बागमती प्रदेश : भौतिक मन्त्रालय फुटाउने कांग्रेसको दाउ ७५ दिनसम्म पनि भएन सफल – Nepal Press

बागमती प्रदेश : भौतिक मन्त्रालय फुटाउने कांग्रेसको दाउ ७५ दिनसम्म पनि भएन सफल

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ७५ दिन पुग्दा समेत सफल नभएपछि कांग्रेसको कोटाबाट मन्त्री बनेका रामकृष्ण चित्रकार अझैसम्म विना विभागीय मन्त्री बनेर दिन कटाउन बाध्य बनेका छन् ।

७५ दिन बितिसक्दा समेत मन्त्रालयको टुंगो नलाग्दा मन्त्री चित्रकार मुख्यमन्त्री कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्ष सँगै एउटा कोठामा बसेर दिन काट्न बाध्य बनेका हुन्।

सरकारले बजेट ल्याएर पास गर्दा समेत विना विभागीय भएकै कारण प्रदेशसभामा भएको छलफलमा समेत सहभागी हुन नपाएका मन्त्री चित्रकारलाई बजेट पास हुनासाथ मन्त्रालयको जिम्मा दिने बाचा पनि बाचामा नै सीमित बनेको छ ।

११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १२ जना मन्त्री नियुक्त गरेका थिए ।

११ मन्त्रालयमा १२ जना नियुक्त गरेसँगै चित्रकारको भागमा विना विभागीय मन्त्रीको जिम्मेवारी परेको थियो । उनलाई बजेट भाषणपछि मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर बजेट भाषण सकेको ५० दिन बितिसक्दा समेत चित्रकारले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

चित्रकारलाई अहिले माओवादी कोटामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय स्थापना गर्दै दिने नेपाली कांग्रेसको जोडबल रहेको छ । तर कांग्रेसको जोडबलमा माओवादी भने टसमस भएको छैन ।

मन्त्रालय फुटाउने विषयमा साउन १८ गते काठमाडौँमा कांग्रेस–माओवादीको बैठक बस्यो । तर बैठकमा कुनै सहमति नभएपछि चित्रकारको विनाविभागीय पद थप लम्बिने सम्भावना प्रबल बनेको छ ।

बैठकमा कांग्रेसले भौतिक मन्त्रालय फुटाउन गरेको प्रस्तावलाई माओवादी केन्द्रले ठाडै अस्वीकार गरेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

११ मन्त्रालय बढाउने अडान राखेका मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसका दबाबमा १२ मन्त्रालय बनाएपछि अहिले विना विभागीय मन्त्रीलाई व्यवस्थापन गर्नु सरकारको लागि फलामको चिउरा चपाउनु सरह भएको सरकारकै एक मन्त्रीको भनाई छ ।

कांग्रेसबाट मन्त्री बनेका उनले भने, ‘हामीले विना विभागीयलाई जिम्मेवारी दिन यति धेरै समस्या हुन्छ भनेर सोचेकै थिएनौँ, तर विषय निकै पेचिलो बन्दै गयो, समस्या समाधान हुन्छ भन्दै गर्दा थप समस्या बढ्ने देखियो ।’

कांग्रेसले चाहे जति मन्त्री बनाएपछि विना विभागीयको समस्याको समाधान पनि कांग्रेसबाटै हुनुपर्ने अडान माओवादीको छ । माओवादीले लिएको मन्त्रालयलाई फुटाएर कांग्रेसलाई दिन माओवादी कुनै पनि हालतमा तयार नभएपछि अब कुन मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मा दिने भन्ने विषयमा छलफल अघि बढेको बताइएको छ ।

प्रदेश सरकारमा मुख्यमन्त्री सहित ४ मन्त्रालय माओवादीको भागमा छ भने विना विभागीय चित्रकार समेत कांग्रेसले ६ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दा एकीकृत समाजवादीको भागमा दुई मन्त्रालय रहेको छ ।

यस विषयमा चित्रकारले भने ‘आफूलाई जुनै जिम्मेवारी दिएपनि कार्यान्वयन गर्ने बताए । यस अघि सहरी विकास मन्त्रालयको अडानमा रहेका चित्रकार पटक–पटकको छलफल सकारात्मक नभएपछि अब जुनै जिम्मेवारीमा पनि काम गर्ने मनस्थितिमा पुगेका हुन् ।


प्रतिक्रिया

One thought on “बागमती प्रदेश : भौतिक मन्त्रालय फुटाउने कांग्रेसको दाउ ७५ दिनसम्म पनि भएन सफल

  1. विना विभागीय भनेको काम नगरी खाएको । यत्रो समय काम नगरी खान मिल्छ ? उसले खाएको त्यो मुख्यमन्त्रीसँग उठाउ । यो झन ठूलो भ्रष्टाचार हो । लुटेरा, अनैतिकहरूलाई लाजै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर