बजेट भाषणमा अतिरिक्त हुलाक खारेज गर्ने भनेपछि देशव्यापी आन्दोलन, रोजगारी खोसेको गुनासो (भिडियो) – Nepal Press

बजेट भाषणमा अतिरिक्त हुलाक खारेज गर्ने भनेपछि देशव्यापी आन्दोलन, रोजगारी खोसेको गुनासो (भिडियो)

रुपन्देही । सरकारले अतिरिक्त हुलाक खारेज गरेको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् । जेठ १५ आएको बजेटमा देशभरका अतिरिक्त हुलाक खारेज भएपछि कार्यरत कर्मचारी निरन्तर आन्दोलनरत छन् ।

लामो समय अत्यन्तै न्यून तलबमा काम गरे पनि विनाजानकारी कुनै सेवा सुविधा नदिई हटाइएको गुनासो उनीहरुको छ । अतिरिक्त हुलाक कार्यालय कामकाजविहीन भएको भन्दै सरकारले जिल्ला र इलाका हुलाकमात्र राख्ने निर्णय बजेटमार्फत गरेको छ ।

रुपन्देहीमा मात्र ५३ यस्ता कार्यालय बन्द हुँदा १७२ जना कर्मचारी बेरोजगार भएका छन् । उनीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय हाताभित्र निरन्तर धर्ना दिइरहेका छन् । यहाँको धर्ना सकिएपछि काठमाडौं घेराउ गर्न जाने अतिरिक्त हुलाक जिल्ला कर्मचारीका संयोजक अशोककुमार तिवारीले बताए ।

उनले सरकारले खर्च घटाउने नाममा २ दशकदेखि अत्यन्त कम तलबमा काम गरेका कर्मचारीलाई सेवासुविधाविना हटाएर ठूलो गल्ती गरेको बताए ।

अर्का कर्मचारी गोमा बोहोराले लामो समय कम तलबमा सेवा गरेका कर्मचारीलाई विनाविकल्प हटाइएकाले आफूहरु आन्दोलनमा जानुपरेको बताइन् ।

त्यस्तै सन्तोषकुमार पाठकले सरकारले खटाएर अहिलेसम्म काम गरिरहेको अवस्थामा एकैपटक केही सेवा सुविधा नदिई हटाउन नपाइने र आफूहरु निरन्तर आन्दोलनमा लागिरहने बताए ।

सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजको घोषणा गरेपछि कर्मचारीहरूले हुलाक कार्यालयमा तालाबन्दी गरेका थिए ।

आन्दोलनरत कर्मचारीहरु अतिरिक्त हुलाक खारेजीको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न नपाइने, हुलाकको पुनर्संरचना गर्नुपर्ने र राजीनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिका आधारमा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसनले असार ४ गतेसम्म सबै सेवा बन्द, ५ देखि ९ गतेसम्म सेवा बन्द गरी कालोपट्टी बाँधेर हुलाक कार्यालयमा शान्तिपूर्ण प्रदर्शन, असार १० गतेदेखि सबै हुलाक कार्यालयमा विरोध प्रदर्शन गरी सबै काम रोक्ने र तालाबन्दी गरेको छ । आफूहरुको माग पूरा नभए हुलाक सेवा विभागमा धर्ना दिने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईंले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “बजेट भाषणमा अतिरिक्त हुलाक खारेज गर्ने भनेपछि देशव्यापी आन्दोलन, रोजगारी खोसेको गुनासो (भिडियो)

  1. चिनजान र पहुचका भरमा कामै नगरी खान पल्किएका यि जागिर गएपछि आन्दोलन गर्ने नै भए नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर