बजेटको छलफल थाती राखेर सुदूरपश्चिमका सांसदलाई घुमाउन लगिँदै – Nepal Press

बजेटको छलफल थाती राखेर सुदूरपश्चिमका सांसदलाई घुमाउन लगिँदै

आर्थिक वर्ष सकिन लाग्दा भ्रमणका लागि ३७ लाख रकमान्तर

कैलाली । सुदूरपश्चिम प्रदेशमा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको मिति टुंगो लागेको छैन । बजेटमाथिको छलफल अनिश्चित हुँदा यहाँका सांसदहरूलाई घुमाउने तयारीमा प्रदेशसभा सचिवालय जुटेको छ । सुदूरपश्चिममा चार वटा विषयगत समिति छन् । ती समितिलाई प्रदेशसभा सचिवालयले विभिन्न प्रदेश भ्रमणमा लैजान लागेको हो ।

समितिका पदाधिकारी तथा सदस्यहरूलाई घुमाउन भनेर प्रदेशसभा सचिवालयसँग बजेट थिएन । आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर उनीहरूलाई घुमाउन लागिएको छ । अर्थ विकास तथा प्राकृतिक समिति, सामाजिक विकास समिति, विधायन तथा प्रदेश मामिला समितिमा १०/१० लाखका दरले ३० लाख रूपैयाँ विधेयकमाथिको छलफलका लागि राखिएको थियो । आर्थिक वर्षको अन्तिमसम्म विधेयक दर्ता हुन नसकेपछि उक्त बजेट रकमान्तर गरिएको छ ।

सार्वजनिक लेखा समितिका लागि भने ७ लाख रूपैयाँ प्रदेशसभाका सचिवालयको सचिवस्तरीय गोष्ठीबाट रकमान्तर गरिएको छ । केही दिनअघि नै विषयगत समितिले रकमान्तर गरेर भ्रमणमा जाने निर्णय गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले आर्थिक मामिला मन्त्रालयलाई पत्र पठाएको थियो । हिजो साँझसम्म पनि रकम नआएपछि आज जाने भनिएको भ्रमण सरेको छ ।

‘आज जाने सम्पूर्ण तयारी भइसकेको थियो तर, अर्थबाट पैसा आएन’ स्रोतले भन्यो ‘आज साँझसम्म रकम आयो भने भोलि जाने कुरा छ ।’

सामाजिक विकास समिति डडेल्धुरा बैतडी र दार्चुला जाने तयारीमा रहेको छ । आधा दर्जन सांसद र केही कर्मचारीसहितको टोली भोलि जने तयारीमा लागेका छन् । सामाजिक विकास समिति यसअघिकै अनुगमन र निरीक्षणको रकमबाट भ्रमणमा जाने तयारी गरिएको हो ।

विधायन तथा प्रदेश मामिला समितिका पदाधिकारी र सदस्यहरू लुम्बिनी र गण्डकीको भ्रमणमा जाने तयारी गरेका छन् । अहिलेसम्म उपसभामुख कोइलीदेवी चौधरी र ९ जना सांसदसहित करिब १९ जनाको टीम जाने तयार गरिएको छ । तर, अर्थ मन्त्रालयले आज साँझसम्म बजेट उपलब्ध नगराए भोलिको कार्यक्रम स्थगित हुने जनाइएको छ ।

सार्वजनिक लेखा समिति कर्णाली र गण्डकीको ७ दिने भ्रमणमा जाने तयारी गरेको हो । ९ जना सांसद र तीनजना कर्मचारी त्यता जाने तयारीमा छन् ।

अर्थ विकास तथा प्राकृतिक समितिले यस अघि गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भ्रमणको तयारी गरेको थियो । तर, ज्येष्ठ सदस्य मानबहादुर रावलले तत्काल भ्रमण जान उपयुक्त नभएको निर्देशन दिएर आफू काठमाडौं लागेका छन् । समितिका ज्येष्ठ सदस्यविना पनि भ्रमण जाने वा निर्देशनअनुसार भ्रमण स्थगित गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन । सभामुख भीम भण्डारी पनि यसै समितिसँगै भ्रमणमा निस्कने तयारीमा थिए ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले अहिलेसम्म अर्थमन्त्रालयबाट रकमान्तर गरिएको रकम उपलब्ध नभएको बताए ।

‘आजै भ्रमणमा जाने कुरा हो तर, हिजो बजेट उपलब्ध भएन उनले भने आज बजेट उपलब्ध भएपछि भ्रमणमा जाने कुरा छ ।’

अर्थमन्त्रालय स्रोतले आज साँझसम्ममा रकम निकासा हुनसक्ने जनाएको छ ।

‘उहाँहरूको समितिमै रकम रहेछ रकमान्तरका लागि प्रक्रिया अगाडि बढेको छ आज साँझसम्म निकासा हुन सक्छ’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

बजेटमा सत्तारुढ दलबीच नै असन्तुष्टि बढिरहेको बेला छलफल थाल्नुको सट्टा भ्रमण जाने तयारीको विषयगत समितिका केही सदस्यले विरोध गरेका थिए । केही आर्थिक मन्दीका बेला फोकट खर्च गर्न नहुने भन्दै नजाने जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर