नेपालका ६ खेलाडी, जसले एसिया कपमा प्रभाव छोड्न सक्छन् – Nepal Press

नेपालका ६ खेलाडी, जसले एसिया कपमा प्रभाव छोड्न सक्छन्

भारत र पाकिस्तानसँग नेपाली टीमले सहजै आत्मसमर्पण नगरोस् समर्थकहरू यही चाहन्छन्

काठमाडौं । पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागि नेपालको राष्ट्रिय टीम पाकिस्तान पुगिसकेको छ । भदौ १३ गते उद्घाटन खेल आयोजक पाकिस्तानसँग खेल्नुपूर्व नेपाली टीमले त्यहाँ केही अभ्यास खेलहरू खेल्नेछ ।

भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँग पहिलोपटक भिड्न लागेको हुँदा नेपाली समर्थकहरू निकै उत्साहित छन् । दुवै देशले आफ्नो पहिलो श्रेणीको टीम एसिया कपमा सहभागी गराएकाले नेपालका लागि यी दुई खेल अहिलेसम्मकै चुनौतिपूर्ण हुनेमा शंका छैन । यी देशहरूसँग नेपाली टीमले प्रतिस्पर्धात्मक क्रिकेट खेल्यो भने त्यो पनि ठूलो उपलब्धि मान्न सकिनेछ ।

भारत र पाकिस्तानसँग नेपाली टीमले सहजै आत्मसमर्पण नगरोस्- समर्थकहरू यही चाहन्छन् । अहिलेको नेपाली टीमले धेरैवटा एतिहासिक सफलता दिलाएको छ । सम्भवतः नेपालको इतिहासमै यो सर्वोत्कृष्ट टीम हो । यो टीम विगतमा जस्तो कुनै २-३ जना खेलाडीमा निर्भर छैन । सबैजनाले आफूलाई ‘म्याच विनर’ सावित गरेका छन् । यही टीम हो जसले विश्वकप लिग २ का पछिल्ला १२ म्याचमध्ये ११ वटामा जित दिलाउँदै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो ।

नेपालले पाकिस्तानसँगको म्याच पाकिस्तानमै र भारतसँगको म्याच श्रीलंकामा खेल्दैछ । नेपाली टीमसँग आशा गर्न सकिने ठाउँ यसकारण छ कि यी दुवै देशका पीचहरू प्राय स्पिनमैत्री हुन्छन् । नेपालको कमजोरी फास्ट बलिङ हो । हाम्रा ब्याट्सम्यानहरू तुलनात्मकरूपमा स्पिनरलाई राम्ररी झेल्न सक्छन् । अनि, नेपालको मुख्य स्ट्रेन्थ भनेको स्पिन आक्रमण हो । स्पिनमैत्री पीचमा नेपालका स्पिनरले विश्वस्तरीय ब्याट्सम्यानहरूलाई पनि आच्छु आच्छु पार्न सक्छन् ।

नेपालले अहिलेसम्मकै ठूलो प्रतियोगिता खेल्न गइरहेकाले टीम सेलेक्सनमा कुनै ‘एक्सपेरिमेन्ट’ को सम्भावना न्यून छ । तेस्रो नम्बरमा कसले ब्याटिङ गर्छ भन्नेबाहेक अरु लगभग फिक्स्ड नै छ । ओपनिङ जोडीका रूपमा कुशल भुर्तेल र आसिफ शेख आउनेछन् । तेस्रो नम्बरमा परिस्थिति हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एकलाई पठाइनेछ । त्यसपछि क्रमशः रोहित पौडेल, कुशल/भीम, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी ब्याटिङमा उत्रिनेछन् । ८ देखि ११ नम्बरमा गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहनेछन् । नेपालले एकजना ब्याट्सम्यान कम गरेर ललित राजवंशीलाई पनि प्लेइङ ११ मा समावेश गर्न सक्छ । उनका लागि सम्भवतः आरिफ शेख र भीम सार्कीमध्ये एकजना बाहिर हुनुपर्ने देखिन्छ ।

नेपाली टीम धेरैवटा विशेषताले सुसज्जित छ । टीममा हरेक शैलीका ब्याट्सम्यानहरू छन् । कुशल भुर्तेल, कुशल मल्ल, करण केसीले विष्फोटक रूपमा खेल्न सक्छन् । रोहित पौडेल, भीम सार्की र आरिफ शेखले रक्षात्मक खेल्छन् । दीपेन्द्रसिंह ऐरी परिस्थितिअनुसार जस्तो रूपमा पनि लिन सक्छन् । पछिल्लो क्रममा आउने गुल्शन झा, सन्दीप लामिछाने र सोमपाल कामीसँग पनि ब्याटिङ कौशल छ ।

एसिया कपममा नेपालले सबैभन्दा बढी आशा गर्न सक्ने खेलाडी को-को हुन् त ?

१. कुशल भुर्तेल

नेपाली टीमका प्रतिभाशाली ओपनिङ ब्याट्सम्यान हुन् कुशल भुर्तेल । टीमलाई सकारात्मक मात्र होइन, आक्रामक सुरूवात दिनसक्ने क्षमता उनमा छ ।

कुशलले आफ्नो क्षमताको एक झलक विश्वकप छनोटमा जिम्बाबेविरुद्ध देखाएका थिए । जिम्बाबेका बलरहरूमाथि हावी हुँदै उनले बनाएको ९९ रन नेपाली समर्थकहरूको मानसपटलमा ताजा छ । पावर प्लेको सदुपयोग गरेर सहजरूपमा बाउन्ड्री निकाल्न सक्ने ब्याट्सम्यान हुन् उनी ।

तर, कुशलका लागि भारत र पाकिस्तानका बलरहरूको सामना गर्नु त्राशदीपूर्ण हुन सक्छ । किनकी यी दुई देशसँग विश्वस्तरीय फास्ट बलरहरू छन् । भारतका जसप्रित बुमराह र पाकिस्तानका साइन शाह अफ्रिदीलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्नलायक हुनेछ ।

२. रोहित पौडेल

नेपालका कप्तान रोहित पौडेल सानो कदका तर ठूलो सम्भावना बोकेका ब्याट्सम्यान हुन् । नेपाली टीममा प्राविधिकरूपले सबैभन्दा उत्कृष्ट व्याट्सम्यानका रूपमा उनलाई लिन सकिन्छ ।

बललाई बुझेर परिस्थितिअनुसार सुझबुझपूर्ण तरिकाले ब्याटिङ गर्नु रोहितको विशेषता हो । खासगरी, स्पिन बललाई खेल्ने उनको स्किल निकै राम्रो छ । उनीसँग धेरै किसिमका सटहरू छन् र लामो इनिङ खेल्न सक्छन् । यद्यपि, पछिल्ला म्याचहरूमा स्टार्ट लिएर पनि त्यसलाई ठूलो स्कोरमा कन्भर्ट गर्न चुकिरहेका छन् ।

भारत र पाकिस्तानविरुद्ध रोहितले जिम्मेवारीपूर्ण ब्याटिङ गर्नुपर्ने छ । अगाडिका ब्याट्सम्यानहरू सस्तैमा आउट भएको खण्डमा उनीमाथि दबाब थोपरिने छ । साथै कप्तानी भूमिका निभाउन पनि सहज हुने छैन ।

३. कुशल मल्ल

नेपाली टीमको नयाँ स्टारका रूपमा चम्किएका ब्याट्सम्यान हुन् कुशल मल्ल । नेपालको अट्याकिङ ब्याट्सम्यानका रूपमा उनले आफ्नो छवि बनाएका छन् । आफ्नो टीम दबाबमा परेको वा धराशायी हुन लागेको अवस्थामा पनि उनी आक्रामक सटहरू खेल्न हिच्किचाउँदैनन् । उनले पछिल्ला धेरैवटा खेलहरूमा विपक्षी बलरहरूमाथि काउन्टर अट्याक गर्दै टीमको उद्दार गरेका छन् ।

पाकिस्तान र श्रीलंकामा कुशलले आफ्नो कुशलताको कठीन परीक्षा दिनुपर्ने छ । उनले तेस्रो वा पाचौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । एसियाली पीच प्राय ब्याटिङमैत्री हुने भएकाले कुशलले ‘सेलेक्टिभ एग्रेसन’ देखाउन उपयुक्त हुन्छ । दुईमध्ये एउटा खेलमा मात्रै उनले विष्फोटक इनिङ खेल्न सके भने भोलि टी-२० का अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा उनको ढोका खुल्न सक्छ, किनकी उनको ब्याटिङ टी-२० का लागि सुहाउँदो छ ।

४ दीपेन्द्रसिंह ऐरी

नेपालका अनुभवी खेलाडीमा पर्ने दीपेन्द्रसिंह ऐरीमाथि पनि धेरै आशा गरिएको छ । उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा अब्बल खेलाडी हुन् ।

पछिल्लो समय राष्ट्रिय टीममा उनको ब्याट अपेक्षितरूपमा चल्न सकिरहेको थिएन । तर, हालैमात्र उनले ग्लोबल टी-२० क्यानडामा प्रभाव छोड्न सफल भए । त्यहाँबाट बटुलेको आत्मविश्वासले पक्कै उनलाई सहयोग गर्ने छ । यदि दीपेन्द्र आफ्नो पुरानो लयमा फर्किए भने नेपालका लागि त्यो सौभाग्य हुनेछ ।

दीपेन्द्रसँग क्रिजमा टिकेर लामो इनिङ खेल्न सक्ने तथा आवश्यकता पर्दा विष्फोटक रूप धारण गर्न सक्ने क्षमता छ । यद्यपि, प्रशिक्षक मोन्टी देसाईले उनलाई तल्लो क्रममा ब्याटिङ गराउँदा क्रिजमा धेरै समय बिताउन पाइरहेका छैनन् । एसिया कपमा उनको ब्याटिङ क्रम तलमाथि हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न छ ।

बलरका रूपमा दीपेन्द्र निरन्तर सफल छन् । उनको स्पिनर निकै किफायतिमात्र नभएर विकेटटेकिङ पनि हुने गर्छ । कप्तानले ढुक्कले उनलाई १० ओभर बल थमाउन सक्छन् । तर किन हो, पछिल्ला खेलहरूमा कप्तान रोहित पौडेलले उनलाई पूरा ओभर बलिङ गर्न दिइरहेका छैनन् ।

५. गुल्सन झा

एसिया कपकै सबैभन्दा कान्छा खेलाडी १७ वर्षीय गुल्सन झा नेपालका उदीयमान अलराउन्डर हुन् । बलरका रूपमा टीममा स्थान बनाए पनि ब्याटिङमा बढी योगदान दिइरहेका छन् उनले । आठौं नम्बरमा ब्याटिङमा आएर पनि धेरैवटा उपयोगी इनिङ खेलेका छन् ।

गुल्सन मुलत फास्ट बलर हुन् । तर, बलिङमा अपेक्षित सफलता पाउन सकेका छैनन् । यद्यपि, पछिल्ला खेलहरूमा केही सुधार अवश्य गरेका छन् । नेपालको फास्ट बलिङ तुलनात्मकरूपमा कमजोर छ । विराट कोहली, बाबर आजम, रोहित शर्माजस्ता ब्याट्सम्यानहरूले नेपालको फितलो फास्ट बलिङको सजिलै धज्जी उडाउन सक्छन् । सोमपाल कामी र करण केसीपछि तेस्रो फास्ट बलरका रूपमा नेपालले गुल्शनलाई प्रयोग गर्ने छ ।

६. सन्दीप लामिछाने

अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चिनिएका नेपाली क्रिकेट स्टार हुन् सन्दीप लामिछाने । लामो समयदेखि नेपालको बलिङ उनीमाथि धेरै निर्भर रहँदै आएको छ । उनले हम्मेसी निराश बनाएका छैनन् ।

यस प्रतियोगितामा भारत र पाकिस्तानका ब्याट्सम्यान नेपालका कुनै बलरसँग बढी सचेत हुनेछन् भने ती सन्दीप नै हुन् । उनले विश्वका सबैजस्तो दिग्गज ब्याट्सम्यानहरूलाई टी-२० मा बलिङ गरिसकेका छन् । त्यसैले नेपालको सबैभन्दा बढी भर सन्दीपमाथि नै छ ।

यद्यपि सन्दीप व्यक्तिगत जीवनमा तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । उनीमाथि अदालतमा विचाराधीन मुद्दा किनारा लागिसकेको छैन । मुद्दाकै कारण उनी राष्ट्रिय टीमसँग पाकिस्तान जाने पाएनन् । सम्भवत उनी आइतबार पाकिस्तान गएर टीम ज्वाइन गर्ने छन् । आशा गरौं कि उनको मानसिक तनावले खेलमा असर नगरोस् ।


प्रतिक्रिया

One thought on “नेपालका ६ खेलाडी, जसले एसिया कपमा प्रभाव छोड्न सक्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *