के छ राष्ट्रिय गौरवका आयोजनाको प्रगति ? मन्त्री ज्वालाले फास्ट ट्रयाकमा सेनाको काममा पोखे असन्तुष्टि – Nepal Press

के छ राष्ट्रिय गौरवका आयोजनाको प्रगति ? मन्त्री ज्वालाले फास्ट ट्रयाकमा सेनाको काममा पोखे असन्तुष्टि

काठमाडौं । सरकारले मुख्य ६ वटा विकास निर्माणलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अघि बढाएको छ । जसमध्ये कुनै सम्पन्न हुने चरणमा छ भने केहीको काममा ढिलाइ भइरहेको छ ।

६ वटा आयोजनामध्ये सबैभन्दा धेरै काम हुलाकी राजमार्गको भएको छ । सो राजमार्गको ९१ प्रतिशत काम सकिएको दाबी गरिएको छ । सबैभन्दा थोरै प्रगति भने कर्णाली करिडोरको हिल्सा-सिमीकोट सडक खण्डको भएको छ । यस राजमार्गको काम २४ प्रतिशतमात्रै भएको छ ।

हुलाकी राजमार्ग आयोजनाले ५९ अर्ब ६५ करोड खर्च गरेको छ । संशोधित लागत अनुमान ६५ अर्ब २० करोड रहेको यो आयोजना २०६६ सालबाट सुरु भएको हो । आयोजना २०८४ सालमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

उत्तर दक्षिण राजमार्ग (काली गण्डकी कोरिडोर-गैंडाकोट राम्दी मालढुंगा खण्ड)को भौतिक प्रगति पनि चित्तबुझ्दो छैन । यस आयोजनाको आर्थिक वर्ष २०७९/८० सम्म ४५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने ४३ प्रतिशत छ ।

आर्थिक वर्ष २०६६/६७ बाट सुरु भएको यस राजमार्गको लागत २५ अर्ब २२ करोड रहेको छ । आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनामा ९ अर्ब ९५ करोड खर्च भइसकेको छ ।

आयोजनाअन्तर्गत कुल २४५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । जसमध्ये हाल १७७ किलोमिटर सडक खण्ड सम्पन्न भएको आयोजनाले जनाएको छ । यस राजमार्गको राम्दी-रानीमहल सडक खण्डको १८ किलोमिटर सडकको काम बाँकी छ । त्यस्तै १५ वटा पुल ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

पुष्पलाल मध्य पहाडी राजमार्गको काम ७२.७० प्रतिशत सकिएको छ । सो आयोजनाले ६४ अर्ब ७६ करोड खर्च गरेको छ । आयोजनाको संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रहेको छ । २०६५ सालबाट सुरु भएको उक्त आयोजना २०८५ मा सम्पन्न गर्ने उल्लेख छ ।

उत्तर दक्षिण (कोशी) सडक आयोनाको काम ४२ प्रतिशत सकिएको छ । यस आयोजनाको लागत ११ अर्ब ९३ करोड रहेको छ । जसको ४२ प्रतिशत खर्च भइसकेको आयोजनाले जनाएको छ । २०६५/०६६ सालबाट सुरु भएको यो आयोजना आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हिल्सा-सिमीकोट सडकको भौतिक प्रगति २४ प्रतिशतमात्रै भएको छ । यस आयोजनाको लागत ६ अर्ब ६६ करोड रहेको छ । हालसम्म २० प्रतिशतमात्रै खर्च भएको छ । आर्थिक वर्ष २०६९/७० बाट सुरु भएको यो आयोजना आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गौरवका आयोजनासँगै रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

वर्षौं पहिले निर्माण थालिएका योजनाहरु पटक पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको उनको भनाइ थियो ।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति विवरणबारे आयोजित कार्यक्रममा मन्त्री ज्वालाले अब यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका हुन् ।

‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समप्क्षा गर्ने चलन बसालौं’, उनले भने, ‘त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’

केही आयोजनाको कामप्रति असन्तुष्टि पोखेका मन्त्री ज्वालाले नेपाली सेनाको व्यवथापनमा निर्माणाधीन काठमाडौं-तराई मधेश फास्ट ट्रयाकको काम सोचेअनुसार नभएको औंल्याए ।

‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रशंसनीय कामहरु भइरहेका छन् । तर, फास्ट ट्रयाकको काम किन फास्ट रुपमा हुन सकेन ?’, मन्त्री ज्वालाले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *