प्रधानमन्त्रीको राजीनामा मागबारे गठबन्धन नेता- बोल्न नहुने कुरा बोलेकोमा एकमत, तर संसदमै फेस गर्ने अडान – Nepal Press

प्रधानमन्त्रीको राजीनामा मागबारे गठबन्धन नेता- बोल्न नहुने कुरा बोलेकोमा एकमत, तर संसदमै फेस गर्ने अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर राजीनामा मागेपछि सत्ता गठबन्धन बचाउमा उत्रिएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीले संसद फेश गर्ने निष्कर्ष निकाले हो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको हामीले निष्कर्ष निकालेका छौं । उहाँहरू मिटरब्याज पीडितको पक्षमा होइन । शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो । उहाँहरू जनतालाई जति लुटे पनि हुन्छ भन्ने पक्षमा उभिनुभयो ।’

प्रमुख प्रतिपक्षसहित विपक्षी दलको रोल उचित नभएको उनको भनाइ छ ।

यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पनासमेत गर्न नसकिने बताउँछन् ।

उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’

उनले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको दाबी गरे । मिटरव्याज पीडित र भ्रष्टाचारविरुद्ध सरकार उभिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको आरोप लगाए ।

तर, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रधानमन्त्रीकै गल्ती भएको बताउँछन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र राष्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

उनले प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुने बताए । शर्माले भनेका छन्, ‘सत्तारूढले नै प्रश्न गरेका छौं । प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’

यस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अहिलेसम्म पार्टी हाइ कमाण्डमा छलफल नभएको बताए ।

उनले भने, ‘हामीले पनि मिडियाबाटै सुनेका हौं । उहाँले कुन प्रसंगमा कसरी भन्नुभएको थियो । त्यो हामीलाई थाहा छैन । त्यस्ता अभिव्यक्ति आउनु एउटा राजनीतिकर्मी र देशका लागि राम्रो होइन । हामीले सुन्दा राम्रो देखिँदैन ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आएको विषयले राम्रो सन्देश नदिने उनको भनाइ छ ।

उनले भने, ‘उहाँले गरेको पहलले प्रचण्डजी प्रधानमन्त्री हुनुभयो कि भएन हामीलाई थाहा छैन । कसैले कोहीमाथि शुभेच्छा राख्नसक्छ । तर, जुन रुपले कुरा आएको छ । त्यसलाई राम्रो लिन सकिँदैन । उहाँले कुन प्रसंगमा भनेको प्रस्ट पार्नुहोला ।’

प्रमुख प्रतिपक्षी दल एमालेले त राजीनामा दिनुपर्ने अडान लिएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुले राजीनामा माग्यो भन्दैमा दिनुपर्छ भन्ने छैन । हामी पनि तत्काल प्रधानमन्त्री फेर्ने पक्षमा छैनौं । त्यो हुन सक्दैन ।’

त्यसो त जसपाका प्रवक्ता मनिष सुमनले पनि प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले बोल्दा विचार गर्नुपर्ने तर्क गर्छन् ।

उनी भन्छन्, ‘उहाँले मैले नबोलेको कुरालाई अनावश्यक ढंगबाट प्रचार गरियो भनिराख्नुभएको छ । त्यो उहाँको कुरा हो । तर, प्रधानमन्त्रीले ख्याल गरेर बोल्नुपर्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले पदमा बसेपछि जिम्मेवार भएर बोल्नुपर्ने तर्क गरिरहेका छन् । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदनका दुवै बैठक चल्न नसक्ने पक्षमा एमाले उभिएको छ ।

प्रधानमन्त्रीले सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली- द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित छ ।

गठबन्धनले मात्रै नभएर प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको प्रधानमन्त्री सचिवालयले आरोप लगाएको छ । प्रेस सल्लाहकार गोविन्द आचार्यले एक प्रेस नोट जारी गर्दै सिंहसँग प्रधानमन्त्रीको औपचारिकमात्र नभएर भावनात्मक एवं पारिवारिक सम्बन्धसमेत रहेको प्रष्टीकरण दिएका छन् ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले पनि आफूले बोलेको विषय प्रितम सिंहले किताबमा लेखेको र प्रसंग पनि पुरानो भएको प्रष्टीकरण दिइसकेका छन् ।

‘मैले बोलेको केही पनि छैन । पुस्तकमा जसको बारेमा चर्चा छ, यो अहिले होइन २०७२ सालतिरको कुरा हो । त्यतिबेला मलाई प्रधानमन्त्री बनाउन कहिले कुन पार्टीलाई भेट्ने, कहिले कुन पार्टीलाई भेट्ने, कहिले दिल्ली दौडिन्थे उनी भनेको थिएँ  । त्यो पनि मेरो कुरा थिएन उनको कुरा थियो’, बुधबार प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर