भारतका तीन प्रसारण संस्थाद्वारा ओटीटी एपमा लाइभ स्ट्रिमिङ बन्द – Nepal Press

भारतका तीन प्रसारण संस्थाद्वारा ओटीटी एपमा लाइभ स्ट्रिमिङ बन्द

काठमाडौं । कम्तीमा तीनवटा भारतीय प्रसारक संस्थाले आफ्नो ओटीटी प्लेटफर्ममा समाचार तथा खेलकुदका ‘लाइभ स्ट्रिमिङ’ बन्द गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार आउँदो अगष्ट ३० तारिखबाट लागू हुने गरी उनीहरूले यो निर्णय लिएका हुन् ।

अब हाइफ्रोफाइल क्रिकेट तथा फुटबल खेलहरू, जस्तै आईपीएल, ईंग्लिस प्रिमियर लिग, लालिगा तथा अन्य लाइभ कार्यक्रमहरु ओटीटी प्लेटफर्मममा उपलब्ध हुने छैनन् । यस्ता लाइभ स्ट्रिमिङ हुने कार्यक्रम दर्शकले केवुल टेलिभिजन च्यानलमा मात्रै हेर्न पाउनेछन् । फोन र स्मार्ट टिभीहरूमा ब्रोडब्याड सेवाको माध्यमबाट पनि हेर्न सकिने छैन ।

यदि प्रसारक संस्थाले यसका लागि अलग्गै इन्टरनेट अनुमति लिएको छ भने एपमा इभेन्टहरूको लाइभ स्ट्रिमिङ हुन सक्ने टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।

टेलिभिजन व्यवसायी म्रिनल चटर्जी भन्छन् छ, ‘अहिलेसम्म ब्रोडकास्टरहरूले उनीहरूको टिभी च्यानल सँगसँगै एपहरूबाट पनि लाइभस्ट्रिम गर्न सक्थे । अब भने उनीहरूले यसका लागि अनलाइन राइट लिनुपर्छ ।’

केवल अपरेटरहरूले यो निर्णयको स्वागत गरेका छन् । यसले गर्दा धेरै दर्शकहरू ओटीटी प्लेटर्फमबाट टेलिभिजनमा फर्किने उनीहरूको विश्वास छ । खेलकुदका फ्यानहरू भने केवलको सेवा भारतमा भरपर्दो नरहेको भन्दै असन्तुष्ट बनेका छन् । उनीहरू आफ्नो मोबाइलमा लाइभ म्याचहरू हेर्न अभ्यस्त थिए ।

सोनी लिभले ग्राहक तथा एमएसओहरूलाई पठाएको सूचनामा भनेको छ, ‘अगष्ट ३०, २०२३ देखि सोनी लिभमा लाइभ टिभी च्यानलहरू उपलब्ध हुने छैन ।’

जी र स्टार टिभीका एपहरूले पनि लाइभ स्ट्रिमिङ नगर्ने भएका छन् । यस्ता एपबाट फुटबल, क्रिकेट हेर्ने दर्शकहरुले अब केवल टिभीतिरै फर्किनुपर्ने भएको छ ।

नेपालमा पनि ओटटी प्लेटफर्महरूले लाइभ स्ट्रिमिङ उपलब्ध गराउँदै आएका छन्, जुन गैरकानूनी हो । यसले गर्दा देशको टेलिभिजन तथा केवल व्यवसाय गम्भीररुपमा प्रभावित बनिरहेको छ ।

व्यवसायीहरुले ओटीटीहरूको गैरकानूनी कार्यमा रोक लगाउन माग गर्दै आएको भए पनि सरकारले यसलाई नियन्त्रण गर्न गम्भीर पहल गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर