प्यूठानको झिमरुकको विवाद मिलाउन छानविन समिति बनाउने सहमति – Nepal Press

प्यूठानको झिमरुकको विवाद मिलाउन छानविन समिति बनाउने सहमति

रुपन्देही । प्यूठानको झिमरुक गाउँपालिकामा उपाध्यक्ष प्रमोद पोखेलले अध्यक्ष पितबहादुर एमसी र कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार भएको भनी सार्वजनिक भएको विषयमा छानविन समिति गठन गरी यथार्थ विषय सार्वजनिक गर्ने सहमति भएको छ ।

यो विषयमा नेपाल प्रेसले बिहीबार समाचार सार्वजनिक गरेको थियो । उपाध्यक्ष पोखरेलले आफूले पटक पटक टेण्डरबिना समान खरिद नगर्ने विषयलाई अटेरगरी अध्यक्ष र कर्मचारीको मिलेमतोमा लाखौं रकमका सामान खरिद गरिएको भन्दै त्यसको छानविन नहुँदासम्म आफू निरन्तर विरोध गरिरहने बताएका थिए ।

बिहीबार पालिका अध्यक्ष एमसीले यो विषय सार्वजनिक गर्ने उपाध्यक्ष, पालिकाका कर्मचारी तथा केही वडाध्यक्षहरुलाई राखेर तत्काल छानविन समिति गठन गर्ने सहमति जनाएका छन् ।

पालिकाले गरेको यो सहमति पत्र पनि सार्वजनिक भएको छ ।उपाध्यक्ष पोखरेलले कर्मचारीलाई समेत यो विषयमा जोडेपछि उनीहरुले सामूहिक विज्ञप्ति नै प्रकाशन गरी अध्यक्षको बचाउ गरेका थिए ।

बिहीबार गाउँपालिका अध्यक्ष एमसीको समन्वयमा उपाध्यक्ष प्रमोद पोखेल, वडा नं १,४,७,८ का वडाअध्यक्षहरु ध्रुवराज खनाल, सिताराम पोखेल, कृष्णबहादुर जिसी र तुलसबहादुर बस्नेतसहित बैठक बसी बाहिर आएको विषयलाई समाधान गर्ने विषयमा छलफल भएको थियो ।

उनीहरुले झिमरुकबासी र सरोकारवालाहरु सबैलाई खरिद सम्बन्धी सत्यतथ्य कुरा छानविन गरी बाहिर ल्याउन आवश्यक देखिएकोले भदौ ९ गते कार्यपालिकाको बैठक बसेर छानविन समिति गठन गर्ने सहमति गरेका छन् ।

छानविन समितिले दिएको प्रतिवेदनलाई पत्रकारसहितको उपस्थितिमा प्रत्यक्ष लाइभ मार्फत सबैलाई जानकारी गराउने सहमति भएको सार्वजनिक विज्ञप्तीमा जनाइएको छ ।

उपाध्यक्ष पोखरेलले आफू पालिकाको अनुगमन समिति संयोजक भएपनि निर्णय र जानकारी बिना प्रकृया विपरीत खरिद गरिएका सबै सामानको कोटेशन मगाइएको र अहिले खरिद भएका सामानको मूल्य तथा कोटेशनमा आउने मूल्यको तथ्य जाँच गरिने जनाएका छन् ।

उनले आफूले कोही व्यक्तिको विरोध भन्दा पनि गलत प्रवृतिको विरोध गरेको बताउँदै यथार्थ विषय बाहिर ल्याउने जनाए । कांग्रेसबाट निर्वाचित उपाध्यक्ष पोखरेल र माओवादीबाट निर्वाचित एमसीबीच राजनीतिक लडाई भएकाले कर्मचारीले अनावश्यक रुपमा आफूहरुलाई विवादमा तानेको भन्दै असन्तुष्ट हुँदै आएका छन् ।

जेठ २४ मा यसअघिका प्रमुख कार्यकारी अधिकृतमाथि अध्यक्ष एमसीका छोराले कार्यकक्षमै अभद्र व्यवहार गरेपछि अहिलेसम्म नयाँ कार्यकारी प्रमुख आएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *