अव्यवस्थित तार हटाउन बुटवलका मेयरको एक्सन, अटेर गरे सेवा रोक्ने तयारी – Nepal Press

अव्यवस्थित तार हटाउन बुटवलका मेयरको एक्सन, अटेर गरे सेवा रोक्ने तयारी

रुपन्देही । बजार क्षेत्रमा असरल्ल छरिएका तारहरुको कारण बढेका जोखिम घटाउन बुटवल उपमहानगरले विभिन्न सेवाप्रदायक कम्पनीहरुलाई अल्टिमेटम दिएको छ । बजार क्षेत्रमा रहेका पोलहरुमा दूरसञ्चार, इन्टरनेट सेवा प्रदायक र विद्युतका तारहरु असरल्ल छाडिँदा आगलागी तथा विभिन्न ठाउँमा तारहरु झुण्डिँदा दुर्घटनाको जोखिम बढेको भन्दै उपमहानगरको आलोचना बढेको थियो ।

पटक पटक तार व्यवस्थापन गर्न आग्रह गरिएपनि सम्बन्धित निकायले बेवास्ता गरेका छन् । विद्युत्का पोल ढल्ने गरी गुजुल्टो पारिएको तारले बेला बेलामा आगालागीका घटनासमेत हुने गरे पनि नियमन निकाय यसबारे बेखबरजस्तै बनेको छ ।

बुटवलको योगिकुटी, मिलनचोक, बसपार्क, देवीनगर, अस्पताललाइन, ट्राफिकचोक, हाटबजार, दीपनगर, गोलपार्क क्षेत्रमा अहिले भित्री सडक र मुख्य राजमार्गमा तार यत्तिकै छाडिएको छ ।

तारको भार बढी हुँदा कहीँ कतै त विद्युतका पोल नै बाङ्गिएका छन् । तर त्यसको मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि उस्तै बढेको छ ।
अहिले बुटवलको मुख्य सडक निर्माणाधीन छ । फुटपाथ पनि अस्तव्यस्त छ । त्यही फुटपाथमा लत्रिएका अव्यवस्थित तारका कारण पैदलयात्रुलाई समस्या छ ।

मिलनचोकदेखि तीनकुनेतर्फ जाने सडकका पोल पोलमा ताल चुँडाएर गुजुल्टो पारी भुईंमै राखिएको छ । उक्त सडक पनि अहिले निर्माण क्रममा छ । स्थानीय राज पोखरेलले अधिकांश पोलमा विभिन्न नेटका तारहरु बढी अस्तव्यस्त रहेकाले त्यसमा ध्यान दिन आग्रह गरेका छन् ।

अर्का उपभोक्ता खड्कबहादुर महतले नेट संचालकलाई यसरी छाडिएको तार हटाउन भनेपनि विद्युतसँग सहकार्य भएको जनाएको तर कसको जिम्मेवारीमा पर्ने उत्तर नपाएको बताएका छन् । सहरको सुन्दरता कायम गर्न स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने भएपनि नगरेको बताउँदै स्थानीय दिनेश अधिकारीले त्यो पनि हुन नसक्दा बुटवल तारकै कारण कुरूप देखिएको बताउँछन् ।

बजार क्षेत्र अव्यवस्थित तारका कारण मात्र कुरूप छैन, तारका कारण जोखिम उत्तिकै बढेपछि उपमहानगरपालिकाले पहिलो चरणमा बुटवल १५ तामनगर–फर्साटिकर सडक र वडाका भित्री सडकको तार व्यवस्थापन गर्न १० दिने अल्टिमेटम दिएको छ ।

उपमहानगरपालिकाले केवल पोल तारका कारण गाउँ टोल अस्तव्यस्त भएको र यातायातको साधन आवतजावतमा समस्या भएकाले केवलको तारमा आफ्नो ट्याग लगाउन र तार पोल व्यवस्थित गर्न निर्देशन दिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तथा प्रवक्ता शिव रानाले वडाभित्र तार व्यवस्थापन नभए सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए ।

तार व्यवस्थापन कार्यलाई सबै वडामा क्रमशः लागू गर्दै जाने उनले बताए । ‘सबै वडाबाट तारका गुनासो आएका छन् । हामीले क्रमशः यसको व्यवस्थापन गर्छौ । तार व्यवस्थापन भएपछि सहर सुन्दर हुन्छ भने दुर्घटनाको जोखिम पनि कम हुन्छ’, उनले भने ।

उनले बुटवलका केही वडामा यसअघि मौखिक आदेशअनुसार तार व्यवस्थापन गर्न लगाएको भए पनि अब उपमहानगरपालिकाले यस विषयमा कडा भएर लाग्ने बताए । वडा नं. १५ ले सूचना जारी गरेर तार व्यवस्थित गर्न निर्देशन दिए पनि अहिले बुटवलका चोक चोकमा तार असरल्ल भुईंमै छन् ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले भने सहरको सौन्दर्यलाई प्राथमिकतामा राखेर तारको व्यवस्थापन गरिरहेको बताए । उनले ६ महिना अगाडि विद्युत् कार्यालयका प्रमुख संयोजक, दूरसञ्चार कार्यालय र सम्बन्धित वडाध्यक्ष सदस्य रहने गरी समिति बनाएर तार व्यवस्थापनको कार्य सुरु गरेको बताए ।

‘बुटवलमा २२ वटा केवलका संस्थाहरू रहेका छन् । तर ३–४ वटा मात्र नगरमा सूचीकृत छन् । बाँकी सम्पर्कमा आएका छैनन् । करको दायराभित्र नआएका सबैका तार अब व्यवस्थापन नगरे वडाले काट्छ’, पाण्डेले भने । उनले पोलमा तार राखेबापत राजश्व विद्युत् कार्यालयले ल्याउने भए पनि अहिले व्यवस्थापनको काममा केही जटिल भने देखिएको उनले बताए ।

वडाले तारको व्यवस्थापन गर्ने भनेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ ले तार काट्न सुरु गरेको छ । सम्पर्कमा नआउने संस्थाको तार पोलबाट हट्नेसमेत उपमहानगरपालिकाले बताएको छ ।

वडा कार्यालयले तारको व्यवस्थापन गर्दै तार नकाटे नगरले दिने १० प्रतिशत बजेट रोक्का गरिने समेत नगरप्रमुख पाण्डेले चेतावनी दिए । तारको व्यवस्थापन हुन नसक्दा सहरको सुन्दर पक्ष हटेकाले यस्तो गर्नुपरेको उनको भनाइ छ । ‘वडा नंं ६ को तार हटाउँदा दूरसञ्चारकै तार परेछ । त्यसपछि दूरसञ्चारका प्रतिनिधि राखेर तार हटाउन भनेको छु, सबै वडामा सम्पर्कमा नआउनेको तार पोलबाट हट्छ’ पाण्डेले भने । उपमहानगरले थालेको यो विषयलाई धेरैले कार्यान्वयनमा लैजान सुझाव दिएका छन् ।

बजार तथा ग्रामीण क्षेत्रमा आफ्नो ग्राहकहरुलाई दूरसञ्चार, इन्टरनेट सेवा प्रदायक र विद्युतले दीर्घकालीन योजनाबिना सेवा दिने र समयमा व्यस्थापन नगर्दा यस्तो समस्या आएकाले अब कडा मापदण्ड बनाएर जानुपर्ने दवाव उपमहानगरलाई परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर