वैदेशिक रोजगारमा जाने र फर्केकाको सारथी बन्दै पौरखी नेपाल – Nepal Press

वैदेशिक रोजगारमा जाने र फर्केकाको सारथी बन्दै पौरखी नेपाल

विचौलियाबाट जोगाउन रुपन्देही र सर्लाहीमा विशेष अभियान

रुपन्देही । खाडी मुलुकमा काम गर्न जाने कामदारहरुलाई कुनै शुल्क नलाग्नेगरी नेपाल सरकारले सम्झौता गरेको धेरै समय भइसकेपनि त्यो पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । वैदेशिक रोजगारमा जानेहरु आफ्ना अधिकारबारे सचेत हुन नसक्दा रोजगार व्यवसायी र विचौलियाले उनीहरुसँग विभिन्न शीर्षकमा रकम उठाएर अनुचित लाभ लिइरहेका छन् ।

कामदार पठाउने नेपालसहित विभिन्न देशका प्रतिनिधिहरु बसेर कोलम्बोमा गरिएको हस्ताक्षरलाई यहाँका नियामक निकायले कार्यान्वयन गराउन सकेनन् भने रोजगारमा जानेहरुले पनि त्यसको अधिकार प्रयोग गर्न नसक्दा विचौलियाले अनुचित लाभ उठाइरहेका हुन् । रोजगारमा पठाउने देशका प्रतिनिधिले मात्र होइन रोजगारदाता देशका प्रतिनिधिहरुसमेत बसेर यसखालको सहमति गरेका छन् जसलाई एडीबी(आबुदावी संयन्त्र) भनेर बुझिन्छ ।

यो विषयमा सरोकारवालालाई सचेत बनाउन पौरखी नेपाल नामक संस्थाले रुपन्देही र सर्लाहीमा अभियान संचालन गरेको छ । संस्थाले यो विषयमा तयार गरेको उज्ज्वल सपना नामको एप्स बनाएको छ । पौरखीका अनुसार रुपन्देहीमा करिव ६ हजार बैदेशिक रोजगारमा जाँदै गरेका, गइसकेका र विद्यार्थीहरुवीच अभियान लिएर पुग्ने लक्ष्य लिइएको छ ।

लामो समय विदेशमा बसेर अनुभव संगालेका व्यक्तिहरुको संस्था हो पौरखी नेपाल । पौरखीले यही समस्या बुझेर सोही क्षेत्रका समस्या समाधान गर्न थालेको हो । वैदेशिक रोजगारीमा जाँदा भोग्नुपर्ने समस्याको निराकरण र फर्केपछि जीविकोपार्जनका लागि आवश्यक परामर्शका लागि पौरखी नेपालले आफ्नो काम थालेको छ ।

रुपन्देही र सर्लाहीलाई केन्द्रविन्दु मानेर उसले रोजगारीमा जानेलाई सचेतना तथा फर्केकालाई जीविकोपार्जनको परामर्श थालेको हो । रोजगारदाताले दिने सेवासुविधा र रोजगारीमा जानेहरुले पाउने अधिकारका विषय पौरखीले एप्ससमेत तयार गरेर सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

एप्समा रोजगारदाताले दिने सबैसुविधा मोबाइलबाट रोजगारीमा जानेले यहीँ टुंगाएर जानपाउने गरी हेर्न मिल्ने छ । यो एप्सको प्रयोगले रोजगारीमा जानेले कुन कम्पनीमा जाने, कति समय र तलब पाउने, शून्य लागतका बारेमा कसरी बुझ्ने तथा जाँदा आउने अफ्ठेरोलाई कसरी समाधान गर्ने सबै उल्लेख गरिएको हुन्छ । पौरखीले यसलाई उज्जवल सपना नामाकरण गरेको छ ।

यही विषयमा जानकारी दिन रुपन्देहीमा सरोकारवाला संस्था तथा सामाजिक अभियान्ताहरुवीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा प्रयाप्त जानकारी लिन नसक्दा धेरै समस्याहरु झेल्नुपरेको हुँदा त्यसका लागि सचेतना अभियान थाल्नुपर्ने कुरामा जोड दिइएको थियो ।

पौरखी नेपालका पूर्वअध्यक्ष एवं रणनीतिक सल्लाहाकार मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने र गएर फर्किकाहरुको अधिकारको लागि खासै काम हुन नसकिरहेको अवस्थामा आफ्नो संस्थाले त्यसमा पैरवीको काम गरेको बताइन् । उनले वैदेशिक रोजगारको क्षेत्रमा न्यायोचित भर्ना प्रक्रिया नै स्पष्ट नभएका कारण सहि सूचना पाउनु श्रमशक्तिको अधिकार भएको धारणा राखिन् ।

उनले सूचनाको अभावमा ठगिने प्रवृति धेरै रहेको उल्लेख गर्दै नीतिगत र संस्थागत कमजोरीले हुने ठगीमा बहुपक्षीय हस्तक्षेप जरुरी रहेको बताइन् । गुरुङले नेपाल सरकारसंग मिलेर आफूहरुले विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन र विदेशमा रहँदा सुरक्षाको प्रवन्ध मिलाउन अभियान थालिएको जानकारी दिइन् ।

संस्थाका प्रोजेक्ट अधिकृत मनिष केसीले श्रम क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरी त्यसको न्यूनीकरणका लागि विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको बताए । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको र सबै क्षेत्रबाट यसको कार्यान्वयनको सुझाव आउनुपर्ने बताइन् । रुपन्देहीको विभिन्न स्थानीय तहका प्रतिनिधि तथा कार्यालयका प्रतिनिधिहरुले यो एप्स प्रयोगका बारेमा जनस्तरमा सूचना पुराउनुपर्ने बताएका थिए ।

यसैगरी वैदेशिक रोजगारीबाट दुःख गरी कमाएर ल्याएको रकम उत्पादनशील क्षेत्रमा खर्च नहुँदा भविष्य अन्योल भएपछि पौरखी नेपालले आप्रवासी महिलाहरूलाई उद्यमशीलतामा लगाउने प्रक्रिया थालेको हो ।

पौरखीकी सल्लाहकार मन्जु गुरुङले आफूले कमाएको रकमको सदुपयोग गर्ने र स्वदेशमा रोजगारी गरेर थप कमाउन सक्ने बनाउन लागेको बताइन् । ‘पटक–पटक वैदेशिक रोजगारीमा जाँदा पारिवारिक संरचना बिग्रने र व्यक्ति आफैंलाई पनि समस्या हुने रहेछ । त्यसैले विदेशको विकल्प स्वदेशमा काम गर्ने र कमाउने बनाउन लागेका हौं,’ उनले भनिन् ।

पछिल्लो समय तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी सहुलियत कर्जा, उद्यम सञ्चालनमा प्राथमिकता, निर्ब्याजी ऋणलगायतका कार्यक्रम ल्याएका छन् । तर, सूचना र पहुँच अभावले धेरै महिलाले त्यस्तो सुविधा पाएका छैनन् ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई सरकारी सुविधा लिनेबारे पनि सहजीकरण गरिने छ । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यलाई अगाडि बढाएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर