लम्कीस्किनबाट लुम्बिनीका किसानलाई करोडौँ नोक्सान – Nepal Press

लम्कीस्किनबाट लुम्बिनीका किसानलाई करोडौँ नोक्सान

तत्काल सबै क्षेत्रमा खोपको व्यवस्था गर्न सांसदहरूको माग

रुपन्देही । लुम्बिनी प्रदेशमा लम्पीस्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्यहोरेका छन् । अहिले पनि सबै ठाउँमा पर्याप्त खोप पुग्न नसक्दा किसानहरू समस्यामा परेका छन् । धान रोप्ने समयमा गोरुमा आएको यो समस्याले धेरै ठाउँका किसानहरूलाई समस्या परेको छ ।

प्राप्त पछिल्लो तथ्यांकअनुसार यो प्रदेशमा मात्रै लम्पीस्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित हुँदा ५ हजार ८९ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार ८८ हजार ९ सय ८४ सक्रिय सङ्क्रमित उपचार भइरहेको र बाँकी निको भएका छन् ।

सरकारले प्रदेशमा रहेका सबै जिल्लाका स्वस्थ्य पशुलाई लम्पीस्किन विरुद्धको खोप लगाउन सुरु गरे पनि त्यो पर्याप्त नभएको विषय कृषि तथा पशु क्षेत्रमा काम गर्नेहरू जनाएका छन् ।

प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा. परबेज आलमले बताए ।

उनले अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाएको बताउँदै अबको व्यवस्थापनको लागि ५ करोड रुपैयाँ माग गरिएको जनाए ।

डा. आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले एक करोड रुपैयाँको भन्दा धेरैको नोक्सान भएको अनुमान छ । तर, यसबारे यकिन नोक्सानको मूल्य अझै आउन सकेको छैन । विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र तथा पशु कार्यालयबाट यसको यथार्थ तथ्यांक आउन सकेको छैन ।

प्रदेशमा सबै जिल्लामा साउन ४ देखि किसानको गोठ गोठमा पुगेर खोप लगाउन सुरु गरिएको प्रदेश निर्देशनालयले जनाएको छ । यसअघि केही पालिकाहरू आफैले व्यवस्थापन गरेर खोप लगाए पनि त्यो पर्याप्त हुन सकेको छैन ।

निर्देशक डा. आलमले अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७ सय २१ खोप लगाइएको जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डा. भरत काफ्ले प्रदेश सरकारले पठाएका भ्याक्सिन पालिकामा वितरण गरिरहेको बताउँछन् ।

उनले प्रदेशबाट आएका २५ सय भ्याक्सिन अहिले प्रत्येक पालिकामा २ सयका दरले पठाइएको बताउँदै प्राविधिकहरूले किसानको घर घरमा पुगेर खोप लगाउन सुरु गरेको जनाए । अहिलेसम्म पाल्पामा साढे ४ सय पशुमा खोप लगाइ सकिएको प्रदेश निर्देशनालयले जनाएको छ ।

गुल्मीमा १५ हजार भ्याक्सिनको माग रहेको छ । गुल्मीमा हालसम्म ८६०४ पशु संक्रमित छन् । जिल्लामा यो रोगबाट ३ सय ३२ पशुको मृत्यु भएको छ ।

उता पाल्पामा अहिलेसम्म ६४०१ पशु संक्रमित भएका छन्, त्यसमध्ये २९७ पशु मरेका छन् ।

अर्घाखाँचीमा ६२८० पशुको संक्रमित भएका छन् भने १९२ पशुको मृत्यु भएको छ । अहिलेसम्म १७८४ पशुमा खोप लगाइएको छ ।

लम्पी स्किन रोगबाट धेरै क्षति पुगेको दाङ जिल्लामा २८,६७३ पशु संक्रमित भएका छन् भने यो रोगबाट ७२४ पशुको मृत्यु भएको छ । यहाँ १२०० स्वस्थ्य पशुलाई खोप लगाइएको छ ।

पूर्वी रुकुममा १२ हजार ७१ पशुमा लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । यहाँ ९६५ पशुको मृत्यु भएको छ । तर यो जिल्लामा अहिलेसम्म खोप लगाइएको अवस्था छैन ।

रोल्पामा ३० हजार ३७९ पशु सङ्क्रमित भएका छन् भने १९२३ पशुको मृत्यु भएको छ । यहाँ हालसम्म ११५० पशुमा खोप लगाइएको अवस्था छ ।

प्रदेशको नवलपरासी र बर्दियामा भने अन्य जिल्लाको तुलनामा निकै कम पशुहरू संक्रमित भएका छन् । नवलपरासीमा हालसम्म ३४९ पशु सङ्क्रमित भएका छन् भने जम्मा १६ पशुको मृत्यु भएको छ । यो जिल्लामा ११५० स्वस्थ्य पशुलाई खोप लगाइएको छ । बर्दियामा ३७९ पशु सङ्क्रमित भएका छन् भने यहाँ जम्मा ४ वटा पशुको मृत्यु भएको छ ।

रुपन्देहीमा संक्रमित दर उच्च रहेको छ । प्रदेश निर्देशनालयको तथ्याङ्कअनुसार यहाँ हालसम्म ६७८५ पशु सङ्क्रमित भएका छन् भने १८६ को मृत्यु भएको छ । यहाँ १४६४ पशुमा खोप लगाइएको छ ।

कपिलवस्तुमा १२ हजार पशु सङ्क्रमित भएका छन् भने ३०० को मृत्यु भएको छ । यहाँ हालसम्म ५५८ मा खोप लगाइएको छ ।

बाँकेमा ४ हजार पशु सङ्क्रमित भएका छन् भने २०० को मृत्यु भएको छ। यहाँ २३३७ मा खोप लगाइएको छ ।

प्युठानमा २२३० सङ्क्रमितमध्ये ५० पशुको मृत्यु भएको छ । यहाँ १२७४ पशुमा खोप लगाएको अवस्था छ ।

पछिल्लो समय स्थानीय र प्रदेश सरकारबाट खोप पाएपछि किसानलाई केही राहत मिलेको छ ।

लम्की स्किनबाट भएको क्षतिका विषयमा प्रदेश सांसदहरूले बुधवार सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद गिरिधारीलाल न्यौपानेले यो रोगबाट किसान आहत भएको, त्यसको ऋणमाथिको यो समस्याबाट अझै पीडित भएको तर सरकारले केही गर्न नसकेको, दुःखमा जनताले केही पाएनन्, जम्मा खोप २७ हजारले पाएका छन्, गाई र भैँसी २४ लाख रहेका छन् तर २१ लाख गाईभैँसीलेले खोप पाएका छैनन्, यस्तो समयमा पनि ध्यान नदिने, बिमाले केही नगरेको, बिमा भागेको, बिमा गराउने अनि भाग्ने तर सरकारले त्यसमा ध्यान नदिएको सांसद भुवनेश्वर चौधरीले किसानको समस्या नसुनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *