युग अनुकूलको संस्कृति निर्माण आजको मुख्य दायित्व : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

युग अनुकूलको संस्कृति निर्माण आजको मुख्य दायित्व : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण हुन नसकिरहेको अवस्थामा युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताए ।

नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याए ।

उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने बताए ।

उनले समाजवादोन्मुख व्यवस्थाको लक्ष्य पूरा गर्न आवश्यक पर्ने श्रमको सम्मानमा आधारित अन्तर्वस्तु र सौन्दर्य शास्त्रको निर्माण गर्ने साहित्य र संस्कृतिको निर्माण गर्ने काम प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

One thought on “युग अनुकूलको संस्कृति निर्माण आजको मुख्य दायित्व : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. युग अनुकुल संस्कृति भनेको एक महिना अघि एउटासँग मिलेर सरकार बनाउने, एक महिना पछि अर्कैसँग पोईल जाने, फेरि दुई महिना पछि पदमा टिकिरहन मोर्चा बनाउने, पद बिना बाँच्नै नसक्ने संस्कृति त भनेको होला नि तिमिले । भाँडमा जाओस यस्तो दहीचिउरे संस्कृति लुटेराहरूको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर