तीन लाख ग्राहक भएको सीडीएमए फोन टेलिकमले गर्‍यो सधैँका लागि बन्द – Nepal Press

तीन लाख ग्राहक भएको सीडीएमए फोन टेलिकमले गर्‍यो सधैँका लागि बन्द

अग्रिम सूचनासमेत नदिइएको ग्राहकको गुनासो, टेलिकम भन्छ- जीएसएममा लैजान्छौँ

काठमाडौं । नेपाल टेलिकमको सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) फोन सेवा बन्द भएको छ । ग्राहकलाई थाहै नदिई पाँच दिन अघिबाट टेलिकमले सीडीएमए बन्द गरेको हो ।

एउटा कार्यालयको सीडीएमए फोन (कोड डिभिजन मल्टिपल एक्सेस) का ग्राहक विगत ५ दिनदेखि फोन सेट बिग्रिएको भन्दै मङ्गलवार सुन्धाराको नेपाल टेलिकमको कार्यालय पुगे । तर उनले सो कार्यालय छिर्नै लाग्दा गेटमा रहेका गार्डबाटै सीडीएमए फोन सधैँको लागि बन्द गरिएको जानकारी पाए । ती ग्राहक आफूले कुनै माध्यमबाट पनि सीडीएमए बन्द गर्ने सूचना नपाएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।

नेपाल प्रेससँग उनले भने, ‘कम्तीमा ग्राहकलाई त जानकारी दिनुपर्छ नि ! कुनै चाडबाड वा अवसर तथा महामारीका विषयमा आइभीआर प्रविधिबाट जानकारी दिने नेपाल टेलिकमले सोहीमार्फत सीडीएमए सेवा बन्द गर्ने जानकारी किन दिएन ? आफूले प्रयोग गरिरहेको फोनका विषयमा जानकारी पाउने हाम्रो पनि अधिकार हुन्छ । ५ दिनदेखि फोन अवरुद्ध हुँदा हाम्रो अफिसको सेवा प्रभावित बनेको छ, यसको क्षतिपूर्ति कसले दिन्छ ?

अर्का एक ग्राहक पनि थाहै नदिई सीडीएमए बन्द भएको बताउँछन् । टेलिकमको सुन्धारा कार्यालय जाँदा फोन सेट लिएर नजिकको कार्यालयबाट जीएसएममा रूपान्तरण गरिने आश्वासन पाए पनि बलम्बु कार्यालयले जानकारी नभएको भन्दै फिर्ता पठाएको गुनासो ती ग्राहकको छ ।

नेपाल टेलिकमले सीडीएमए र जीएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्यूनिकेसन) दुवै सिस्टमबाट मोबाइल फोन तथा टेलिफोन सेवा दिँदै आएको थियो । सीडीएमएबाट मोबाइल मात्र नभएर फिक्स्ड वायरलेस टेलिफोन पनि चलाउन सकिन्थ्यो । तर सीडीएमएका ग्राहकलाई वैकल्पिक व्यवस्था नगरीकन सिस्टम सट डाउन गरिएको टेलिकमका अधिकारीहरू स्वीकार्छन् ।

टेलिकम स्रोत भन्छ, ‘फिक्स वायरलेस टेलिफोन सिस्टमका ग्राहकहरूको लागि वैकल्पिक व्यवस्था दिनुपर्ने थियो । त्यसको लागि नियम बनाएर एक हप्ताभित्र निर्णय हुन्छ । तर निर्णय हुनुभन्दा अगाडी नै वैकल्पिक व्यवस्था नगरीकन सीडीएमएको सिस्टम सट डाउन गरिएको छ ।

ती अधिकारीका अनुसार एनटीसीको एउटा कार्यालयमा दिनको १० देखि १५ जनासम्म ग्राहक फोन अवरुद्ध भयो भन्दै आइरहेका छन् ।

टेलिकमका प्रवक्ता सोभन अधिकारी भने अचानक नभई २ वर्षअघि बन्द गर्ने प्रक्रिया भइरहेको बताउँछन् । उनका अनुसार धेरैजसो सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्यूनिकेसन) मा रूपान्तरण गरिएको छ । केहीको मात्र अहिले सिस्टम डाउन भएको हो ।

टेलिकमले सीडीएमएको प्रविधि पुरानो भएपछि सामान पाउन गाह्रो भएकाले जीएसएममा रूपान्तरण गरेको बताएको छ ।

अधिकारी भन्छन्, ‘पछिल्लो समय १०/१५ वटा बीटीएस (टावर) सञ्चालनमा थियो । त्यसलाई पनि रूपान्तरण गर्न लागेका हौँ । सञ्चारको सुविधा नभएको दार्चुलाको व्यासमा मात्र सीडीएमए फोन चल्नेछ । तर अर्को विकल्प भएपछि त्यहाँ पनि हटाउने छौं ।

टेलिकमले सीडीएमएलाई जीएसएममा जाँदा केही सहुलियत समेत दिने बताएको छ । सो सहुलियत अन्तर्गत ६ महिनाको सब्सिडी टक हुनेछ । सीडीएमएकै फोन नम्बरलाई जीएसएममा कन्भर्ट गरेर दिने योजना बनाए पनि त्यसको लागि अनुमति नपाएको टेलिकमको तर्क छ । यद्यपि, सीडीएमएको चलाइरहेको फोन नम्बरको बिचको एउटा मात्र अंक परिवर्तन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार २०७९ चैतसम्ममा सीडीएमए प्रयोगकर्ता ३ लाखभन्दा बढी छन् । नेपाल टेलिकमका कूल ग्राहकमध्ये जीएसएम प्रयोगकर्ता १ करोड ९८ लाख ५२ हजार २ सय ३५ छन् । २०७५ साल साउनसम्म सीडीएमए प्रयोगकर्ता १७ लाखभन्दा बढी थिए । करिब २ साताअघि टेलिकमले सूचना जारी गर्दा सीडीएमएको बीटीएस (टावर) १४ मात्रै रहेको प्रवक्ता अधिकारीले बताए ।

टेलिकमले २०६२ सालदेखि सीडीएमए प्रविधिमा आधारित सेवा उपलब्ध गराउँदै आएको थियो ।

सीडीएमए प्रविधिअन्तर्गत फिक्स्ड फोन, मोबाइल सेवा (स्काई फोन) र स्काई फोनअन्तर्गत स्काई डेटा सेवा सञ्चालनमा थियो । यी सबैलाई टेलिकमले विस्थापन गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *