लामो समयपछि बुद्धको मावली क्षेत्र देवदहमा उत्खनन्ः खयरडाँडामा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना – Nepal Press

लामो समयपछि बुद्धको मावली क्षेत्र देवदहमा उत्खनन्ः खयरडाँडामा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

रुपन्देही । बुद्धको मावली क्षेत्र रुपन्देही देवदहको प्राचीन दरबार रहेको दावी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाँडामा गरेको उत्खनन्मा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको हो ।

गत जेठ १७ गतेदेखि सुरु गरी असार १५ गतेसम्म करिव एक महिनासम्म गरिएको उत्खनन्बाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इँट्टा, माटोको दियोहरु प्रशस्त भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए ।

‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इट्टा भेटिएको छ’पुरातात्वविद् उप्रेतीले भने,‘मध्यकालीनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’

उत्खनन्मा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको छ । पुरातात्वविद् उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ ।

स्थानीयहरुले भने देवदह- ९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र भएको बताउँदै आएका छन् । उत्खनन्मा केही प्राचीन इनारसँगै ध्यान केन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताइन्छ ।

तर, प्राचीन कोलीय गणराज्यको राजधानी देवदह क्षेत्रको एकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खनन्को आवश्यता रहेको विज्ञहरुको बताउँछन् । लामो समयपछि कोषका तर्फबाट उत्खनन् सुरुवात भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन् आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाइ छ ।

लामो समयदेखि देवदह क्षेत्रमा उत्खनन्को माग भएपनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खनन्लाई बिशेष महत्व दिँदैं वर्षौंपछि उत्खनन् थालिएको हो । उत्खनन्ले प्राचीन इनार र भग्नाअवेषहरु पत्ता लागेकाले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताए ।

उनले स्थानीयहरुले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताएपनि उत्खनन्ले प्राचीन क्षेत्रको रुपमा पुष्टि गरेको बताए । उनले देवदहको खोजीका लागि निरन्तर उत्खनन् गर्नुपर्नेमा जोड दिए । देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रुपमा विगतको उत्खनन्ले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।

देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन् तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्विक क्षेत्रको उत्खनन्लाई निरन्तरता दिने उल्लेख गरेको छ ।

उत्खनन्बाट प्राप्त भएका पुरातात्विक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्राहलय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए ।

यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन् गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *