भारतले चामल निर्यात रोकेपछि दबाबमा सरकार, अभाव हुन नदिन के छ तयारी ? – Nepal Press

भारतले चामल निर्यात रोकेपछि दबाबमा सरकार, अभाव हुन नदिन के छ तयारी ?

काठमाडौं । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ ।

नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो ।

भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान उत्पादन कम भएको भन्दै १५० भन्दा बढी देशमा चामल निर्यात रोकेको हो ।

भारतले सन् २०२१–२२ मा २ करोड १२ लाख टनभन्दा धेरै चामल विश्वका विभिन्न देशमा निर्यात गरेको थियो ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६६ औँ बैठकमा भारतले चामल रोकेपछि खाद्यान्न आपूर्तिको सहज कसरी बनाउने भन्ने विषयमा आज छलफल भयो । सो बैठक मुख्य सचिव डा। वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको थियो ।

बैठकमा अर्यालले देशका गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सो बैठक चामलको निर्यात कसरी सहज बनाउने भन्ने विषयमा नै केन्द्रित थियो ।

कृषि मन्त्रालयले भने चामलको अभाव सिर्जना हुन नदिनका लागि केही पनि तयारी गरेको छैन ।

कृषि मन्त्री बेदुराम भुसालको सचिवालयले भारतले चामल निर्यात रोकेपछि मन्त्रालयमा चामलको विषयमा कुनै छलफल नभएको नेपाल प्रेससँग बतायो ।

यसभन्दा अघि पनि भारतले चामल निर्यात गर्दा २० प्रतिशत कर वृद्धि गरेको थियो । कृषि मन्त्रालयले स्रोतका अनुसार त्यो बेला पनि सहज रूपमा नै चामलको आपूर्ति भएको थियो ।

अहिले भने भारतले चामल रोकेपछि आपूर्तिमा केही समस्या हुने हो कि भन्ने छ । तर, ठूलो असर भने नदेखिने आशामा सरकारी अधिकारीहरू छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भारतले चामल रोकेपछि नेपाली बजारमा चामलको आपूर्ति सहज बनाउने उपाय खोजिरहेका छन् ।

मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयले बजारमा चामल आपूर्तिको अवस्था हेरेर आवश्यक कदम चाल्छ ।’

कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच चामलको अभाव हुन नदिन संयुक्त रूपमा बजार अनुगमन गर्ने विषयमा छलफल भएको छन् । दुई मन्त्रालयको छलफलमा देशभर भएको धानको तथ्यांकसमेत राख्ने भनिएको छ ।

नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले धान नदिए नेपालमा चामल अभाव हुने बताए ।

उनले भने, ‘भारतले धान दिएन भने नेपालमा चामल आपूर्तिमा समस्या हुन्छ । यसभन्दा पहिले पनि भारतले हामीलाई ६ लाख मेट्रिक टन धानको कोटा दिएको थियो । अहिले पनि हामीले १५ लाख मेट्रिक टन धानको कोटा खुलाउन माग गरेका छौँ । नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन ।’

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षमा करिब १५ अर्बको चामल आयात भएको छ ।

नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ । तर धान खेती योग्य ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । ७० प्रतिशत धान खेती जमिनमा बर्खाको पानीको भर पर्नु पर्ने अवस्था रहेको छ ।

औसतमा नेपालमा प्रतिहेक्टर ४ टन धान उत्पादन हुन्छ । १४ लाख ७० हजार हेक्टरमा ५५ देखि ६० लाख मेट्रिक टन धान नेपालमा उत्पादन हुन्छ । सो उत्पादनले नेपालमा ८० प्रतिशतसम्म मात्रै माग धान्न पुग्छ भने २० प्रतिशत आयात गर्नुपर्ने बाध्यता हरेको छ ।

भारतले चामल निर्यात रोकेपछि प्रतिबोरा ३ सयसम्मले चामलको मूल्य नेपाली बजारमा वृद्धि भएको छ । श्रेष्ठ किराना स्टोरका सञ्चालक ओम श्रेष्ठले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि प्रतिकेजी २० रुपैयाँसम्म वृद्धि भएको बताए ।

उनले भने, ‘तलेजु, ऊर्जा, गुडलक, पनभट, थकाली, सुवागी गोल्ड र लग्रेनलगायत सबै प्रकारका चामलको मूल्य वृद्धि भएको छ । ७० रुपैयाँ केजी मूल्य भएको ९०, ९० रुपैयाँ केजी भएको ११० रुपैयाँ र १८० प्रतिकेजी भएको चामलको मूल्य २ सय पुगेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *