जहाज कुर्दाकुर्दै मुगुका बिरामीको बाजुरामा गयो ज्यान – Nepal Press

जहाज कुर्दाकुर्दै मुगुका बिरामीको बाजुरामा गयो ज्यान

कैलाली । मुगुका एक बिरामीले जहाज कुर्दाकुर्दै बाजुरामा ज्यान गुमाउनुपरेको छ । उच्च रक्तचापको समस्याबाट पीडित मुगुका विर्खलाल कार्कीको बाजुरास्थित प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मृत्यु भएको हो ।

जिल्लामा उपचार सम्भव नभएपछि धनगढी वा नेपालगञ्ज लैजान चिकित्सकले सुझाव दिएका थिए । कार्कीका आफन्त तथा परिवारका सदस्यहरूले धनगढी वा नेपालगञ्ज लैजान जहाज कुरिरहेका थिए ।

तर, समयमा जहाज नआउँदा कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा प्रमुख डाक्टर प्रतीक न्यौपानेले जानकारी दिए ।

जिल्लामा सिटीस्क्यानसहितको सुविधा नभएपछि कार्कीलाई थप परीक्षण र उपचारका लागि अन्यत्र लैजान सुझाव दिइएको थियो । तर, २ दिनसम्म पनि जहाज आएन । उनको जहाज कुर्दाकुर्दै ज्यान गएको उपचारमा संलग्न डाक्टर न्यौपानेले जानकारी दिए ।

मुगुको खत्याग गाउँपालिका-१ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो । कार्की कोल्टीमा पुग्दासम्म अवस्था जटिल भइसकेको थियो । स्वास्थ्य चौकीमा पुग्नासाथ उनलाई अन्यत्र रिफरको तयारी गरिएको थियो ।

वर्षाले सडक अवरुद्ध भएपछि यहाँ यातायातको एकमात्र साधन हवाई मार्ग बनेको छ । तर, जहाज पनि नियमित आउँदैन । कार्कीलाई जहाज नआएपछि हेलिकप्टरमार्फत पनि धनगढी वा नेपालगञ्ज ल्याउने तयारी गरिएको थियो । मौसम प्रतिकूल हुँदा हेलिकप्टर पनि आउन नसक्दा उनको मृत्यु भएको न्यौपानेले जानकारी दिए ।

पछिल्लो ३ महिनामा यसरी सवारीसाधन नपाएर बाजुरामा ६ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर