क्यानका महानिर्देशक अधिकारीले बुझाए मन्त्री किरातीलाई स्पष्टीकरण – Nepal Press

क्यानका महानिर्देशक अधिकारीले बुझाए मन्त्री किरातीलाई स्पष्टीकरण

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् ।

पहिलो पटक सात दिने समय दिएर सोधेको स्पष्टीकरणमा निर्देशक अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेका थिए ।

मन्त्रीको सचिवालय स्रोतले शुक्रबार स्पष्टीकरण बुझाएको र सो पत्र आज दर्ता भएको पुष्टि गरेको छ । मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएको पोखरा विमानस्थल सम्बन्धी विषय त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण नदिने अडान लिएका थिए ।

नेपालप्रेससँगकै कुराकानीमा पनि मन्त्रिपरिषद्ले आफुलाई नियुक्त गरेकोले मन्त्रीलाई नभइ मन्त्रिपरिषद्ले नै स्पष्टिकरण मागेको खण्डमा मात्र आफुले स्पष्टिकरण दिने अडान महानिर्देशक अधिकारीले लिएका थिए । अधिकारीले अहिले मोबाइल स्विच अफ गरेर बसेका छन् । स्पष्टीकरण सोधिएकै बेला गोप्य स्पष्टीकरण पत्र सार्वजनिक गरेको भन्दै उनी असन्तुष्ट बनेका थिए ।

मन्त्री किराँतीले सात दिनको समय दिँदै अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं। १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ । सात दिनको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री किरातीले दोस्रो पटक चेतावनीसहितको स्पष्टीकरण मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *