तीन बीमा कम्पनी प्राधिकरणको ‘डेन्जर जोन’मा, सीमित कारोबार रोक्ने तयारी – Nepal Press

तीन बीमा कम्पनी प्राधिकरणको ‘डेन्जर जोन’मा, सीमित कारोबार रोक्ने तयारी

८ बीमा कम्पनी हकप्रद र ४ वटा जीवन कम्पनी आईपीओको प्रक्रियामा

काठमाडौं । बीमा प्राधिकरणले दुई पटकसम्म समय दिँदासमेत अधिकांश बीमा कम्पनीले पूँजी पुर्‍याउन सकेनन् । पूँजी वृद्धिका लागि कुनै पनि उपाय अवलम्बन नगरेका तीनवटा बीमा कम्पनीलाई प्राधिकरणले डेन्जर जोन (खतराको सूची)मा राखेको छ ।

प्राधिकरणले नेपाल इन्सुरेन्स कम्पनी (निर्जीवन बीमा), प्रभु इन्सुरेन्स (निर्जीवन बीमा) र एसियन लाइफ इन्सुरेन्स कम्पनी (जीवन बीमा) गरी तीन वटालाई खतराको सुचीमा राखेको हो ।

नेपाल इन्सुरेन्सको हालको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनी भएकाले यसले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम राख्नुपर्ने हो । तर, यस कम्पनीलाई तोकिएको न्युनतम चुक्तापुँजी पुर्याउँन अझै १ अर्ब १२ करोड १० लाख रुपैयाँ आवश्यक पर्छ ।

यता प्रभु इन्सुरेन्सको पनि हाल १ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रुपैयाँ चुक्ता पूँजी छ । यसलाई पनि तोकिएको पूँजी पुर्‍याउन १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ आवश्यक पर्छ । यसले केही समयअघि बोनस शेयरसमेत जारी गरिसकेको छ । प्रभु इन्सुरेन्सले ८ लाख ६४ हजार १०६.७६ कित्ता बोनस शेयर जारी गरेको थियो । तर पनि यसको पूँजी पुगेको छैन ।

एसियन लाइफ इन्सुरेन्स पनि प्राधिकरणको खतराको सूचीमा छ । यसको हालको चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ । जीवन बीमा कम्पनी भएकाले यसले ५ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्‍याउनुपर्थ्यो । तर, यसलाई सो पूँजी पुर्‍याउन अझै १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ चाहिन्छ ।

प्राधिकरणका अनुसार पूँजी वृद्धिमा हेलचेक्य्राइँ गरेकाले यी तीनै बीमा कम्पनीको कुनै एक बीमा शीर्षकको कारोबारमा बन्देज लगाउने तयारी छ । प्राधिकरण स्रोत भन्छ, ‘यिनीहरुको पोर्टफोलियो रोकिन्छ । कुनै एक शीर्षकको कारोबार प्रतिबन्ध हुन्छ ।’

हकप्रद जारी गर्दै ८ कम्पनी

प्राधिकरणले पूँजी वृद्धिको लागि मर्जरमा गएका ८ वटा कम्पनीलाई भने हकप्रद शेयर जारी गर्न दिने तयारी गरेको छ । तिनीहरुलाई आवश्यकताका आधारमा अधिकतम ४५ प्रतिशतसम्म हकप्रद जारी गर्न दिने तयारी छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरमा गएर पूँजी नपुगेकालाई हकप्रद जारी गर्न दिने बताए ।

नेपाल इन्सुरेन्सले भने सम्पत्ति बिक्री गरेर पूँजी पुर्‍याउने जानकारी प्राधिकरणलाई दिइसकेको छ । यसका लागि सम्पत्ति बिक्रीको सूचना पनि जारी भइसकेको प्राधिकरणले जनाएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । तोकिएको चुुक्ता पूँजी पुर्‍याउन कम्पनीले १ अर्ब १ करोड रुपैयाँ पूँजी थप्नुुपर्छ ।

निर्जीवन बीमातर्फ

जीवन बीमातर्फ

सूर्यज्योति लाइफ इन्सुरेन्स, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले मर्जरमा गएर पनि पूँजी पुर्‍याउन नसकेकाले उनीहरुलाई पनि हकप्रद निष्कासन गर्न दिने तयारी प्राधिकरणको छ ।

सूर्यज्योति लाइफ इन्सुरेन्सको हालको चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । यसलाई अब ४५ लाख ४४ करोड रुपैयाँ पूँजी अपुग छ ।

यस्तै सानिमा लाइफ इन्सुरेन्सको हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । यसले अपुग ८१ करोड ६० लाख रुपैयाँका लागि हकप्रद जारी गर्नुपर्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको पनि ४ अर्ब १० करोड रुपैयाँ पूँजी छ । यसले अपुग ९० करोड रुपैयाँका लागि हकप्रद सुविधा पाउनेछ ।

४ वटा कम्पनी आईपीओको प्रक्रियामा

निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, आईजीआई प्रुडेन्सियल इन्सुरेन्सले तोकिएको पूँजी पु¥याएका छन् । यस्ता जीवन बीमातर्फ नेशनल लाइफ इन्सुरेन्स, नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लाइफ इन्सुरेन्सको पूँजी पुगिसकेको छ ।

आईएमई लाइफ इन्सुरेन्सले प्रिमियम मूल्यमा शेयर जारी गरिसकेको छ । सन नेपाल लाइफ इन्सुरेन्सले यही साउन ३२ गते आईपीओ जारी गर्दैछ । यसले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्दैछ ।

रिलायबल लाइफ इन्सुरेन्सले पनि यही साउन २३ गतेदेखि प्रिमियम मूल्यमा शेयर निष्कासन गरिरहेको छ । सिटिजन्स लाइएफ इन्सुरेन्स आईपीओ निष्कासनको चरणमा छ ।

विदेशी बीमा कम्पनीको शाखा र सरकारी बीमा कम्पनीले भने प्राधिकरणले तोकेको पूँजी वृद्धि गर्नुपर्दैन । सरकारी बीमाले सरकारकै निर्णयअनुसार अघि बढ्न पाउनेछन् ।

प्राधिकरणले जीवन बीमालाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । यसअघि जीवन बीमाको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुने व्यवस्था थियो ।

अजोड इन्सुरेन्ससँग मर्जर भाँडिएर एक्लो बनेको प्रभु लाइफ इन्सुरेन्सले पनि अनेक प्रयास गरिरहेको जानकारी दिएको छ । विदेशी कम्पनीका शाखाको रूपमा सञ्चालित कम्पनी मेट लाइफ, नेशनल र ओरियन्ट इन्स्योरेन्सले भने पूँजी वृद्धि गर्नु पर्दैन ।

प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो । त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्याद दिइएको थियो । तर, त्यस अवधिमा अधिकांश कम्पनीले तोकिएको चुक्ता पूँजी नपुर्‍याएपछि फेरि समय थप गरेर असार मसान्तसम्मको म्याद दिइएको थियो । तर, अझै पनि अधिकांश कम्पनीको चुक्ता पूँजी पुगेको छैन ।

नेपालमा पहिला २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए । अहिले १४ जीवन बिमा र १४ निर्जीवन बीमा कम्पनी छन् । यस्तै २ पुनर्बीमा र ४ वटा लघुबीमा कम्पनी छन् ।

स्रोत : बीमा प्राधिकरण ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *