हाम्रो प्रस्तावमा ओली सहमत नहुँदा एकता प्रक्रिया रोकियो: नेकपा एकता राष्ट्रिय अभियान – Nepal Press

हाम्रो प्रस्तावमा ओली सहमत नहुँदा एकता प्रक्रिया रोकियो: नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आफूहरुको प्रस्तावमा केपी शर्मा ओली सहमत नहुँदा नेकपा एमालेसँग पार्टी एकता प्रक्रिया रोकिएको स्पष्ट पारेको छ ।

पार्टीका प्रवक्ता निमकाण्ड पाण्डेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीसामु अभियानका अध्यक्ष गौतमले एकीकृत भएपछि पार्टीका नेता कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यदल निर्माण गर्न प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

तर, एमाले अध्यक्ष ओलीले पार्टी एकता घोषणापछि एमालेले सबै नेता कार्यकर्ताहरुको व्यवस्थापनबारे निर्णय गर्ने बताएपछि एकता प्रक्रिया रोकिएको पाण्डेले उल्लेख गरेका छन् ।

‘अध्यक्ष केपी ओलीको यस्तो प्रस्तावमा हाम्रो पार्टी अध्यक्ष वामदेव गौतम सहमत हुन सक्नु भएन । तत्पश्चात संवादलाई निरन्तरता दिने गरी उक्त दिनको भेटघाट अन्त्य गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

अभियान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा समेत सहभागी हुने चर्चा थियो । तर, आज घोषित मोर्चामा अभियान सहभागी भएन ।

समाजवादी मोर्चामा अभियानलाई पनि सहभागिताका लागि प्रस्ताव आएको र पटक पटक संवाद पनि भएको प्रवक्ता पाण्डेले जानकारी दिए । तर, अहिलेसम्म मोर्चामा सहभागी हुने वा नहुने भन्ने सम्बन्धमा पार्टी अझै निर्णयमा नपुगेको उनले बताए ।

उनका अनुसार नेकपा एमालेसँग पार्टी एकता गर्ने सम्बन्धमा विभिन्न चरणमा वार्ता भएका छन् । सोहीअनुसार असार ३ गते एमाले अध्यक्ष ओली र अभियानका अध्यक्ष गौतमबीच एमाले पार्टी कार्यालय च्यासलमा वार्ता भएको पाण्डेले उल्लेख गरे ।

एमालेको विधानमा रहेको ७० वर्षे उमेरहद निलम्बनपछि पार्टी एकताका सम्बन्धमा देखापरेको गम्भीर अवरोध हटेको महसुस गरे पनि पार्टीको प्रस्तावमा ओलीले असहमति जनाएपछि एकता प्रक्रिया रोकिएको अभियानले जनाएको छ ।


प्रतिक्रिया

One thought on “हाम्रो प्रस्तावमा ओली सहमत नहुँदा एकता प्रक्रिया रोकियो: नेकपा एकता राष्ट्रिय अभियान

  1. यी थोत्रा र पटक पटक पार्टीलाई धोका दिएकालाई ल्याउनै हुँदैन । अहिले पनि बार्गृनिङ पदबाट शुरू भैसक्यो । ओलि यिनलाई बाल नदेउ ।यी आए पनि पार्टीलाई केही योगदान हुँदैन बरू बिगार्न शुरू गरिहाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर