किन सत्ता भागबन्डा र आलोपालोमा मात्रै तपाईंहरू केन्द्रित बन्नुहुन्छ ?

तपाईंले उठाएको प्रश्न स्वाभाविक छ । एउटा मूल्य र मान्यता सुरुमा बसाल्नुपर्ने रहेछ । गठबन्धनका नेताहरूले पनि गठबन्धनको मूल्य मान्यताअनुसार अगाडि बढेको देखिँदैन । एकातिर भत्कियो, अर्काेतिर बनायो । फेरि अर्काेतिर भत्किन्छ, त्यहाँ बनाउनु पर्छ । पार्टीभित्रै त एक ढङ्गको कुरा हुँदैन । फेरि यो त गठबन्धन हो । यसमा पनि एउटा विधि, पद्धति बनाउनुपर्ने हुन्छ । विधि, पद्धति नबसाल्दा बिहान एउटा समस्याको समाधान गर्न नपाउँदै बेलुकी अर्काे समस्या आइहाल्छ ।

– गौर हत्या काण्डको विषय अनुसन्धान गर्दा, ललिता निवासको चर्चा सुरु हुँदा गठबन्धन नै भत्किने हो कि जस्तो गरी आवाजहरू सुनिन्छन् । कमजोर बन्दै गइरहेको हो गठबन्धन ?

गठबन्धन त्यस्तो कमजोर नै भएको जस्तो देखिँदैन । मैले पछिल्लो समय सुने राप्रपा पनि गठबन्धनमा सहभागी हुने भएर केन्द्रमा संसदीय समितिमा सहभागिता भयो । प्रदेशमा पनि सहभागी हुने र आवश्यक पर्दा संघीय सरकारमा पनि राप्रपाको सहभागिता हुन्छ भन्ने छ । अरू साना दलहरू पनि संलग्न भएको देखिन्छ । अब रास्वपासँग पनि वार्ता र संवाद भइरहेको छ भन्ने कुरा नेताहरूले कुराकानी गर्दा सुनिन्छ । विशेषगरी संसद सञ्चालनको सन्दर्भमा राप्रपाका विचार, धारणा गठबन्धनसँग मिल्छ । एमालेसँग मिल्दैन ।

हामीले अहिले नेकपा एकीकृत समाजवादीको निर्माणमात्रै गरिरहेका छैनौं । हामी हाम्रा पनि कमीकमजोरीहरू सुधारेर नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गराउन चाहन्छौं । सबै कम्युनिष्ट पार्टीहरूका बीचमा कुन विचारले, कुन भावनाले, कुन कार्यक्रमले, कुन कार्यदिशाले, कुन कार्यनीतिले हामी एक हुन सक्छौं भन्ने विषयमा हामी छलफलमा छौं ।

यसरी हेर्दा गठबन्धन कमजोर भएको देखिँदैन । तर, अब कतिपय घटनाक्रम हेर्दा तपाईंले भने जस्तो कहीं कहीं कमजोर भएको जस्तो पनि लाग्छ ।

– पार्टी स्थापनाको दुई वर्षमै १०औं महाधिवेशन भन्नुपर्ने के बाध्यता आइलागेको हो ?

हाम्रो पार्टी भनेको नयाँ पार्टी होइन । हाम्रो पार्टी नेकपा एमाले अथवा हिजोको नेपाल कम्युनिस्ट पार्टी नेकपा त्यसको एक प्रकारको उत्तराधिकारीको जस्तो भन्दा पनि हुन्छ ।

हिजो नेकपा एमालेमा १५ वर्षसम्म नेतृत्व गर्नुभएका माधवकुमार नेपाल पनि यतै हुनुहुन्छ । अप्ठेरो बेलामा पार्टी नेतृत्व गर्नुभएका झलनाथ खनाल पनि यतै हुनुहुन्छ । त्यही भएर हामी नयाँ पार्टी निर्माण गरेर अघि बढेको होइन ।

– महाधिवेशन सुरु हुन ६ महिना बाँकी रहँदा नै अध्यक्षका लागि माधवकुमार नेपाल र झलनाथ खनालको चर्चा सुरु भइसकेको छ । तपाईंहरूको पार्टीमा दुई अध्यक्षका आकांक्षीका कारण तीव्र गुटबन्दी भ्रातृ सङ्गठनसम्मै पुगिसकेको छ । यो गुटबन्दीले पहिलो अधिवेशनलगत्तै पार्टी विभाजनसम्मको खतरा त देख्नुभएको छैन ?

मलाई त लाग्दैन त्यस्तो । यस पटक महाधिवेशन हुने भनेपछि विचार, विधान र नेतृत्वको सन्दर्भमा छलफल हुने कुरा सामान्य नै भइहाल्यो । स्वाभाविक रूपले हामीले लिएका विचारहरूले भोलि नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपालको राजनीतिलाई कसरी एकताबद्ध गराउन सकिन्छ, कसरी सुशासनतर्फ लैजान सकिन्छ भन्ने विषयमा व्यापक बहस र छलफल हुन्छ । त्यो बहसलाई मैलेभन्दा वा देख्दा गुटबन्दी होइन ।

कुनै विषयमा छलफल हुँदा मतमतान्तर हुन सक्छन् । त्यसलाई हामीले अन्यथा मान्नुहुँदैन । हामीले अहिले नेकपा एकीकृत समाजवादीको निर्माणमात्रै गरिरहेका छैनौं । हामी हाम्रा पनि कमीकमजोरीहरू सुधारेर नेपालका कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गराउन चाहन्छौं । सबै कम्युनिष्ट पार्टीहरूका बीचमा कुन विचारले, कुन भावनाले, कुन कार्यक्रमले, कुन कार्यदिशाले, कुन कार्यनीतिले हामी एक हुन सक्छौं भन्ने विषयमा हामी छलफलमा छौं ।

पहिले नेकपा एकीकृत समाजवादी स्थापना गरिसकेपछि अहिलेसम्मको अवस्था हेर्दा हाम्रा के कमजोरी छन् भन्ने कुरा पनि हेर्नुप¥यो ।

– कुन पक्षमा कमजोरी भइरहेको छ त ?

म त्यही भनिरहेको छु । हामीले जे सोचेर विद्रोह गरेका थियौं, त्योेअनुसार फल प्राप्त भएको छैन । हामीले जे धारणा राखेर गर्‍यौं, त्योअनुसार उपलब्धि त भएको छैन । त्यसैले हामीले समीक्षा गर्नुपर्ने बेला आएको छ ।

छलफलले पार्टीलाई राम्रो र समृद्ध बनाउँछ । अस्तिको बैठकमा पनि पार्टीका सम्मानित नेता झलनाथ खनालले मेरा विचारलाई मेरो भावनालाई कुनै गुटबन्दीको रुपमा नलिई कुनै विरोधको रुपमा नलिई यसलाई सुझावको रुपमा लिइदिन भनेपछि हामी ढुक्क छौं ।

यही महाधिवेशनमा व्यापक ढंगले कही अप्ठेरो नमानी नेताको कार्यकर्ताको मुख नहेरी हामी छलफल अलि राम्ररी चलाउँछौं । त्यो छलफल चलाउने कुरालाई जसरी तपाईंहरू मिडियाका साथीहरूले अलि बढी नै गुटबन्दी भइहाल्यो, अब पार्टी नै कतै विभाजनको वा गुटबन्दीको शिकार हुन्छ जस्तो भन्नुभएको हो भने त्यस कुरामा मलाई विश्वास छैन ।

त्यो छलफलले पार्टीलाई राम्रो र समृद्ध बनाउँछ । अस्तिको बैठकमा पनि पार्टीका सम्मानित नेता झलनाथ खनालले मेरा विचारलाई मेरो भावनालाई कुनै गुटबन्दीको रुपमा नलिई कुनै विरोधको रुपमा नलिई यसलाई सुझावको रुपमा लिइदिन भनेपछि हामी ढुक्क छौं ।

हाम्रा सम्मानित नेता झलनाथ खनाल, पार्टीका अध्यक्ष माधवकुमार नेपाल अरू नेताहरूबाट आएका विचारहरू, भावनाहरू र उहाँले राखेका सोचहरूले विभाजनको रेखा कोर्दैन ।

– तपाईं पार्टीभित्र गुटबन्दी छैन भन्नुहुन्छ । युवा संघको भेला फरक फरक गुटले फरक फरक ठाउँमा आयोजना गरेको र अन्तिममा कमिटी पनि दुबै समूहको प्रतिनिधित्व गर्ने गरी गठन गरिएको विषय के हो ?

हामीले पनि सुन्दा काठमाडौंमा युवा संघको दुई वटा भेला देखियो भनियो । पार्टीको विधि र पद्धतिका हिसाबले त्यो राम्रो कुरा होइन । कुनै पनि व्यक्तिले बैठकमा आएर कुरा राख्नुपर्छ । बाहिर छुट्टै भेला राख्ने वा कुरा गर्ने ठीक कुरा होइन । पार्टीले त्यसलाई बेलैमा सच्चाउनुपर्छ पनि भन्यौं । पछि अलग समूहको नेतृत्व गरेर बस्नु भएको नितेशजीलाई सहसंयोजक बनाएको भनेर हामीले थाहा पायौं । त्यसबाट फेरि एकै ठाउँमा आएको कुरा देखियो । तर, त्योभन्दा पहिले उहाँहरू अलग अलग ठाउँमा भेला हुने कुरा गर्नुभयो, त्यो राम्रो होइन ।

– विद्रोह गर्दा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी जुन दूरीमा थिए, अहिले संवाद र छलफलका दृष्टिकोणले त्योभन्दा नजिक आएको अवस्था हो कि अझै टाढा भएको छ ?

सामान्य रुपमा अलि अलि फेरबदल भएको होला । नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई नेकपा एकीकृत समाजवादीबाट ल्याएर भित्र्याएको परेको छ । सम्मानित नेताहरू गएका छन्, पोलिटब्युरो गएका छन् र पदाधिकारी गएका छन् । त्यसले कत्तिको असर पार्ने हो । तर, सिङ्गो हिजोको शक्ति एकै ठाउँमा आउन नै पहल र प्रयत्न गर्नुपर्छ भन्ने नेकपा एमालेका अधिकांश नेताहरूको भावना बुझ्छु, हामीसँग कुराकानी गर्दा पनि ।

हामी नेकपा एकीकृत समाजवादीभित्र रहेका साथीहरू पनि नेकपा एमालेका नेताहरूले आफ्ना हिजोका गलत प्रवृत्ति, सोच र भावना परित्याग गरेर कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने वातावरण निर्माण गर्दिए भने एकै ठाउँमा आउनु राम्रो हुन्थ्यो ।

अलग अलग ठाउँमा सबै खालका पसल थाप्ने काम नगर्दा राम्रो हुन्थ्यो भन्ने हामीभित्र पनि स्वाभाविक तरिकाले परेको छ । तर, त्यसका लागि नेतृत्वले आफूले गरेको आफ्ना कामहरूलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।

– कसले गर्ने पुनर्विचार केपी ओलीले कि माधवकुमार नेपालले ?

दुवैतर्फबाट हुनुपर्छ । समीक्षा गर्दा दुबैतर्फबाट हुन आवश्यक छ । हामीले के भन्दैनौं भने हामी एकदम दूधले धोएका होऔं । तपाईंहरू मात्रै फोहरको आहालमा बसेका मान्छे हौँ भनेर हामी भन्दैनौं । हामीबाट पनि कमजोरी भएका छन् भने एक, दुई, तीन, चार भनेर सच्याउन हामी तयार छौं । उहाँहरू पनि सच्चिन तयार हुनुपर्‍यो ।

अलग अलग ठाउँमा सबै खालका पसल थाप्ने काम नगर्दा राम्रो हुन्थ्यो भन्ने हामीभित्र पनि स्वाभाविक तरिकाले परेको छ । तर, त्यसका लागि नेतृत्वले आफूले गरेको आफ्ना कामहरूलाई पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।

– केही दिन पहिले केपी ओलीले कोशी प्रदेश सरकारको सवालमा हामी सरकार बनाउँछौं । हाम्रो ५० मत आउँछ भन्ने अभिव्यक्ति दिनुभयो । त्यहाँ एमालेको ४० मत राप्रपाको ६ मत र तपाईंहरूको ४ मत छ । ओलीले नेकपा एकीकृत समाजवादी पनि ढिलोचाँडो कोशीमा एमालेसँग हुनसक्ने संकेत गरेको धेरैको बुझाइ छ । तपाईंहरू बीच वा त्योभन्दा माथि त्यो विषयमा केही कुरा भएका छन् ?

मैले अघि भने नि, हाम्रा कतिपय साथीहरू चिन्तित हुनुहुन्छ । एमालेभित्रका केही साथीहरू पनि चिन्तित हुनुहुन्छ । हामी एमाले अध्यक्ष केपी ओली कमरेडको भावना परिवर्तन भइदिए राम्रो हुन्थ्यो भन्ने कल्पना गर्छौं । अब हामी एक ठाउँमा आउनु नै राम्रो हुन्छ भन्ने हो । उहाँले त्यो भावना बनाइदिनुभयो भने हामी सकारात्मक तहबाट सोच्छौं ।

– तपाईंहरूले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपाललाई यस्तो सुझाव दिनुभएको छैन र ?

हामीले त्यसको सङ्केतको रुपमा यो समाजवादी मोर्चाको सुरुवात गरेका हौं । यो सुरु गर्नु भनेको अरू कम्युनिष्ट पार्टीहरूलाई पनि एकताबद्ध बनाएर लैजाने भन्ने हो । त्यसको सङ्केतको रुपमा के बुझ्नुपर्छ भने नेकपा एकीकृत समाजवादी एकताको पक्षमा छ । एकताको सुरुवात समाजवादी मोर्चाबाट गरिएको छ । यसको आधारमा अरू कम्युनिष्ट पार्टीहरूसँग पनि बहस र छलफल गर्दै एकताबद्ध रुपमा जाने कुरा छ ।

– समाजवादी मोर्चामा पनि एमसीसीको कारणले खटपट सुरु भएको सुनिन्छ नि ?

जहाँसम्म लाग्छ, तपाईंले भनेका कुराहरूमा केही त्यस्ता समस्याहरू देखापरेकै छन् । त्यो यथार्थ हो । कतिपय विषयहरूमा हामीभित्रै पनि मतभेद छन् । जस्तैः एमसीसीकै विषयमा पनि हामीले हस्ताक्षर गर्‍यौं । पछि व्याख्यात्मक टिप्पणी पनि गर्‍यौं । यसबारेमा पनि विवादहरू छन् नै ।

यहीभित्र पनि गौर घटनाको विषयमा छलफल गरौं भन्दा त्यहाँ पनि विमति देखियो । एमसीसीको सुरुवात गरौं भन्दा विमति देखियो । यस्ता कुराहरूको आधारमा त नेताहरूको बीचका छलफल होला । पार्टी एकता भनेको विचार, भावना, सङ्गठन, सिद्धान्त सबै कुरा मिलेर गर्ने कुरा भयो ।

गठबन्धन भनेको निश्चित एजेन्डाका साथ गरिने कुरा हो । गठबन्धनमा अहिले हामी के के कुरामा मिल्न सक्छौं भन्ने हो । मिल्ने कुरामा मिलौं भन्नेमात्रै हो । सबै कुरा मिल्ने भए त पार्टी एकता गरे भइहाल्छ नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर