पाल्पाको माथागढीमा भुक्तानीकाे विषयलाई लिएर उपभोक्ता समिति र कर्मचारीकाे विवाद बढ्दै – Nepal Press

पाल्पाको माथागढीमा भुक्तानीकाे विषयलाई लिएर उपभोक्ता समिति र कर्मचारीकाे विवाद बढ्दै

जनप्रतिनिधि र कर्मचारीले आफ्नो बचाउ गर्दै सुरु गरे वक्तव्यबाजी

रुपन्देही । पाल्पाको माथागढी गाउँपालिकामा असार मसान्तको अन्तिम दिन सबै प्रकृया पूरा गरेका ठेकेदार र उपभोक्ता समितिले भुक्तानी नपाएपछिको विवाद बढ्दै गएको छ ।

गाउँपालिकाको प्राविधिक प्रणाली बिग्रिएपछि असार मसान्तको बैंकिङ कारोबार हुने अन्तिम दिन २४ गते ठेकेदार र उपभोक्ता समितिले भुक्तानी नपाएपछि २५ गतेदेखि हात हालाहालको अवस्थामा पुगेको थियो ।

आक्रोशित उपभोक्ताले कर्मचारीमाथि जाइलाग्ने अवस्था सृजना भएपछि बढेको विवाद अहिलेसम्म साम्य भएको छैन । कर्मचारीले आफूहरुमाथि हातपात भएको, विभिन्न धम्की आएको भन्दै सबै काम छाडेर बसेका छन् भने गाउँपालिकाले २४ गते प्राविधिक समस्याका कारण रोकिएपनि पछि भुक्तानीको प्रकृया मिलाएकाले अब विवाद बढाउन नहुने पक्षमा रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीका अनुसार असार २३ गते सूत्र प्रणालीमा पटक–पटक समस्या आएको र २४ गते बेलुकासम्म उक्त प्रणाली नचल्दा केही फाइल सदर हुन बाँकी थिए । सूत्र प्रणाली चालु रहँदासम्म कुनै पनि भुक्तानी बाँकी नराख्नेगरी काम भइरहेको, भौचर उठाइसकेका फाइलहरू इएफटी सदर गर्न राती पौने १२ बजेसम्म भौचर उठाई सबै योजनाको काम सकिएपनि उठिसकेका भौचरहरूको पनि इएफटी गर्न नमिल्ने गरी प्रणाली लक भएकाले समस्या आएको उनले बताए ।

भुक्तानीसम्बन्धी धेरै सेवाग्राहीको गुनासो आएकामा जनप्रतिनिधिलाई समेत यथार्थ व्यहोराको रिपोर्टिङ गरी सेवा पुनः सुचारु भई भुक्तानी हुने सम्भावनाबारे आश्वस्त पारेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष यम चिदीले भुक्तानीको अन्तिम दिन प्राविधिक समस्याका कारण यस्तो भएको बताए । उपभोक्ता समितिका साथै ठेक्कामा भएका कामहरूको भुक्तानीका लागि भीड जम्मा भएको र उनीहरूले गुनासो राख्न आएको तर इएफटी खुल्ने र भुक्तानीको विषयमा समाधान निकाल्ने प्रयास भइरहेका बेला उपभोक्ताले घेराउ गरेको बताए ।

‘भुक्तानीका विषयमा उपभोक्तालाई मैले नै सम्झाइबुझाइ गरेर फिर्ता पठाउन सहयोग गरेको हो, कर्मचारीको सुरक्षाका विषयमा गाउँपालिका अध्यक्ष भएकाले मैले नै जिम्मा लिनुपर्छ । अब समाधानको विषयमा जानुपर्दछ’– उनले भने ।

हातपात नभएको र भनाभन अलि बढी भएकाले उपभोक्तालाई एक–एक गरी कार्यालयभित्र बोलाएर सम्झाइबुझाइ फिर्ता पठाएको, कर्मचारीलाई अभद्र व्यवहार गर्न नदिन आफू पालिका बैठक रोकेरै सहजीकरण गर्न पुगेको अध्यक्ष चिदीले बताए ।

निजामति कर्मचारी युनियनको आपत्ति

गाउँपालिकामा कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी युनियन पाल्पाले ध्यानाकर्षण भएको जनाएको छ ।
कर्मचारीहरुलाई कार्यकक्षमै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज, अपशब्द, अभद्र व्यवहार, भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादित भएको युनियनको भनाइ छ ।

गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरी तथा खाताबन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पूरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरतकर्मचारीमाथि भएको आक्रमणका दोषीमाथि कारबाहीको माग युनियनले गरेको छ ।

अध्यक्ष रवि अर्यालले विज्ञप्ती जारी गर्दै सेवामा खटिई रहेका कर्मचारीमाथि कार्यस्थलमा भएको अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको विरोध गर्दै अमानवीय घटनामा संलग्न दोषीमाथि कारबाही नभए सशक्त आन्दोलनमा जान बाध्य हुने जनाइएको छ ।

विज्ञप्तीमा समस्या समाधानका लागि नीतिगत एवं प्रणालीगत सुधारको पहल गर्नुको सट्टा जनप्रतिनिधिको संलग्नतामाथि प्रश्न उठाउँदै समाधानको पहल गर्न गाउँपालिका र सरोकारवालहरु आग्रह गरिएको छ ।

सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने

गाउँपालिकाका कर्मचारीले ज्यान मार्ने धम्की उपभोक्ता समितिबाट आएको भन्दै सुरक्षाको माग गर्दै त्यसको ग्यारेन्टि नभएसम्म काममा फर्कन नसक्ने जनाएका छन् ।

उपभोक्ता समिति र ठेक्काबाट गराइएका कामको भुक्तानीका विषयमा गाउँपालिका घेराउ गरी अपशब्द, गलीगलौच र आक्रणको प्रयास गरेपछि सुरक्षाको माग गर्दै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, लेखा अधिकृत सन्तोष दाहाल, इन्जिनियर धर्मेन्द्रकुमार यादव र लेखापाल टीकाराम बस्यालले दोषीउपर कारबाही नभएसम्म गाउँपालिकामा उपस्थित भई सुरक्षित रही कामकाज गर्न सक्ने अवस्था नरहेको निवेदनमा उल्लेख गरेका छन् ।

असार २६ गते कार्यपालिका बैठकमा लेखा अधिकृत दाहाललाई उपस्थित गराई भुक्तानीसम्बन्धी विषयमा हुर्मत लिने काम भएको, लेखा अधिकृतलगायतका कर्मचारीलाई ज्यान लिनेसम्मको धम्की दिएको र थुनिएका लेखाका कर्मचारीलाई झ्यालबाट लठ्ठीले घोची भौतिक आक्रमणको प्रयास भएको निवेदनमा उल्लेख छ ।

निवेदनमा गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरूकै सामुन्नेमा अभद्र व्यवहार हुँदा उचित संरक्षण र अभिभावकत्वको महशुस गर्न नसकेको र भीडमा योजना तथा कार्यक्रमसँग सम्बन्धित भन्दा असम्बन्धित व्यक्ति धेरै रहेको निवेदनमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निवेदन र अन्य प्रमाणहरू प्राप्त भएको र समयमा भुक्तानी नभएकाले यस्तो समस्या आएको बताउँदै समाधानको बाटो खोजिएको बताएका छन् ।

  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *