माओवादी सत्ता केन्द्रित हुँदा संगठनात्मक गतिविधि शून्य, नेतृत्वमाथि प्रश्नैप्रश्न – Nepal Press

माओवादी सत्ता केन्द्रित हुँदा संगठनात्मक गतिविधि शून्य, नेतृत्वमाथि प्रश्नैप्रश्न

काठमाडौं । प्रतिनिधिसभामा ३२ सीट जितेर तेस्रो बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अहिले सरकार छ । तेस्रो तर निर्णायक शक्ति बनेर प्रचण्डले कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर सरकार चलाइरहेका छन् ।

प्रचण्डले सरकार हाँक्दै गर्दा पार्टीका गतिविधि भने प्रायः शून्य अवस्थामा पुगेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ७ जना अहिले सरकारमा छन् । पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै सरकारमा गएपछि पार्टी सञ्चालनका लागि महासचिव देव गुरुङलाई हम्मेहम्मे परेको स्थिति छ ।

पार्टी नेतृत्वको सरकार बनेपछि पार्टीका अधिकांश नेताहरु बालुवाटार र सिंहदरबार नै केन्द्रित छन् । नेताहरु सत्ता केन्द्रित हुँदा पार्टी संगठन अस्तव्यस्त बनेको माओवादीकै नेताहरु स्वीकार्छन् । गत मंसिरमा भएको महाधिवेशनपछि माओवादीको पहिलो केन्द्रीय समितिको बैठक साउन १७ गते बोलाइएको छ ।

लामो समयपछि बस्न लागेको बैठक अहिलेको राजनीतिक परिवर्तनको विश्लेषण हुनुका साथै संगठनात्मक संरचनाको विषयमा केन्द्रित हुने सचिव दिनानाथ शर्माले बताए ।

उनले भने, ‘बैठक संगठनात्मक गतिविधिमा केन्द्रित हुन्छ । संगठन कस्तो बनाउने भन्नेबारेमा छलफल हुन्छ । त्यसको लागि विधान परिमार्जन गर्नुपर्ने भएकाले त्यसबारेमा निर्णय गर्छ ।’

उनले पार्टी र सरकारबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्नेबारे पनि बैठकको एजेण्डा बन्ने सुनाए । शर्माले भने, ‘अध्यक्षज्यू बाहिरबाट फर्किनुभएको छ । अब सम्भवतः भोलिदेखि नै बैठकको एजेण्डाबारे छलफल हुन्छ । स्थानीय, प्रदेश र संघीय सरकारबीचको अन्तरसम्बन्धको विषयलाई पनि प्राथमिकता राखेका छौं ।’

पार्टी सत्ता केन्द्रित भएकै कारणले संगठन भद्रगोल भएको नेताहरुकै गुनासो छ । त्यसलाई कसरी सम्बोधन गर्छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यही भएर यो बैठकले संगठन केन्द्रित भएर जानकै लागि योजना बनाउने भन्ने कुरा छ । सायद ६ या ३ महिने कार्यक्रम घोषणा गरेर नै अघि बढ्ने निर्णय होला । त्यही भएर बैठकलाई लामो बनाएका छौं ।’

यसअघि चलाएको दुई महिने अभियानको पनि समीक्षा हुने उनको भनाइ छ । अभियानको क्रममा आएको सुझावको आधारमा पनि संगठनात्मक संरचना, योजना र कार्यक्रमको बारेमा पनि छलफल हुने नेता शर्माले बताए ।

नेताहरुबीच आन्तरिक रस्साकस्सी

त्यसो त प्रचण्ड बाहिर हुँदा पनि बैठकको एजेण्डामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पदाधिकारी बैठक राखेर सामान्य छलफल राखेका थिए । सो बैठकमा अधिकांश नेताहरूले पार्टी विधान र विधिसम्मत नचलेको गुनासो गरेको पार्टी सचिव गणेश शाहले बताए ।

उनले भने, ‘पार्टी अहिलेसम्म विधानअनुसार नचलेको गुनासो आएपछि अब विधानलाई परिमार्जन गरेर जानुपर्छ भन्ने कुरा उठेको छ । त्यसैले विधान सम्मेलन गर्नेबारे पनि छलफल भइरहेको छ ।’

बैठकको चटारो चलिरहेको बेलामा पार्टीभित्र आन्तरिक रस्साकस्सी पनि चलिरहेको छ । अध्यक्ष प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको टकराव घटाउन नेत्रविक्रम चन्दलाई महासचिव दिएरै भए पनि पार्टीमा फर्काउने तयारी गरेपछि रस्साकस्सी चलेको छ । महाविधेशनको बेलामा शर्मा र पुनको टकरावको कारणले महासचिवमा देव गुरुङले मौका पाएका थिए ।

तर, अध्यक्ष प्रचण्ड विप्लवसँग नजिकिएपछि अहिले शर्मा, पुन र अर्का उपमहासचिव शक्ति बस्नेतले एकै ठाउँमा उभिएर पार्टी निर्माण गर्ने समझदारी बनाएका छन् ।

यी तीन नेताले एकै ठाउँमा उभिएर प्रचण्डलाई सहजै दबाबमा राख्न सक्छन् । माओवादीभित्र शर्मा र पुनको तल्लो तहसम्म गुट फैलिएको छ । उनीहरुको मात्रै नभएर वरिष्ठ उपाध्यक्ष श्रेष्ठको पनि छुट्टै समूह छ ।

पार्टी पुनर्निर्माण कसरी ?

पार्टी यथास्थितिमा नचल्ने भएकाले अब बस्ने बैठकबाट पार्टी पुनर्निर्माणको ठोस संकल्प गर्नुपर्ने नेताहरुको जोड छ । त्यहीअनुसार पार्टी पुनर्निर्माणलाई पनि अगाडि बढाउनेबारे छलफल भइरहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

मंगलबार गोरखामा पुगेर श्रेष्ठले भनेका थिए, ‘केन्द्रीय समितिको बैठक बस्दैछौं । हामीले पार्टीलाई शक्तिशाली कम्युनिष्ट पार्टीमा रूपान्तरण गर्न लागिरहेका छौं । हामीले पार्टीलाई यथास्थितिमा राखेर समाजवादको लक्ष्यमा पुग्न सक्दैनौं । वैचारिक, राजनीतिक, विधि र पद्धतिलाई समय सापेक्ष बनाउनुपर्छ ।’

वामपन्थी शक्ति निर्माणको लागि मोर्चा हुँदै एकताको प्रयास गरिरहेको उनले बताए । पार्टीसँगै सरकारलाई पनि सुशासनको पक्षमा निरन्तर अगाडि बढाउने उनको भनाइ छ ।

पार्टी नेतृत्वको सरकारले अहिले माथिबाट सकारात्मक लय समाते पनि त्योअनुसारको संगठनले क्याच गर्न नसकेको नेता हिमाल शर्मा स्वीकार्छन् ।

उनी भन्छन्, ‘पार्टीले गरेका राम्रा कामको पार्टी संगठनले प्रचार पनि गर्न सकेन । त्यसैले केन्द्रीय समितिको बैठकमा संगठनलाई कसरी सुदृढ बनाउने भन्ने विषयमै केन्द्रित हुन्छौं । अहिलेको संगठन परम्परागत छ । त्यसलाई बदल्न चाहन्छौं ।’

उनले अहिले कार्यविभाजनमा पनि समस्या देखिएको बताए । नेता शर्माले थपे, ‘पार्टीमा नेताहरुको कार्यविभाजनलाई पनि हेरफेर गर्छौं । संरचनागत पनि फेरबदल गर्छौं । जनवर्गीय संगठन, पार्टीका विभागहरुलाई व्यवस्थित गर्नेबारे, कुन कुन नेतालाई क्षमताअनुसारको कार्यविभाजन गर्ने भन्नेबारे पनि होमवर्क चलिरहेको छ ।’

अहिले संगठनात्मक संरचनामा कहीं न कहीं कमजोरी भएको उनले स्वीकारे ।

‘हामीले कार्यकारी त प्रत्यक्ष निर्वाचित भन्छौं, हाम्रो सिद्धान्त त्यो छ । हामीले राष्ट्रपति पनि प्रत्यक्ष निर्वाचित भनेका छौं । तर, हाम्रो संगठन अत्यन्त फितलो र परम्परावादी, संसदवादी छ’, उनले भने ।

यस्तै अर्की नेतृ जयपुरी घर्ती पनि अब पार्टी पुनर्निर्माण गरेर ठूलो र शक्तिशाली बनाउनेमा केन्द्रित हुनुपर्ने बताउँछिन् ।

उनले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता पार्टीलाई सुदृढ गर्नुपर्छ भन्ने हो । विचार मिल्नेहरुसँग एकताबारे पनि कुरा भइरहेको छ । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ भन्नेमा एकमत छौं ।’

उनले पार्टी सत्ता केन्द्रित भन्दा पनि सानो पार्टी भए पनि सरकारको नेतृत्व गर्नु ठूलो कुरा भएको बताइन् । ‘पार्टीले सरकारको नेतृत्व गर्नुलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, सत्ता केन्द्रित मात्रै भएर हुँदैन । पार्टीलाई पनि सँगै लानुपर्छ भन्नेमा सबैको जोड छ । अहिले पार्टीलाई सोचे जस्तो मूभ गर्न सकेका छैनौं’, उनले भनिन् ।

पार्टीमा भएको सबै कमजोरीलाई नेतृत्व तहबाटै आत्मसात गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।

नेतृत्वमाथि प्रश्न

त्यसो त नेता शर्माले पदाधिकारी चयन गर्न पनि महाविधेशन प्रतिनिधिले प्रत्यक्ष चुन्न पाउनुपर्ने माग राख्छन् । उनले भने, ‘हाम्रो त अरु संसदीय दलभन्दा पनि पछाडिको अभ्यास गरिरहेका छौं । अब हुने महाधिवेशनमा प्रत्यक्ष निर्वाचित अध्यक्ष लगायत पदाधिकारी चयन होस् भन्ने चाहन्छौं ।’

उनले सिनियरको आधारमा पार्टीमा नेताहरुलाई जिम्मेवारी दिँदा चार्मिङ आउन नसकेको बताउँछन् । उनले भने, ‘अहिले यत्रो ठूलो पदाधिकारी छ । यसले खास पार्टी ह्याण्डल गर्न सकेको जस्तो लाग्दैन । त्यो भएको हुनाले नेतृत्वको टीममा नै जुझारु पुस्ताहरुलाई ल्याउनुपर्छ । त्यसैले संगठन निर्माणको परिभाषालाई पनि बदल्नुपर्छ।’

उनले बैठकमा विशेष महाधिवेशन एजेण्डाको रुपमा आउने दाबी गरे । आठौं महाधिवेशनमा पनि भनेका छौं । संगठनात्मक हिसाबले पनि नयाँ विधि स्थापित गर्न खोजेकाले अहिलेको बैठकले मिति तोक्नुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर